३० असार २०८३, मंगलबार
नेपालको खस्किँदो कूटनीतिक क्षमता

अमेरिकाले चिन्ने नेपालका ​'टोपीवाला' प्रधानमन्त्री !

कात्तिक १९, २०७८
अमेरिकाले चिन्ने नेपालका ​'टोपीवाला' प्रधानमन्त्री !

बाइडन (अमेरिकी राष्ट्रपति जो बाइडन)सँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिला नेपाल आएका रहेछन् । नेपाल खुब मनपर्छ भने । जोनसन (बेलायती प्रधानमन्त्री बोरिस जोन्सन)ले नेपालको बारेमा सबै कुरा थाहा पाएका रहेछन् । पूरा सहयोग गर्ने कुरा गरेका छन् ।

बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै भने ।

देउवाले गरेको दाबीलाई नै हेर्दा पनि टोपी लगाएको हुनाले मात्र बाइडनले चिने, अन्यथा चिन्ने रहेनछन् । 

देउवाको अभिव्यक्तिले नेपाल कूटनीतिक रूपमा र सामरिक रूपमा कहाँ छ, भन्ने देखाउँछ । मानौं नेपालको पहिचान भनेकै त्यही एउटा भादगाउँले टोपी हो । नेपालको अरू पहिचान र परिचय छैन । केवल  टोपी लगाएर उभिएको एउटा मानिसले नेपालको प्रतिनिधित्व गर्छ । 

कूटनीतिक मामिलाका जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपतिको भेटवार्ता पूर्वनिर्धारित हुन्छ । न कि देउवाले दाबी गरेको जस्तो भादगाउँले टोपी लगाएको मान्छे देख्दैमा यो नेपालको प्रधानमन्त्री भनेर हात मिलाउन गएका हुन् ।

कूटनीतिक कौशलमार्फत अन्तर्राष्ट्रिय जगत र मञ्चमा नेपालको सामर्थ्य बढाउने कुरामा ध्यान दिनुको सट्टा भादगाउँले टोपी लगाएको देखेर अमेरिकी राष्ट्रपतिले चिनेकोमा प्रफुल्ल छन्, हाम्रा प्रधानमन्त्री । अमेरिकी राष्ट्रपतिसँग हात मिलाउनु र फोटो खिचाउनु नै नेपालका प्रधानमन्त्रीको भ्रमण सफल भएको मानक बनेको छ ।

एसियाका उदीयमान दुई मुलुक चीन र भरतको बीचमा रहेको र सामरिक महत्त्व भएको देश आफ्नो कूटनीतिक पहिचानमार्फत होइन भादगाउँले टोपीका कारण आफ्नो पहिचान दिनुपर्ने अवस्थामा पुगेको छ ।

कूटनीतिक कौशलमार्फत अन्तर्राष्ट्रिय जगत र मञ्चमा नेपालको सामर्थ्य बढाउने कुरामा ध्यान दिनुको सट्टा भादगाउँले टोपी लगाएको देखेर अमेरिकी राष्ट्रपतिले चिनेकोमा प्रफुल्ल छन्, हाम्रा प्रधानमन्त्री ।

अमेरिकी राष्ट्रपतिसँग हात मिलाउनु र फोटो खिचाउनु नै नेपालका प्रधानमन्त्रीको भ्रमण सफल भएको मानक बनेको छ । ‘हाम्रो नेतालाई अमेरिकी राष्ट्रपतिले भेट दियो’ भनेर कार्यकर्ताहरूले यसैमा हर्षबढाइँ गर्छन् । 

त्यो बेलाको कूटनीतिक सामर्थ्य

आजभन्दा ५३ वर्षअघि अर्थात् सन् १९६७ मा नेपालका तत्कालीन राष्ट्र प्रमुख राजा महेन्द्रले अमेरिकाको भ्रमण गरेका थिए ।

गाडीमा चन्द्रसूर्य अंकित नेपालको झण्डा फहराउँदै नेपालका राष्ट्र प्रमुखले ह्वाइट हाउसमा स्वागत पाएका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा अमेरिका गएका महेन्द्रले भव्य स्वागत पाएका थिए । 

महेन्द्रले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने बेला महासचिव लगायत मञ्चमा रहेका विदेशी उच्च अधिकारी उठेर स्वागत गरेका थिए । 

सोही भ्रमणका दौरान महेन्द्रले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओसँग भेटवार्ता गरेका थिए ।

अमेरिका मात्र होइन, बेलायत, चीन र भारतमा पनि नेपालले उच्च सम्मान पाएको थियो, कुनै बेला । 

सन् १९६० को अक्टोबर २० मा बेलायत भ्रमणमा गएका राजा महेन्द्रको स्वागतका लागि बेलायती महारानी र राजपरिवारका सदस्य भिक्टोरिया स्टेसनमा स्वागतका लागि आइपुगेका थिए ।

महेन्द्रको निमन्त्रणामा बेलायती महारानी एलिजाबेथले नेपालको भ्रमण गरिन् । महेन्द्रले विक्रम संवत् २०१८ सालमा चीनको भ्रमण गरे ।

जुनसुकै मुलुकमा पनि उनले उत्तिकै सम्मान पाए । त्यो बेला नेपालको ख्याति विश्वभर फैलिएको थियो । 

कुनै बेला अमेरिकी राष्ट्रपति र बेलायती महारानीबाट स्वागत पाएको नेपाली स्वाभिमान ५० वर्षपछि भादगाउँले टोपीले थामिदिएको छ । 

