२२ जेठ २०८३, शुक्रबार
कोरोना कहर

तेस्रोलिङ्गीलाई भोकको भय

साउन २३, २०७८
तेस्रोलिङ्गीलाई भोकको भय

चितवनकी दीपा श्रेष्ठ (परिवर्तित नाम) बुटवलको एक डान्स बारमा नाच्थिन् । तेस्रोलिंगी महिलाको पहिचानमा खुलेकी दीपा कोरोना महामारीले डान्स पार्टी बन्द भएपछि अहिले यौनकर्मी बन्न बाध्य भइन् ।

२४ वर्षीया उनी महामारीले पेशा गुमेपछि हातमुख जोर्न समेत नपाउँदा धन्न डिप्रेसनमा परिनन् । कोरोनाले उनलाई यौन पेशा गर्न सिकायो ।  

‘डान्स र दोहोरी साँझ बन्द भए,’ दीपा भन्छिन्, ‘म आफूलाई ते्रस्रो लिंगीको रूपमा खुलेपछि परिवारले मलाई घर निकाला गरें । अहिले महामारीले मैले गर्दै आएको पेशा खोसियो । अहिले मध्यरातमा सडकमा गुड्ने चिल्ला गाडी रोकेर यौन पेशा गर्न बाध्य भएँ ।’

सडकमा गाडी रोकेर उनले प्रतिव्यक्ति ५०० देखि ५ हजार रुपैयाँसम्म मोलमोलाइ गर्छिन् । ‘२/२ पटक आएको महामारीमा राज्यले केही राहत दिएन । न त कुनै रोजगारीको अवसरमा हामीलाई समावेश गर्‍यो । हामी पछाडि परेको समुदायलाई हेर्ने निकाय नै रैनछ बरै । नागरिकता नहुँदा मैले बैंकमा खाता खोल्न पनि पाएकी छैन,’ उनले भनिन् । 

कोरोनाको त्रास र जोखिमबीच नै यौन पेशा गर्न बाध्य भएको उनको दुखेसो छ । 

रूपन्देहीको तिलोत्तमाकी सुरुची न्यौपानेले भर्खर १८ वर्ष लागिन् । न्यू होराइजन कलेजकी ‘टपर’ विद्यार्थी उनी तेस्रोलिंगीको रूपमा खुलेपछि उनलाई कलेजले ‘स्कलरशिप’ दिएन । व्यवस्थापन विषयमा ८८ प्रतिशत ल्याएर ११ कक्षा उत्तीर्ण उनलाई कलेजले विभेद गरेको लाग्यो । ‘डर मान्ने कुरै छैन । मैले कलेज प्रशासनमा आवाज उठाएपछि छात्रवृत्ति पाएँ । परिवारले मलाई भर्खरै छोरीको रूपमा स्वीकार गरेको छ । उच्च शिक्षा अध्ययन पूरा गरी मेरो पहिचानलाई पावर बनाएर सोसल वर्किङमा काम गरेर पछाडि परेको मेरो समुदायको क्षेत्रमा काम गर्ने हो,’ उनले भनिन् ।

उनी पनि अहिले आफ्नो समुदायको दैनिक गुजाराको लागि राहत सहयोग जुटाउन सहयोगी बनेकी छन् । 

नवलपरासीको सुनवलकी रुचिका थापा बेण्डबाजामा आफ्नो जीविका चलाउँथिन् । धान्याञ्चल माविमा १२ कक्षा पढ्दापढ्दै स्कूलमा ‘छक्का’ ‘हिजडा’ भनेर जिस्काउन थालिएपछि उनले अध्ययन बीचैमा छाडिन् । ‘बिहे पार्टीदेखि बेण्डबाजा महामारीले बज्न छाड्यो । रोगभन्दा भोकले सतायो । हाम्रो बेदना कस्ने सुनिदिन्छ ?’ उनले गुनासो पोखिन्, ‘न हामीलाई कसैले काम दिन्छन् । लामो समयसम्म बेरोजगार हुँदा सामाजिक, आर्थिक एवं मानसिक समस्या पनि थपिँदै जाने रहेछ । कोरोना महामारी फेरि फैलिँदो छ । हामीलाई त बाँच्न समेत गाह्रो भयो ।’

बुटवलकी अवन्तिका घर्तीमगर मेकअप आर्टिस्ट र कोरियोग्राफर हुन् । उनले काम गर्ने आरएन स्टाइल संस्था महामारीले झण्डै डेढ वर्षदेखि ठप्प छ । मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाइ गर्ने उनको आम्दामी अहिले शून्य छ । कमाइ शून्य हुँदा समाजको तिरस्कारबीच पनि बाँच्न बाध्य भएको उनी बताउँछिन् । 

‘महामारीबीच मलाई टीभी भयो । बचत गरेको सबै पैसा पनि उपचारमा सकियो । राज्यले दलित, पछाडि परेको वर्ग र समुदायलाई भत्ताको व्यवस्था गरेको छ । हाम्रो समुदायलाई पनि भत्ता दिए अप्ठ्यारो परेको बेलामा सहज हुने थियो,’ उनी भन्छिन् । 

पाल्पाको तानसेनकी तेस्रोलिंगी ३१ वर्षकी अवन्तिका मगर कोभिडको महामारी आउनुअघि मेकअप आर्टिस्टको रूपमा काम गर्थिन् । आरएन स्टार कम्पनीबाट उनी सहितको टोलीले स्टेज कार्यक्रम गर्ने गर्दथ्यो । अवन्तिका डान्सर पनि हुन् ।

रुपन्देहीको देवदहकी हसिना क्षेत्री पनि डान्सर हुन् । मेकअप आर्टिस्ट समेत रहेकी उनको पनि कोभिडका कारण रोजगार गुम्यो, अहिले केही रोजगार छैन । घरपरिवारले स्वीकार गरेका कारण हसिनालाई केही सहज भए पनि रोजगार गुमाउँदा अप्ठ्यारो भएको उनी बताउँछिन् ।

नवलपरासीको बर्दघाटकी रुचिका डान्सर हुन् । उनी बेण्डबाजामा नाचेर दैनिक गुजारा चलाउँथिन् तर कोभिडले कमाइ ठप्प छ । जसका कारण दैनिक गुजारा चलाउन अप्ठ्यारो भएको उनी बताउँछिन् । एसएलसी पास समेत गरेकी उनी २४ वर्षकी भइन् । तेस्रोलिंगी भएकै कारण कसैलाई पनि रोजगार दिन कन्जुस्याइँ गर्ने गरिएको उनको अनुभव छ ।

परासीको सुनवलकी अस्मिता राना बधाई समारोहमा जान्थिन् । कहीँकतै खुशीयाली भएको अवस्थामा उनको टोलीलाई खबर आउँथ्यो । बधाई समारोहमा गएपछि प्राप्त हुने पारिश्रमिकले दिनचर्या चल्थ्यो तर अहिले औपचारिक समारोह ठप्प छन् । अस्मितालाई पनि अहिले कोभिडले दैनिक छाक टार्न मुस्किल भएको छ । 

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा काम गर्ने आनिक राना मगरले २–२ पटकको महामारीले यौनिक अल्पसंख्यक समुदायको पेशा–व्यवसाय गर्नेहरू पेशाबाटै वञ्चित भएको बताइन् । ‘रोगभन्दा भोकले बढी सताउने अवस्था आएको छ,’ उनले भनिन् ।

रानाको पहलमा धेरैलाई राहत पनि वितरण गरिएको छ । फेरि कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि झनै आत्तिएका छन्, महामारीबाट जोगिन खोप समेत पाएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्