१० साउन २०८३, आइतबार

रानी–विराटनगर–धरान ६ लेन सडकको बेहाल : कतै काम नै शुरू भएन, कतै बन्न नपाउँदै भासियो

पुस १८, २०७८
रानी–विराटनगर–धरान ६ लेन सडकको बेहाल : कतै काम नै शुरू भएन, कतै बन्न नपाउँदै भासियो

रानीदेखि विराटनगर, इटहरी हुँदै धरानसम्मको सडक स्तरोन्नति आयोजना काम शुरू भएको १० वर्ष बित्न लाग्दा पनि कामले गति लिन सकेको छैन ।

रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम कछुवाको गतिमा हुँदै आएको छ ।

इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगर–रानी खण्डको तीन किलोमिटर सडक पनि बनाएको एक वर्ष नपुग्दै भासिएको छ ।

‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिए पनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी मात्र सवारी आवागमन हुँदै आएको छ ।

उक्त सडक खण्ड स्तरोन्नति गरेको आशिष निर्माण कम्पनी भारतबाट ठूला मालबाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले भार थेग्न नसकेका कारण भासिएको भन्दै पन्छिने गरेको छ ।

‘सडकको भारबहन क्षमता २० टन मात्र छ,’ कम्पनीका एक प्रतिनिधिले भने, ‘भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेर ३० टनसम्मका गाडी भित्रिँदा सडक भासिन पुग्यो ।’

एकातिर बनिसकेको सडक भासिएको छ भने अर्कातिर बाँकी सडक स्तरोन्नतिको काम निकै सुस्त छ । रानीको भन्सारदेखि शुरू भएको सडक विस्तारको काममा ढिलाइ हुँदा राजमार्गमा बस्नेहरूले धेरै सास्ती खेप्नु परेको छ ।

आर्थिक वर्ष ०६८/०६९ सालदेखि ठेक्का लाग्न थालेको सडक २०७५/२०७६ सम्ममा सक्ने लक्ष्य लिइएको थियो ।

दुहबी, इटहरी, धरान लगायतका क्षेत्रमा ७ किलोमिटर सडकमा जग्गा विवाद हुँदा ठेक्का समेत लाग्न सकेको छैन ।

महेन्द्रचोकदेखि बरगाछी सडक तुन्दिरमण जेभीले  वि. स. २०७३ असोजदेखि २०७५ वैशाखसम्ममा निर्माण सक्ने सम्झौता गरेको थियो । 

यस्तै बरगाछी–एयरपोर्ट मोड सडक खण्ड (१ दशमलव ५ किलोमिटर) कञ्चनजंघा–पीएस–गीताञ्जली जेभीले २०७० असार २७ गतेदेखि २०७४ असोजसम्म सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

२ पटक म्याद थप गरेर पनि अहिले सडक निर्माणको काम भने सकिएको छैन । 

एयरपोर्ट–डीडीसी खण्ड ढुकुछु–कान्छाराम डिम्डुङ जेभीले २०७० साल असार २७ गते सम्झौता गरेको थियो । उसले पटक–पटक म्याद थप गरे पनि काम भने कछुवाको गतिमा छ ।

त्यसको म्याद वि.स. २०७४ असार मसान्तमा सकिएको थियो । त्यसपछि पटकपटक म्याद थप भए पनि स्तरोन्नतिको काम पूरा भएको छैन ।

डीडीसी–नेमुवा नहर सडकको ठेक्का तीन प्याकेजमा लगाइएको थियो । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

यो सम्झौताअन्तर्गत डीडीसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम शुरू भएको छ ।

टंकी–बाँसवारी सडकखण्डको काम पनि कछुवाकै गतिमा चलिरहेको छ । शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्ने गरी सम्झौता गरेको थियो । तर काम कहिले सकिने हो पत्तो छैन ।

बाँसबारी –नेमुवा सडक स्तरोन्नतिको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएको थियो । यो सडक खण्डमा भने कामले राम्रै गति लिएको इञ्जिनियरहरू बताउँछन् ।

