
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट सरोकारवालाहरू उत्साहित भएका छन् । यद्यपि वर्तमान परिस्थितिमा नीति कार्यान्वयनमा शंका व्यक्त गरिएको छ ।
मौद्रिक नीतिमा बैंकहरूबीचको मर्जरलाई प्रोत्साहन गरिएको भन्दै सरोकारवालाहरू खुशी देखिएका छन् ।
पर्यटन क्षेत्रमा पनि कर्जाको सीमा निर्धारण गरी विपन्न वर्गमा सूचीकृत गर्ने मौद्रिक नीतिको उद्घोषलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई गत वर्षदेखि दिइएको राहतलाई निरन्तरता दिएको भन्दै मौद्रिक नीतिको स्वागत गरे ।
उनले विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई मौद्रिक नीतिले प्राथमिकता दिएको भन्दै यसले राम्रो प्रभाव पार्ने बताए ।
बैंकहरूबीचको मर्जरलाई प्रोत्साहन नीति ल्याउनु पनि मौद्रिक नीतिको सकारात्मक पक्ष भएको उनको भनाइ छ ।
उनले भने, ‘स्वरोजगारका लागि गाडी किन्दा लिने कर्जालाई विपन्न कर्जा हुने व्यवस्था गर्ने भनेको छ, यो निकै राम्रो कुरा हो ।’
पर्यटन क्षेत्रमा पनि मौद्रिक नीतिले सहयोग गर्ने गरी आएको उनको भनाइ छ । उनले समग्रमा मौद्रिक नीति सकारात्मक भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘मौद्रिक नीति सरसर्ती हेर्दा राम्रो छ तर कार्यान्वयन समयमै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’
उनले कार्यान्वयन समयमै नसक्दा त्यसले असर पार्ने भन्दै यसलाई समयमै र सहज रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
‘हामीले भन्दै आएको कुरा यसको कार्यान्वयन र कार्यान्वयन समयमै गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । कार्यविधिमा नअल्झिएर यथाशीघ्र यसको कार्यान्वयन गर्ने गराउनेतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ,’ उनले भने ।
नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाण्डेले कर्जा विस्तारका लागि राम्रो कदम चालेको प्रतिक्रिया दिए ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष पाण्डेले राष्ट्र बैंकले कर्जा बढाउनु निकै राम्रो भएको बताए ।
समग्रमा मौद्रिक नीति राम्रो भएको उनको प्रतिक्रिया छ । मौद्रिक नीतिले दिएको सुविधाका कारण मुलुकमा अब कति रोजगारी सिर्जना हुन्छ भन्ने कुरा मुख्य हुने उनको भनाइ छ ।
‘अहिले पर्यटन निकै ठप्प छ, यस नीतिको कार्यान्वयन कसरी हुन्छ र कतिले रोजगारी पाउँछन् भन्ने मुख्य कुरा हुन्छ,’ उनले भने ।
बैंक मर्जरमा दिइएको प्रोत्साहन पनि सकारात्मक भएको उनले बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले मौद्रिक नीति सकारात्मक रहेको बताए ।
शेयर कर्जामा क्याप लगाउनु निकै राम्रो भएको उनको भनाइ छ । त्यो क्यापले अब शेयर बजारमा केही हदसम्म सन्तुलन हुने उनले बताए ।
पर्यटन क्षेत्रमा पनि विभिन्न व्यवस्था ल्याएको भन्दै यो राम्रो रहेको उनले बताए । उनले भने, ‘मौद्रिक नीति मुद्रास्फीति नियन्त्रण लगायतलाई नै मध्यनजर गरेर आएको छ, सकारात्मक छ ।’
बैंक मर्जरलाई प्रोत्साहन नीति लिनु राष्ट्र बैंकको राम्रो कदम भएको उनको भनाइ छ । उनले अहिले मर्जरको शुरूआत अवस्था रहेको भन्दै राष्ट्र बैंकले प्रोत्साहन नीतिलाई निरन्तरता दिएकोमा सकारात्मक हुनुपर्ने बताए ।
साना उद्यमीहरूलाई पनि समेटेर मौद्रिक नीति आउनु सकारात्मक भएको उनको बुझाइ छ । उनले बजेटसँगै मौद्रिक नीतिको कार्यान्वयन यथाशीघ्र हुनुपर्नेमा जोड दिए ।