०१ असार २०८३, सोमबार
कला

शान्तरामका क्यानभासमा शान्त चित्र

फागुन १४, २०७८
शान्तरामका क्यानभासमा शान्त चित्र

उमेरले उनी ७४ वर्ष टेके । बुढेसकालले ढाकिसक्दासम्म पनि उनको कलमको सिर्जनात्मक मसी तेजिलो नै छ ।

हातले सुन्दर तस्वीर निरन्तर कोरिरहेका हुन्छन् उनी । बुटवलका कलाकार शान्तराम गिरी बहुप्रतिभाका धनी हुन् ।

अहिले पनि रंग, पेन्सिल र कापी उनका साथी छन् । कुनै नयाँ चित्र बनाउनुपर्दा धेरै मानिस शान्तरामसँग ठोक्किन पुग्छन् ।

सरल र रमाइलो तरिकाले तस्वीर बनाउन सिकाउनु उनको विशेषता हो । गिरीले समय सान्दर्भिक चित्र कोर्ने गर्छन् । हालै उनले ‘नो एमसीसी’को चित्र कोरेर नेपाल ललितकला प्रतिष्ठान काठमाडौंमा पठाएका छन् ।

उनले हालै भारतले नेपाललाई निलेको तस्वीर कोरेका छन् । जुन तस्वीर उनी आफैंलाई औधी मन परेको छ । बडेमानको भारतले नेपाललाई सिधै निलेको तस्वीरमा देख्दा भारतले नेपालप्रति गर्ने हेराइको सन्देश बुझ्न गाह्रो नपर्ने बताउँछन् कलाकार गिरी ।

क्यानभासमा जीवनका रंगहरू पोख्छन् । कथाहरू खोज्दै आफूलाई फैलाएको लामो समय बितिसक्यो । उनको चित्र कोर्ने कोठा पुरानो म्यूजियम जस्तो देखिन्छ । पुष्पलाल श्रेष्ठ, कार्ल मार्क्स, पश्चिमा मिथक, खेत जोतिरहेको मान्छे, भक्कानिएर गीत गाइरहेका गाइने, ढिकी कुटिरहेका महिलाहरू फरक–फरक रंगमा पोतिएका छन् । रंगैपिच्छे फरक–फरक कथा बोलिरहेका हुन्छन् ।

२०३० को दशकमा सरकारी शिक्षकको जागिर छाडेर उनी कलाकारितामा लागेका हुन् । कलाकार गिरीले १ देखि ४ कक्षासम्मको अनुभव गर्न पाएनन् । २००४ सालमा पर्वतमा जन्मिएका उनले ५ कक्षाबाट आफ्नो शैक्षिक यात्रा शुरू गरे ।

पर्वतबाट चितवनको नारायणघाट, नवलरासीको बर्दघाट हँुदै उनी बुटवल आइपुगेका हुन् । बहुआयामिक प्रतिभाका धनी गिरीले शिक्षकको जागिर छाडेर कला क्षेत्रमा होमिएर सफल पहिचान स्थापित गरेका छन् । ‘कुची, रंगसँग रमाएको करीब ६ दशक भयो,’ उनी भन्छन्, ‘मावि तहको सरकारी जागिर छाडेर मैले कलाकारिता रोजें । कलाकारिता सजीव जिन्दगी हो । जहाँ ठूलो आत्मसन्तुष्टि मिल्छ ।’


 
कुची, रंग मात्र होइन, सिमेन्ट र छड पनि उनका साथी छन् । उनले विभिन्न सानो र ठूलो चलचिलत्रमा समेत अभिनय गरेका छन् । उनी आफैंले शुरूआत गरेको ‘जस्ताको तस्तै’ टेलिशृंखला १८६ भाग प्रसारण भइसकेको छ । कोरोनाका कारण रोकिएको उनको अभिनय, लेखन, निर्देशन लगायतको यात्राले पुन लय समातेको छ ।

शान्तरामका लागि सम्झनाको रूपमा जीवनभरको अमूल्य योगदानबापत प्राप्त भएका प्रमाणपत्र, मायाको चिनो, आफैंले कोरेका चित्रले घरमा भित्ता सजिएर साथ दिइरहेका छन् । १० वर्ष अगाडि आफूले आफ्नै चित्र कोरेर उनले सजाएका छन् । विवाहमा जाँदा कसैले खिचेको तस्वीर पुनः प्राप्त गरी त्यसैबाट उनले आफ्नो ठूलो चित्र कोरेका छन् ।