सुनसरीको दुहबी बजारका काम अघि बढ्न सकेको छैन । यसको दूरी डेढ किलोमिटर रहेको छ । स्थानीयले सडकमा पर्ने गरी बनाएका घर भत्काउने विषयमा विवाद हुँदा ठेक्का सम्झौता नै हुन सकेको छैन । मुआब्जा विवादले काम प्रभावित भएको छ ।

सरकारले घरको क्षतिपूर्ति दिने बताएपनि स्थानीयले जग्गाको मुआब्जा पनि बजार मूल्यअनुसार दिनुपर्ने माग राखेको रानी–विराटनगर–इटहरी –धरान ६ लेन सकडकका इञ्जिनीयर उपेन्द्र दासले बताए ।

दुहबी–इटहरी सडक खण्डको ९ दशमलब ६ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा तुन्दिरमण जेभी जनकपुरले पाएको छ ।

२०७५ चैतमा नै उसले पाएको प्रारम्भिक म्याद सकियो । त्यसपछि थपिँदै आएको म्यादमा पनि काम सम्पन्न भएको छैन ।

इटहरी–तरहरा सडक खण्ड सबैभन्दा चौडा सडकको रूपमा स्थापित भएकाे छ ।  यो सडक खण्ड २ प्याकेजमा निर्माण पूरा हुने परियोजनाले जनाएको छ । 

इटहरी–आमगाछी सडक (साढे २ किलोमिटर)मा स्वच्छन्द कान्छाराम सैलुङ जेभीले २०७६ चैतसम्ममा सक्ने भनी ठेक्का पाएको थियो । तर काम अझै सम्पन्न भएको छैन ।

आमगाछी–तरहरा सडकखण्ड पनि साढे २ किलोमिटर नै रहेको छ । यसको ठेक्का आशिष–सन्तोषी लुम्बिनी जेभीले पाएको छ ।

२०७४ कात्तिकदेखि ठेक्का सम्झौता भएको यो सडक २०७७ वैशाखसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । काम अझै पूरा भएको छैन ।

एकैपटक ठेक्का लाग्न नसक्दा तथा विभिन्न समस्या आएका कारण कामले गति लिन नसकेको इञ्जिनीयर दासले बताए । दासका अनुसार ४९ किलोमिटर सडक खण्डमा १८ प्याकेज बनाएर ठेक्का लगाइएको थियो ।

जसमध्ये ४२ किलोमिटर ठेक्का लागेर काम भइरहेको छ भने ७ किलोमिटरको काम शुरू नै भएको छैन । उनका अनुसार अहिलेसम्म कामको प्रगति ७५ प्रतिशत मात्रै भएको छ । 

कामले गति लिन नसकेको भन्ने जनगुनासो बढेपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले ६ लेन सडकको दलबलसहित अनुगमन गरेका छन् ।

उनले कुनै समस्या भए लिएर आउन नत्र भटाभट काम गर्न ठेकेदारहरूलाई निर्देशन दिए । मोरङका प्रमुख जिल्ला अधिकारीलाई समेत लिए उनी अनुगमनमा पुगेका थिए ।

अनुगमका क्रममा मोरङका सीडीओ काशिराज दाहालले काम नगर्ने ठेकेदार कुन दलको हो भनेर खोजी गरेर दलको सोर्सफोर्स लगाएर सडक निर्माणको काम अगाडि बढाउन सकिने सुझाव मन्त्रीलाई दिएका थिए ।

उनले काम नगर्ने ठेकेदारलाई दलले संरक्षण गर्ने परिपाटीलाई हटाइदिन समेत मन्त्रीलाई आग्रह गरे ।

सुनसरीका सीडीओ इन्द्रदेव यादवले सुनसरीको दुहबीदेखि अधिकांश क्षेत्रमा समस्या देखिएको बताए ।

दुहबी तथा इटहरीको विराटनगर लाइनमा पनि स्थानीयको विरोधले काम अगाडि नबढेको तथा कतै बिजुलीको पोल सार्न ढिलाइ हुँदा समस्या भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्