काष्ठमण्डप पुनर्निर्माणको ९६ प्रतिशत काम पूरा

काष्ठमण्डप पुनर्निर्माणको ९६ प्रतिशत काम पूरा

ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण आगामी दशैंअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब ४ प्रतिशत काम मात्र बाँकी छ । 


Advertisement

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ ।


Advertisement

‘यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैंअघि काम सम्पन्न हुने थियो,’ अध्यक्ष शाक्यले भने, ‘अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।’ 
     
विक्रम संवत् २०७२ वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । सातौं शताब्दीमा निर्माण गरिएको सम्पदाको पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनर्निर्माणको काम २०७५ वैशाखदेखि शुरू गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख दिइसकेको छ । 

पुनर्निर्मित ऐतिहासिक सम्पदामा गत साउन दोस्रो हप्ता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र ३ दिनसम्म गुप्त तान्त्रिक पूजा गरी गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो । सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् । 


Advertisement

सम्पदा पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । 

कमेन्ट गर्नुहोस्