उनको घरको भित्ताले उनलाई नै हेरिरहेको छ । चिटिक्क परेको सुट–पाइन्ट, टाईमा सजिएको तस्वीरले अहिले पनि उमेरलाई नै चुनौती दिएको उनको भनाई छ । ‘कला भनेको मृत्युपछिको जीवन हो,’ शान्तराम भन्छन्, ‘इतिहासको दर्पण पनि हो ।’

कलाकारिता खासगरी चित्रकलामा उनको बढी दक्खल छ । नवलरासीको बर्दघाटमा माविसम्म पढाउँदै गर्दा पञ्चायतीकालमा आफूजस्तै कलाकारिता गर्दै चित्र बनाउने र बिक्री गर्ने व्यक्तिलाई उनले देखे । तत्कालीन राजारानीको चित्र बनाएर कार्यालयमा लगेर बेच्दा एउटा चित्रको ३०० रुपैयाँ कमाउँथे तर माविका शिक्षक उनले महिना दिनसम्म पढाएको तलब जम्मा २२५ रुपैयाँ थियो ।  प्रधानाध्यापकको तलब महिनाको ४०० रुपैयाँ हुने गरेको उनले सम्झिए ।

महिनाभर २२५ रुपैयाँको कमाइ हुने जागिर छाडेर उनी पूर्णरूपमा चित्र कोर्नतर्फ लागे । महिना दिनको कमाइ एकैदिनमा हुने वाल पेन्टिङ, ब्यानर, तुल लेखन लगायतका दर्जनभन्दा बढी काम गरेर राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।

शान्तरामको विषयमा नवलपरासीका पूर्व जिल्ला शिक्षा अधिकारी रूद्रलाल उपाध्यायले आलेख समेत लेखेका छन् । उनले लेखेका छन्, ‘शान्त स्वाभावका शान्तराम स्वाभिमानी र स्वावलम्बी देखिन्छन् । जे मनमा छ त्यहीँ बोल्छन्, त्यहीँ गर्छन्, अर्काको नक्कल उनमा छैन ।’

कलाकारितामा उनले नृत्यलाई पनि एउटा पाटो बनाएका थिए । चितवनमा रहँदा उनले जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भए । उनका शिल्ड, मेडल, प्रमाणपत्र अहिले पनि सुरक्षित रहेका छन् । 

आधा दर्जन बढी ठूलो पर्दाका चलचित्रमा समेत अभिनय गरेका उनले चितवनदेखि नवलपरासी र बुटवलसम्मको यात्रामा धेरै मेहनत गरेका छन् । उनी भन्छन्, ‘जीवनभर नै कलाकारितामा लागियो, बुढेसकालको सहारा यिनै मेरा कला हुन् ।’

उनले विभिन्न संघसंस्थामा पनि नेतृत्वमा रहेर काम गरेका छन् । लुम्बिनी एभरेस्ट आर्ट, हाम्रो डिजिटलका सञ्चालक, बुटवल उपमहानगरपालिकाको विद्वत परिषद् सदस्य र व्यवसायी कलाकार संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन् उनले । 

उनले २०३८ सालमा रामनगर बौद्ध गुम्बाका निम्ति बुद्धको पालिक बनाइदिएका छन् । २०३८ सालमा नै शिवपार्वती, गणेश बसाहा र कालभैरवको सालिक निर्माण गरी मन्दिरमा स्थापित गरेका छन् । त्यसैगरी मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा मणिमुकुन्द सेन घोडामा चढेको ९ फिट अग्लो सालिक बनाएका छन्, रामापिथेकको सालिक बनाई पर्यटकहरुको ध्यान आकर्षण गर्न समेत सफल भएका छन् ।

सानैमा अरनिकोदेखि वीर शहीदहरूको चित्र कोरेको सम्झिन्छन् उनी । कतिपय चित्र उनको घरको भित्तामा अहिले पनि सजिएका छन् । कलाकारिताबाट नै हालसम्म जीवन चलाएका उनमा कलाप्रति उच्च सम्मान छ । आफ्नो कलाको काम गर्दा उनलाई सन्तोष मिलेको छ । 
 
स्नातकसम्म अध्ययन पूरा गरेका उनले सरकारी विद्यालयको जागिर छाडेर कलाकारितामा लागेपछि पछाडि फर्केर हेर्नु परेन । यहीँ नै सुखको उच्चशिला भएको उनको अनुभव छ । गिरीले चित्रकारसहित नाटक लेखन सम्बन्धी विधामा पनि काम गर्दै आएका छन् । कलाकारको हकहित एवं पेशालाई राज्यले ध्यान दिन नसकेकोमा उनको गुनासो छ ।

salt training

कमेन्ट गर्नुहोस्