कुनै बेला अमेरिकी राष्ट्रपतिले स्वागत गर्ने नेपालको नेतृत्वलाई अहिले राजदूतहरूले पनि भाउ दिन छाडेका छन् ।

कुनै बेला स्वाभिमान उच्च रहेको मुलुक विदेशी स्वार्थहरूको क्रिडास्थल बनेको छ । 

हाम्रो कूटनीतिक हैसियत कति गिर्‍यो भने, भारतको कुनै मन्त्री आउँदा नेपालका पूर्वप्रधानमन्त्रीहरू प्रोटोकल बिर्सेर लर्को लागेर होटलमा भेट्न पुग्छन् । व्यक्तिगत र दलीय स्वार्थका लागि नेपालको स्वाभिमान झुकाउने काम गर्छन् ।

यहाँसम्म कि चुनावमा सांसद्को टिकट पाउन, मन्त्री बन्न दूतावासको आर्शिवाद थाप्ने काम खुलेआम हुन थाल्यो । नेपाल प्रहरीको महानिरीक्षक बन्न दूतावासमा बिन्तीपत्र हाल्न गएको कुरा उनीहरूले नै खुस्काइदिँदा नेपालको स्वाभिमान धूलिसात हुन पुग्यो ।

किन कमजोर भयो हाम्रो कूटनीतिक सामर्थ्य ?

१५ वर्षअघि सन् २००६ को जुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा समकक्षी मनमोहन सिंह नै विमानस्थलमा आएका थिए ।

सामान्यतया समकक्षीको स्वागतका लागि प्रधानमन्त्री विमानस्थल जाने प्रचलन भारतमा थिएन ।

नेपालमा दोस्रो जनआन्दोलनपछि बनेको सरकारको प्रधानमन्त्री कोइरालालाई मनमोहन सिंहले ‘दक्षिण एसियाका महान नेता’ भनेर सम्बोधन गरेका थिए । तर त्यो सम्मान धेरै दिन टिकेन ।

पछि त हुँदाहुँदा नेपालका राष्ट्रपतिको स्वागतका लागि राज्यमन्त्री पठाएर भारतले नेपालको मानमर्दन गर्ने कोशिश गर्‍यो ।

भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि महिला तथा बाल विकास राज्यमन्त्री कृष्णा राज विमानस्थल पुगेकी थिइन् ।

कूटनीतिक रूपमा नेपालको सामर्थ्य घट्नुमा विदेशीको दोष थिएन, नेपालका नेताहरूको लाचारी मुख्य कारण थियो । यदि यहाँका नेताको अडान हुन्थ्यो भने विदेशीले ‘बाघको छालामाथि स्यालको रजाईं’ गर्न पाउने थिएनन् । 

भारतीय नाकाबन्दीको सामना गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ‘भूगोल सानो भए पनि कुनैपनि देशको सार्वभौमसत्ता’ ठूलो सानो हुँदैन भन्थे । पछि पनि उनले बारम्बार यो कुरा दोहोर्‍याए, तर व्यवहारमा त्यसो भएन ।

कुनै बेला अमेरिकी राष्ट्रपति र बेलायती महारानीबाट स्वागत पाएको नेपाली स्वाभिमान ५० वर्षपछि भादगाउँले टोपीले थामिदिएको छ । कुनै बेला अमेरिकी राष्ट्रपतिले स्वागत गर्ने नेपालको नेतृत्वलाई अहिले राजदूतहरूले पनि भाउ दिन छाडेका छन् ।

कुनै बेला भारतसँग चट्टानी अडान लिएका ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’ बनेर आएको भनेर दाबी गरिएका खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग बालुवाटारमा भेटेर लामो भलाकुसारी गरे । गोलयको नेपाल भ्रमणपछि नै संसद् विघटन लगायतका काम भएको भनेर पार्टीभित्रका नेताहरूले नै आरोप लगाए । 

देउवा प्रधानमन्त्री बनेर आएपछि पनि अवस्था उस्तै छ । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले अमानवीय ढंगले तुइन काटिदिएर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा लामो समयसम्म सरकारको मौनता, कूटनीतिक विरोधको कर्मकाण्डले नेपालको कूटनीतिक हैसियतमा प्रश्न उठाइरहेको छ । 

हामी सानो र गरीब मुलुक भनेर जब देशको नेतृत्व गर्ने व्यक्तिले हीनताबोध र लघुताभाष देखाउँछ, तब नेपालको छवि कसरी उचो हुन्छ ? बीपी कोइराला यही देशको प्रधानमन्त्री थिए । उनी अन्तर्राष्ट्रिय मञ्चमा डटेर कुरा राख्थे ।

त्यो अडान र कूटनीतिक कौशलको कुरा छाडौं, एउटा आर्थिक सहयोग कार्यक्रम लिने/नलिने भन्ने विषयमा देश ध्रुवीकृत छ । त्यही एउटा आर्थिक सहायता कार्यक्रम लिँदा कायापलट हुने या विदेशी सेना आउने वाद विवादले मुलुक महिनौंदेखि रुमल्लिएको छ । 

विडम्बना भन्नुपर्छ, पटक–पटक सरकारको नेतृत्व गरेको यही असफल पुस्ताले देशको कायापलट गर्छ भन्ने दिग्भ्रम मेटिएको छैन ।

नेपालको प्रधानमन्त्री भन्दा पनि भादगाउँले टोपी लगाउने नेपालीलाई चिनिदिएकोमा अमेरिकी राष्ट्रपति बाइडनलाई चाहिँ धन्यवाद भन्नैपर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्