२३ असार २०८३, मंगलबार
महामारीले दिएको चोट

१६ डाक्टर र २४ नर्स जसले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाए !

असार ४, २०७८
१६ डाक्टर र २४ नर्स जसले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाए !

गत जेठ २० गते युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत चिकित्सक ३५ वर्षीय पशुपति रजौरियाको मृत्यु भयो ।

कोरोना संक्रमण भएका बिरामीलाई एचडीयू कक्षमा उपचार गर्ने डा. रजौरिया बिरामीलाई उपचार गर्दागर्दै अस्पतालको सोही कक्षमा आफैँ भर्ना भए ।

एक महिनाअगाडि अर्थात वैशाख २० गते कोरोना संक्रमण भएका डा. रजौरियालाई भैरहवा उपचार गर्न नसकेपछि अघिल्लो दिन हेलिप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

केही महिनाअघि मात्र विवाह गरेका रजौरियाकी पत्नी डा. हसिना वानु पनि उनीसँगै संक्रमित भएकी थिइन् । उनी भने निको भइन् ।

अघिल्लो वर्ष असोज १५ गते कोरोना संक्रमितकै उपचारको क्रममा संक्रमित भएर सुर्खेत अस्पतालका सिनियर अर्थोसर्जन डा. हरि सापकोटाको भेरी अस्पतालमा निधन भयो ।

डा. सापकोटालाई संक्रमण पश्चात १० दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने पहिलो डाक्टर थिए ।

कोरोना संक्रमण भएका बिरामीको उपचार गर्दागर्दै अहिलेसम्म ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । 

‘कान्ति बाल अस्पताल, टिचिङ अस्पताल लगायत अस्पतालमा कार्यरत गरी देशभरका ४० स्वास्थ्यकर्मीले उपचारका आफैँ संक्रमित भएर ज्यान गुमाएका छन्,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने, ‘त्यसमध्ये २४ जना नर्स छन् ।’
कोरोना भाइरसको संक्रमणले अहिलेसम्म १६ जना डाक्टरले ज्यान गुमाएको नेपाल मेडिकल एसोसिएसनको तथ्यांकले देखाउँछ ।

कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको दोस्रो लहरमा १० जना डाक्टरले ज्यान गुमाएका छन् ।

दोस्रो लहरको कोरोना संक्रमणमा ज्यान गुमाउनेमा आईएल आचार्य, मुकेश चौधरी, तारा श्रेष्ठ, केशवराज भट्टराई, पुज्यश्री कार्की, मुरत हुसेन, केपी सिंह, मोहम्मद समन अन्सारी, पशुपति रजौरिया र विकास सुवेदीको मृत्यु भएको नेपाल मेडिकल एसोसिएसनका प्रशासन सहायक प्रवेश लामिछानेले बताए ।

कोरोना संक्रमणका कारण पहिलो लहरमा डाक्टरहरू हरिप्रसाद सापकोटा, पशुपति चौधरी, नारायणबहादुर थापा, सुनिलचन्द्र झा, धुव्र मुडभरी र अर्का एक जना गरी ६ जनाले ज्यान गुमाएका थिए ।

हरसम्भव प्रयास गर्दा पनि बचाउन सकिएन– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालय भने डाक्टरहरूको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको बताउँछ ।

‘डाक्टहरहरूको पनि ज्यान बचाउनका लागि सम्भव भएसम्मका उपचार गरको थियौं, तर उनीहरूको शरीरको अस्वस्थ (रोग प्रतिरोधात्मक क्षमता) र भित्री अन्य रोगका कारणले उनीहरूलाई बचाउन सकिएन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने ।

उनले थपे, ‘उपचार गर्दा गर्दै पनि बचाउन सकेनौं । केही डाक्टरहरूको खोप आउनुभन्दा पहिला मृत्यु भएको छ । कतिपयको खोप लगाएपछि पनि मृत्यु भएको छ ।’

मन्त्रालयले पहिलो प्राथामिकतामा राखेर स्वास्थ्यकर्मीहरूलाई खोप लगाउँदा पनि केहीको मृत्यु भएको डा. पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्