कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असार १२, २०७८
सन् १९८९ मा चीनको राजधानी बेइजिङमा रहेको तियानानमेन (चिनियाँ भाषामा थ्यानआनमन) स्क्वेयरमा विद्यार्थीहरूमाथि गरिएको भनिएको दमन चीनको आधुनिक इतिहासको निकै महत्त्वपूर्ण घटना हो । उक्त घटनापछि चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रवादको भावना जनतामा जागृत गराउन तथा पश्चिमी राजनीतिक प्रणालीको पूर्ण बहिष्कार गर्न अभिप्रेरणा पाएको थियो ।
बेइजिङमा त्यो घटना हुँदा त्यहाँ उपस्थित रहेका भारतका पूर्व विदेशसचिव तथा राजदूत विजयकृष्ण गोखलेले त्यसको सम्झना गर्दै लेखेको पुस्तक तियानानमेन स्क्वेयर : द मेकिङ अफ ए प्रोटेस्ट हालै प्रकाशित भएको छ । घटनाको समयमा बेइजिङस्थित भारतीय दूतावासमा कनिष्ठ कूटनीतिक कर्मचारीका रूपमा कार्यरत रहेका गोखलेले आफूले देखेको, सुनेको र पढेको कुरालाई यथार्थ रूपमा प्रस्तुत गरेका छन् ।
जम्मा १७६ पृष्ठको यस पुस्तकमा तियानानमेन स्क्वेयर घटनाको पृष्ठभूमि, त्यसमा संलग्न प्रमुख पात्र, घटनाको सिलसिला तथा त्यसको तत्कालीन र दीर्घकालीन परिणामका विषय समेटिएका छन् । गोखलेले आफ्नो प्रत्यक्ष अनुभवका साथै चीनको गोप्य सरकारी दस्तावेजको संकलन गरेर सन् २००१ मा प्रकाशन गरिएको द तियानानमेन पेपर्स, घटनामा संलग्न चाओ चियाङको गोप्य संस्मरण, पश्चिमी सञ्चारमाध्यमहरूले उक्त घटनाको विषयमा बनाएका समाचार, चिनियाँ सञ्चारमाध्यमको समाचार, अमेरिकाले डिक्लासिफाई गरेका विभिन्न दस्तावेज लगायतका स्रोतको समेत उपयोग गरेका छन् ।
गोखलेले पश्चिमी सञ्चारमाध्यममा चित्रण गरिएजस्तो नरसंहार तियानानमेनमा नगरिएको पुस्तकमा स्पष्ट पारेका छन् । चिनियाँ जनमुक्ति सेनाका जवानहरूले ट्यांक चलाएर प्रदर्शनकारी विद्यार्थीहरूलाई किचेर बारम्बार लाशलाई पेलेको भनी पश्चिमी सञ्चारमाध्यमहरूले सनसनीखेज समाचार बनाएको भए पनि वास्तविकता त्यस्तो नभएको गोखले लेख्छन् । घटनाको तनावपूर्ण माहोलमा समेत तियानानमेन स्क्वेयर पुगेर चिनियाँ विद्यार्थी तथा पश्चिमका सञ्चारकर्मीहरूको कुरा सुन्न पाएका गोखलले घटनाको एकपक्षीय चित्रणको धज्जी उडाएका छन् ।
गोखलेका अनुसार, तियानानमेनमा पश्चिमी सञ्चारमाध्यमहरूले चित्रित गरेअनुसारको लोकतन्त्रका लागि गरिएको संघर्ष थिएन । त्यतिखेर तत्कालीन महासचिव हु याओबाङले आर्थिक उदारतासँगै उदारवादी राजनीतिक प्रणाली पनि चीनमा लागू गर्नुपर्ने प्रस्ताव राखेका थिए । सर्वोच्च नेता तङ श्याओपिङले उत्तराधिकारीका रूपमा लिएका हुको यस प्रस्तावलाई पार्टीका वरिष्ठ सदस्यहरू (एल्डर्स) ले चित्त बुझाइरहेका थिएनन् । यसैबीच अप्रत्याशित रूपमा हुको निधन भएपछि विद्यार्थीहरू शोक मनाउनका लागि स्वतःस्फुर्त रूपमा सडकमा आए ।
त्यतिखेर चीनको आर्थिक स्थिति बलियो बनिसकेको थिएन । माओको विध्वंसकारी अग्रगामी छलाङ तथा सांस्कृतिक क्रान्तिबाट बल्लबल्ल बौरिँदै गरेको चीनलाई तङले सुधार तथा खुलापनमार्फत आर्थिक सबलीकरणको दिशामा लैजाँदै थिए । बेरोजगारी तथा अन्य समस्या यथावत थिए र विद्यार्थीहरूमा आक्रोशको स्थिति थियो । पार्टीभित्रैका कठोर वामपन्थीहरू तङको सुधार र खुलापनको विरोध गरिरहेका थिए ।
