२५ जेठ २०८३, सोमबार

डिजिटल भुक्तानीको बढ्दो क्रम रोकियो

पुस २२, २०७८
डिजिटल भुक्तानीको बढ्दो क्रम रोकियो
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको कारोबार रकम घटेको छ । साथै, कारोबार संख्यामा पनि कमी आएको छ ।

कोरोना महामारीका कारण पछिल्लो समय नेपालमा अनलाइन भुक्तानीको प्रचलन ह्वात्तै बढेको थियो । तर, कात्तिकमा एकाएक यसमा संकुचन आएको छ । कोरोना त्रास कायमै रहेको बेला अनलाइन माध्यमबाट हुने भुक्तानी घट्नुलाई महत्त्वका साथ हेरिएको छ ।

गत आवको समीक्षा अवधिको तुलनामा अनलाइन भुक्तानी बढी नै छ । तर, चालू आवको मासिक तथ्यांकको आधारमा कात्तिकमा अनलाइन भुक्तानीमा संकुचन आएको हो । तथ्यांकअनुसार गत असोजमा मोबाइल बैंकिङमार्फत ८७ अर्ब ७३ करोड कारोबार भएको थियो । कात्तिकमा त्यो ७८ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।

कनेक्ट आईपीएसमार्फत असोजमा रू. २ खर्ब ३९ अर्ब १४ करोड कारोबार भएको थियो । तर, कात्तिकमा त्यो रू. २ खर्ब ३ अर्ब ३ करोडमा सीमित भएको छ । यसैगरी गत असोजमा १४ अर्ब ४२ करोड रुपैयाँ रहेको वालेट कारोबार कात्तिकमा १३ अर्ब ९४ करोडमा झरेको छ । यस्तै, कात्तिकमा क्यूआर बेस पेमेन्ट, इन्टरनेट बैंकिङ, आईपीएसलगायत अनलाइन भुक्तानी माध्यमबाट भएका कारोबार पनि कम छ ।  

वालेटमार्फत गत असोजमा १ करोड ३५ लाख ६५ हजारओटा कारोबार भएको थियो । तर, कात्तिकमा त्यो १ करोड ३० लाख ३० हजारमा झरेको छ ।

यस्तै, मोबाइल बैंकिङबाट असोजमा १ करोड ३७ लाख ६४ हजारओटा कारोबार आएको थियो । तर, कात्तिकमा १ करोड २६ लाख १५ हजारमा सीमित भएको तथ्यांकले देखाएको छ । डिजीटल भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार संख्यामा कमी आएको राष्ट्र बैंकको भनाइ छ । अनलाइन भुक्तानीका लागि डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसलाई प्रमुख माध्यमको रूपमा लिइन्छ । तर, कात्तिकमा यीनै माध्यमबाट हुने कारोबारमा कमी आएको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ । साथै, मङ्सिरमा पनि डिजिटल कारोबारमा कमी आएको हुन सक्ने बताइएको छ । तर, यस सम्बन्धमा यकिन तथ्यांक तयार नभएको राष्ट्र बैंकको भनाइ छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्