२४ जेठ २०८३, आइतबार
इरान-अमेरिका तनाव

पर्सियाली खाडीको सैन्य अभ्यासले उब्जाएको प्रश्न : के अमेरिका र इरानबीच युद्ध हुन लागेको हो ?

कात्तिक २५, २०७८
पर्सियाली खाडीको सैन्य अभ्यासले उब्जाएको प्रश्न : के अमेरिका र इरानबीच युद्ध हुन लागेको हो ?
इरानी मिसाइल । Photo : AFP

अमेरिकासँगको तनाव बढिरहेको बेलामा इरानले आइतवारदेखि व्यापक रूपमा युद्ध अभ्यास थालेको छ । जुल्फिकर नाम दिइएको उक्त अभ्यासमा एन्टी शिप मिसाइल, एन्टी एयरक्राफ्ट सिस्टम, ड्रोन स्वार्म र पनडुब्बीबाट प्रक्षेपण गरिएका टोर्पिडोहरू उपयोग गरिएका छन् ।  

अमेरिकाले पर्सियाको खाडीमा युद्ध अभ्यास गरेलगत्तै इरानले पनि वार्षिक अभ्यास थालेको हो । अमेरिकाले तटीय क्षेत्रमा गश्ती गर्ने डुंगा, गाइडेड मिसाइल डिस्ट्रोयर, जमीनबाट जमीनमा मार हान्ने क्षेप्यास्त्र लगायतका हतियार उपयोग गरेर अभ्यास गरेको हो । 

लामो समयदेखिका दुश्मन इरान र अमेरिकाले यसरी लगालग सैन्य अभ्यास गरिरहँदा युद्धको आशंकाले बल पाएको छ । 

त्यसअघि ओमान सागरमा इरानको तेल ट्यांकरलाई कब्जा गर्न अमेरिकाले गरेको प्रयासलाई आफूहरूले विफल बनाएको दाबी इरानको रिभोल्युसनरी गार्ड्सले गरेको थियो । अमेरिकाको फिफ्थ फ्लीटलाई चकमा खुवाउँदै आफूले उक्त ट्यांकर इरानी बन्दरगाहमा ल्याएको रिभोल्युसनरी गार्ड्सले बताउँदै त्यसबाट इरान गौरवान्वित बनेको बताएको थियो । अमेरिकाले भने इरानको उक्त दाबी झूटो भएको स्पष्ट पारेको थियो । 

इरान समर्थित समूहहरूले तेल आवागमनको महत्त्वपूर्ण विन्दुका रूपमा रहेको होर्मुज जलसन्धिमा तेल बोक्ने जहाजहरूमाथि आक्रमण गर्न सक्छन् । संसारभरि उत्पादन हुने तेलमध्ये २० प्रतिशत त्यही जलसन्धि हुँदै जान्छ । होर्मुज जलसन्धि तेल बोकेका जहाजका लागि असुरक्षित भएमा अमेरिका मात्र नभई संसारभरिका मुलुकलाई त्यसले असर पार्छ । 

त्यसअघि दुईतीनपटक ओमानको खाडीमा भएका तेल ट्यांकर विस्फोटमा इरानको हात रहेको आरोप इजरायल र अमेरिकाले लगाउने गरेका थिए । इरानले चाहिँ उक्त आरोपहरूको खण्डन गर्ने गरेको थियो । अर्थात्, युद्धको परिस्थिति निर्माण हुने गरी पर्सियाली खाडीमा तनाव चर्किरहेका छन् । 

त्यसो त पोहोर साल नोभेम्बर महिनामा इरानको आणविक कार्यक्रमका योजनाकार मोहसेन फखरिजादेश–महाबदीलाई इजरायलले हत्या गरेपछि पनि इरान युद्धमा होमिने आशंका गरिएको थियो ।

इरान र अमेरिकाबीचको शत्रुताको इतिहास लामो भए पनि सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अमेरिका तथा अन्य पाँच मुलुकले गरेको आणविक सम्झौताबाट हात झिकेर इरानमाथि थप कडा प्रतिबन्ध लगाएपछि सम्बन्ध रसातलमा पुगेको हो । कुनै देशमाथि यसरी प्रतिबन्ध लगाउनु भनेको उसविरुद्ध युद्धको घोषणा गरेबराबर नै हो । 

त्यसमाथि ट्रम्पको आदेशमा सन् २०२० को शुरूकै हप्तामा अमेरिकी सेनाले ड्रोन आक्रमणमार्फत इरानको विशिष्ट कुद्स फोर्सका कमान्डर कासिम सोलेमानीलाई इराकमा हत्या गरेपछि कटुता थप चर्किएको हो । उक्त घटनापछि तेस्रो विश्वयुद्धको समेत आशंका गरिएको थियो ।