हुको मृत्युमा शोक मनाइरहेका विद्यार्थीहरूलाई सरकारी पत्रिका पिपुल्स डेलीले अप्रिल २६ मा एक सम्पादकीय प्रकाशन गर्दै देशमा अस्थिरता मच्चाउन खोज्ने प्रतिक्रान्तिकारी तत्त्व भनी चित्रण गरेपछि उनीहरूको आक्रोश विस्फोट भयो । त्यसपछि उनीहरू पार्टीको अनि तङ र तत्कालीन प्रधानमन्त्री ली फङको विरोध गर्न थाले । पार्टी तथा शीर्ष नेताहरूको अपमान हुने गरी उनीहरूले पोस्टर, प्लेकार्ड, ब्यानर समेत प्रदर्शन गर्न थाले । उनीहरूलाई बुद्धिजीवीहरूले पनि साथ दिए ।
पुस्तकमा गोखलेले विद्यार्थीहरूप्रति खासै सहानुभूति राखेको पाइँदैन । उनीहरू दिशाहीन रहेको तथा देखावटीमा ध्यान दिएको भनी गोखलले चित्रण गरेका छन् । विद्यार्थी नेताहरू फाङ लिची र वुअर काइसीलाई यो विरोध प्रदर्शन कुन दिशामा लग्ने भन्दा पनि पश्चिमी मिडियामा कसरी छाउने भन्ने ध्याउन्न मात्र रहेको गोखले लेख्छन् । मे ३० मा न्युयोर्कको स्ट्याचु अफ लिबर्टीको नक्कल गर्दै विद्यार्थीहरूले प्रजातन्त्रकी देवीको रूपमा स्टाइरोफोमको प्रतिमा ठड्याएपछि चाहिँ पार्टीले स्थिति नियन्त्रणमा गएको आकलन गर्दै विरोधलाई साम्य बनाउन सेनालाई आदेश दिएको देखिन्छ । अनि सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभको चीन भ्रमणलाई पनि यस घटनाले असर पारेपछि पार्टीको धैर्यको बाँध फुटेको देखिन्छ । यी आलाकाँचा तथा दिशाहीन विद्यार्थीहरूले पश्चिमी सञ्चारकर्मीहरूलाई आधारहीन कुरा सुनाउने गरेको पनि गोखलेको दाबी छ ।
पश्चिमी कूटनीतिकर्मी तथा सञ्चारकर्मीको छवि पनि गोखलेको पुस्तकमा नकारात्मक देखिन्छ । उनीहरूले घटनाक्रमलाई पूरै तोडमरोड गरेर प्रस्तुत गरेको गोखले लेख्छन् । पश्चिमाहरूले यस घटनाको वर्णन गर्दा आफ्नो विचारधारात्मक चश्मा लगाएको र एकपक्षीय आधारहीन हल्लालाई तथ्य भनी पत्याएको उनको दाबी छ । त्यस समयमा अमेरिकी च्यानल सीएनएन भर्खरै उदाउन थालेको थियो र तियानानमेन स्क्वेयर घटनालाई समाचार बनाएर सीएनएनले ह्वात्तै लोकप्रियता कमायो । त्यसक्रममा सीएनएन तथा अन्य सञ्चारमाध्यमको कभरेज पूर्वाग्रही रहेको गोखले बताउँछन् ।
त्यस्तै पश्चिमी कूटनीतिकर्मीहरूले पनि आफ्नो देशका अधिकारीहरूलाई गलत ब्रिफिङ गरेको अनि भारतीय दूतावास मात्र त्यसमा नचुकेको भनी लेखेका छन् । विशेषगरी अमेरिका र बेलायतका कूटनीतिकर्मीहरूले चिनियाँ कम्युनिस्ट पार्टी छिन्नभिन्न हुन लागेको भनी रिपोर्ट गरेका थिए जुन सर्वथा असत्य थियो ।
विद्यार्थीहरूको आन्दोलनलाई तङको उत्तराधिकारीका रूपमा लिइएका चाओ चियाङले आफ्नो राजनीतिक तिकडमको मोहरा बनाएको देखिन्छ । हुको मृत्युपछि आफू नै तङपछिको शक्तिशाली नेता हुने अभिलाषा पालेका चाओले पिपुल्स डेलीको विस्फोटक सम्पादकीय फिर्ता लिनका लागि पार्टीमा पहल गरेका थिए । त्यो फिर्ता भएको भए आफू विद्यार्थीहरूको नजरमा हु जस्तै नायक बन्ने उनको आकलन थियो । तर पार्टीको पोलिटब्युरो स्थायी कमिटीले चाओको प्रस्ताव ठाडै अस्वीकार गरिदियो र पार्टीको नजरमा उनी गिरे । उनलाई विद्यार्थीहरूले समेत पत्याउन छाडे । हठी स्वभावका चाओले पार्टीमा आत्मालोचना गर्न समेत मानेनन् र अन्त्यमा उनको राजनीतिक करीयर नै अन्त्य भयो ।
