२१ जेठ २०८३, बिहीबार

मोरङमा शेखरविरुद्ध गरिएको मोर्चाबन्दी विफल, संस्थापन इतरका लिम्बु बिजयी

मंसिर १५, २०७८
मोरङमा शेखरविरुद्ध गरिएको मोर्चाबन्दी विफल, संस्थापन इतरका लिम्बु बिजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच गरेको चुनावी तालमेलले फेल खाएको छ । 

पहिलो चरणमा नतिजा नआएपछि मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका आकांक्षी समेत रहेको र कोइराला पक्षका उमेदवारलाई हराएर शेखरको गृह जिल्लामै कमजोर छन् भन्ने सन्देश दिन खोजिए पनि मंगलवारको मतपरिणामले तालमेललाई उल्टाइदिएको छ । 

पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलिप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको चुनावमा लिम्बूले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याएका हुन् । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान भएको थियो । 

मंगलवार भएको मतदानमा कोइराला पक्षका लिम्बुलाई घेराबन्दी  गरेपनि मतदाताले भने त्यसलाई विफल बनाइदिएका छन् ।  मंगलवार मध्यरातमा सकिएको मत परिणाम अनुसार लिम्बुले १ हजार ९ सय ६ मत प्राप्त गर्दा गच्छदारले एक हजार चार सय २५ मत पाएका थिए । 

मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गरेका थिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् ।

सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् । सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बूलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एकैठाउँमा आएका थिए । 

सभापति बाहेक अन्य पदको मत गणना भने शुरू भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्