ट्रम्पले राष्ट्रपति निर्वाचनमा हार बेहोरेपछि इरानले उनको नीति बाइडन प्रशासनले उल्ट्याउने आशा गरेको थियो । हुन पनि जो बाइडनले ओबामा प्रशासनमा उपराष्ट्रपति रहँदा इरानसँगको आणविक सम्झौता सम्भव गराउन भूमिका खेलेका थिए । उक्त सम्झौता बमोजिम इरानले युरेनियम संवर्धन गरी आणविक हतियार नबनाउने र त्यसको पुरस्कार स्वरूप इरानमाथिको प्रतिबन्ध खुकुलो बनाइने सहमति बनेको थियो । 

ट्रम्पले उक्त सम्झौतालाई धुजाधुजा पारेपछि इरानले पनि सम्झौताको प्रावधान उल्लंघन गर्दै युरेनियम संवर्धनलाई गति दिन थालेको थियो । अहिले चार वर्षको अन्तरालपछि बाइडन पुनः सत्तामा आउँदा उनकै सक्रियतामा भएको सम्झौताले पुनर्जीवन पाउने आशा इरानले गर्नु स्वाभाविक हो । 

तर बाइडन प्रशासनले विभिन्न कारणले गर्दा आणविक सम्झौतासम्बन्धी वार्तालाई अघि बढाउन सकेको छैन । इरानले आणविक सम्झौतामा आफू फर्किने तर अमेरिकाले सम्झौतामा फर्किएपछि पुनः त्यसबाट नहट्ने (सम्भव भएसम्म कानूनी) प्रतिबद्धता गर्नुपर्ने शर्त राखेको छ । 

दुई साताअघि रोममा भएको जी२० शिखर सम्मेलनको साइडलाइन बैठकमा बाइडनले उक्त प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनी, फ्रान्स र बेलायतसँगको संयुक्त विज्ञप्तिमा बाइडनले आणविक सम्झौताका शर्तलाई इरानले खुलमखुला उल्लंघन गरे मात्र अमेरिका सम्झौताबाट पछि हट्ने प्रतिबद्धता जनाएका हुन् । 

तर यसका साथसाथै बाइडन प्रशासनले इरानको ड्रोन कार्यक्रम तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम लगायतका गतिविधिमा आपत्ति जनाउँदै प्रतिबन्ध खुकुलो बनाउन मानेको छैन र उसमाथिको दबाब कायम राख्ने संकेत दिएको छ ।

प्रतिबन्धका कारण अप्ठ्यारो परिरहेको भए पनि चीनसँग रणनीतिक सम्झौता गरेको अनि उसलाई तेल पनि बेचिरहेकाले अमेरिकी प्रतिबन्धलाई थप झेल्न सक्ने संकेत इरानले दिइरहेको छ ।

दुई सातापछि अमेरिका र इरानबीच आणविक सम्झौतासम्बन्धी वार्ता शुरू हुन सक्ने बताइएको छ । तर त्यसको कुनै सुनिश्चितता छैन । अझ इरानका लागि अमेरिकाका विशेषदूत रोबर्ट माल्लेले इरानको आणविक कार्यक्रमका विषयमा सम्झौताको वार्ता गर्न इरानले तत्परता नदेखाएमा धैर्यको बाँध फुट्ने चेतावनी दिएका छन् । सम्झौताले पुनर्जीवन नपाएमा यी दुई देशबीच युद्ध हुन सक्ने संकेत यसबाट पाइन्छ ।

तर इरानले अमेरिकासँग युद्ध गर्ने साहस राख्छ त ? यो पनि निकै महत्त्वपूर्ण प्रश्न हो । ट्यांकर फिर्ता ल्याएको घटनाबाट यसको उत्तर प्राप्त हुन्छ । इरानको रिभोल्युसनरी गार्ड्सले अमेरिकाको कब्जामा रहेको ट्यांकर फिर्ता ल्यायो तर फिफ्थ फ्लीटलाई चलाएन । 

यसबाट एउटा कुरा स्पष्ट हुन्छ– इरानले अमेरिकाविरुद्ध परम्परागत युद्ध गर्न सक्दैन । अझ त्यसमाथि सन् १९८० को दशकमा इराकसँग गरेको युद्धपछि इरानले युद्धको अनुभव समेत हासिल गर्न पाएको छैन । 

तर इरानको शक्ति उसका प्रोक्सी लडाकूहरू हुन् । पश्चिम एसियाका विभिन्न देशमा रहेका इरानसमर्थित लडाकू संगठनहरूले इरानबाट ड्रोन र क्षेप्यास्त्र पाउने गरेका छन् । इराक र सिरियामा रहेका अमेरिकी अड्डालाई तिनले तारो बनाउने गरेका छन् । इरान आफैं त्यस आक्रमणमा संलग्न नहुनाले जिम्मेवारीबाट पनि सजिलै पन्छिन पाउँछ ।

अनि त्यस्ता समूहले तेल आवागमनको महत्त्वपूर्ण विन्दुका रूपमा रहेको होर्मुज जलसन्धिमा तेल बोक्ने जहाजहरूमाथि आक्रमण गर्न सक्छन् । संसारभरि उत्पादन हुने तेलमध्ये २० प्रतिशत त्यही जलसन्धि हुँदै जान्छ । होर्मुज जलसन्धि तेल बोकेका जहाजका लागि असुरक्षित भएमा अमेरिका मात्र नभई संसारभरिका मुलुकलाई त्यसले असर पार्छ । 