यसरी विद्यार्थीहरूको दिशाहीन आन्दोलन तथा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्षले तियानानमेन स्क्वेयर घटनालाई चर्काएको देखिन्छ । तर जुन ४ का दिन पश्चिमी सञ्चारमाध्यमले बताएजस्तो नरसंहार तियानानमेन स्क्वेयरमा नभएको गोखले लेख्छन् । स्क्वेयरभित्र एउटा पनि गोली नचलाइकन पार्टीले नियन्त्रण कायम गरेको उनको दाबी छ ।
पुस्तकका लेखक गोखले
यो घटनापछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको थियो तर गोखलेको भनाइमा वालस्ट्रीट वाशिङटन डीसीमाथि हावी भयो (अर्थतन्त्र राजनीतिमाथि हावी भयो) र तीन महिनामै प्रतिबन्ध फुकाइयो । आखिर अमेरिकालाई चीनको बजारबाट अकूत नाफा कमाउनुपर्ने नै थियो र उसले आफ्नो स्वार्थका सामु मानवअधिकारको विषयलाई कहिले पनि आउन दिने गरेको छैन (इन्ट्रेस्ट ओभर भ्याल्युज) । अमेरिकाको यस प्रवृत्तिलाई गोखलेले चर्को आलोचना गरेका छन् ।
यस घटनाको केही समयपछि नै बर्लिनको पर्खाल ढलेपछि विश्वको ध्यान त्यतैतिर केन्द्रित भयो । तियानानमेन घटनालाई क्रमशः चिनियाँहरूले बिर्संदै गए र पार्टीले पनि सामूहिक स्मरणबाट यसलाई निर्मूल बनाउन अथक प्रयास गरिरहेको छ । यसपछि विद्यार्थी र बुद्धिजीवीहरूले कहिले पनि चीनमा विरोध प्रदर्शन गरेनन् । पार्टीले पनि देशभक्तिको शिक्षा दिन थाल्यो ।
पार्टीले देशभक्तिको भावना उद्वेलित गर्नका लागि शताब्दीको बेइजजतीको कुरा उठाउन थाल्यो र त्यसको बदला लिनका लागि चीन सशक्त तथा सबल बन्नुपर्ने भनी जोड दियो । तङले सन् १९९२ मा दक्षिणका प्रान्तहरूमा गरेको भ्रमणपछि चीन आर्थिक उन्नतिको बाटोमा द्रुत गतिमा लम्कियो । आर्थिक प्रगतिको शर्तमा चिनियाँहरूले राजनीतिक अधिकारलाई तिलाञ्जलि दिन स्वीकार गरे ।
यस प्रकरणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आफ्नो वैधता तथा सान्दर्भिकता सिद्ध गर्नका लागि प्रेरित गरेको थियो । बजारमुखी अर्थतन्त्रमार्फत जनतालाई सन्तुष्ट राख्ने, विचारधारात्मक शिक्षामार्फत जनताको राजनीतिक चेत तीखो बनाउने र राष्ट्रवादी भाव उद्वेलित गराउने काम पार्टीले गरेको देखिन्छ ।
छिमेकी मुलुक भएको तथा भूराजनीतिक रूपमा महत्त्वपूर्ण साझेदार भएको नाताले नेपालले चीनलाई जतिसक्दो धेरै बुझ्नु जरूरी छ । चिनियाँहरूको सोचपद्धति तथा क्रियाकलाप केही हदसम्म बुझ्नका लागि तियानानमेन स्क्वेयर घटनाले मद्दत गर्छ र विजय गोखलेले त्यस घटनाको सूक्ष्म विश्लेषण गरेर चीनप्रति रुचि भएका पाठकलाई कल्याण हुने सुकार्य गरेका छन् ।
पुस्तक : तियानानमेन स्क्वेयर द मेकिङ अफ ए प्रोटेस्ट ए डिप्लोम्याट लूक्स ब्याक
प्रकाशक : हार्परकोलिन्स इन्डिया
प्रकाशन मिति : मे ७, २०२१
पृष्ठसंख्या : १७६
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...