काठमाडौंमा सार्वजनिक यातायात खोल्न ‘प्रशासन सकारात्मक’

प्रतिकात्मक तस्वीर

स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

व्यवसायी र सरकारी अधिकारीबीच बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।


Advertisement

करीब २ महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर र सवारी धनी मर्कामा परेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए ।

कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो । जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ । 

स्वास्थ्य मापदण्ड पूरा गरे/नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो । काठमाडौं उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् । महासंघले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ ।

कमेन्ट गर्नुहोस्