त्यसैले इरानविरुद्ध युद्ध शुरू नै नगर्न र गरे पनि चाँडो टुंग्याउन अमेरिकामाथि दबाब पर्नेछ । ठूलो शक्तिविरुद्ध सानो शक्तिले गर्ने यस किसिमको लडाइँलाई सामरिक भाषामा यसलाई एसिमेट्रिक वारफेयर भनिन्छ र इरानले त्यसमा दक्षता हासिल गरेको छ । सोही कारण पनि तत्काल युद्ध थालिहाल्न अमेरिका हिच्किचाइरहेको अवस्था छ ।

तनाव जति नै चर्किए पनि अमेरिका र इरानबीच युद्ध शुरू भइहाल्ने देखिँदैन । होर्मुज जलसन्धि हुँदै तेलको कारोबार गर्ने चीन तथा रुसले पनि युद्ध हुन दिने छैनन् । तर कथंकदाचित् युद्ध भएमा कस्तो परिदृश्य बन्ला भनी भोक्स अन्लाइन पोर्टलमा एलेक्स वार्डले परिकल्पना गरेका छन् । 

उनका अनुसार, अमेरिकाले शुरूमै वायुसेना र जलसेनाको व्यापक परिचालन गरेर इरानलाई हायलकायल बनाउन सक्छ । अमेरिकी सेनाले इरानका जहाज, युद्धविमान, क्षेप्यास्त्र स्थल, आणविक भट्टी, प्रशिक्षण स्थल लगायतमा बम आक्रमण गर्न सक्छ । 

इरानले चाहिँ युद्धको स्थितिमा के गर्ला त ? भोक्सका एलेक्स वार्ड अमेरिकाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल भिन्सेन्ट स्टिवार्टलाई यस विषयमा उद्धृत गरेका छन् । स्टिवार्टका अनुसार, इरानले अमेरिकाविरुद्ध परम्परागत युद्ध गर्ने छैन । उसले साइबर आक्रमण तथा आतंकवादी क्रियाकलापलाई प्रोत्साहनमार्फत विश्वभरि अमेरिकाको सरोकार रहने संरचनामा आक्रमण गर्न सक्छ ।

त्यसका अलावा उसले साइबर आक्रमण गरेर इरानको सैन्य पूर्वाधारलाई तहसनहस गराउन सक्छ । तर यतिले मात्र अमेरिकालाई युद्ध जिताउँदैन । उल्टो, अमेरिका इराक र अफगानिस्तानको जस्तो लामो युद्धमा फस्नेछ अनि त्यसका लागि अब अमेरिकी जनतामा धैर्य होला जस्तो लाग्दैन ।

इरानले चाहिँ युद्धको स्थितिमा के गर्ला त ? भोक्सका एलेक्स वार्ड अमेरिकाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल भिन्सेन्ट स्टिवार्टलाई यस विषयमा उद्धृत गरेका छन् । स्टिवार्टका अनुसार, इरानले अमेरिकाविरुद्ध परम्परागत युद्ध गर्ने छैन । उसले साइबर आक्रमण तथा आतंकवादी क्रियाकलापलाई प्रोत्साहनमार्फत विश्वभरि अमेरिकाको सरोकार रहने संरचनामा आक्रमण गर्न सक्छ । अन्य क्षेत्रमा गरिने यस्तो आक्रमणमार्फत द्वन्द्वको आयतन बढाएर उसले अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकामाथि लगाम लगाउन अभिप्रेरित गर्न सक्छ । 

अमेरिकाको जति संख्या र गुणस्तरमा हातहतियार नभए पनि इरानले पश्चिम एसिया र संसारका अन्य कुनामा समेत विनाश मच्चाउन सक्छ जसले गर्दा अमेरिकामाथि युद्ध टुंग्याउने दबाब परोस् । आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्र जर्जर बनेको भए पनि इरानसँग यस्तो महत्त्वाकांक्षी युद्ध अभियान सञ्चालन गर्ने क्षमता रहेको स्टिवार्टको भनाइ छ । 

एकातिर इरानले आणविक सम्झौतामा फर्किन आतुरता नदेखाएको र उसको सैन्य साहस दिनानुदिन बढ्दै गएको स्थिति छ । अर्कोतिर अमेरिकाका परराष्ट्रमन्त्रीले सबै विकल्प खुला छन् भनी सम्झौता र युद्ध दुवैको सम्भावनालाई इंगित गरिरहेको अवस्था छ । त्यसैले युद्ध हुन पनि सक्छ । 

तर अफगानिस्तानबाट भर्खर बहिर्गमन गरेको अमेरिकाले पश्चिम एसियारूपी दलदलमा भासिने गरी हस्तक्षेपको नीति अपनाउला जस्तो लाग्दैन । आणविक सम्झौतामा मध्यमार्गी उपाय अपनाएर दुई देशले सम्बन्ध अगाडि बढाउन सक्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्