
भोलि शुक्रवार हुने स्थानीय निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख मतदाता मतदानमा सहभागी हुँदैछन् । १२ जिल्लाका १०९ स्थानीय तहका ३२ लाख १९ हजार ४५६ मतदाताले जनताको घरदैलोको सरकार चुन्नेछन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले प्रदेशमा निर्वाचनका सबै तयारी पूरा भएको लोकान्तरलाई जानकारी दिए । यसपटक निर्वाचनमा रुपन्देहीमा सबैभन्दा धेरै ६ लाख २५ हजार ३६० मतदाता छन् । सबैभन्दा कम रुकुमपूर्वमा ३३ हजार ५१८ मतदाता रहेका कुँवरले बताए ।
दाङमा ४ लाख ९९ हजार २, अर्घाखाँचीमा १ लाख ६३ हजार ८१५, कपिलवस्तुमा ३ लाख ७३ हजार १०० मतदाता छन् ।
गुल्मीमा २ लाख २४ हजार २७६, पश्चिम नवलपरासीमा २ लाख ३७ हजार १२५, पाल्पामा १ लाख ९९ हजार ६९०, प्यूठानमा १ लाख ५६ हजार ३४६, बर्दियामा ३ लाख ११ हजार ४१०, बाँकेमा ३ लाख २९ हजार ४७३ र रोल्पामा १ लाख ४५ हजार ४४४ मतदाता रहेका कुँवरले जानकारी दिए । लुम्बिनीमा ५० लाख जनसंख्या छ ।
प्रदेशका ४ वटा उपमहानगरपालिका लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा १ लाख १२ हजारभन्दा बढी छन्, जुन २०७४ सालको चुनावभन्दा ३४ हजार ५०० ले बढी हो । दोस्रो बढी मतदाता रहेका तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालभन्दा ३० हजार ७८४ मतदाता थपिएर यसपटक १ लाख ७ हजार पुगेका छन् ।
बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन् ।
लुम्बिनी प्रदेशभर १ हजार ६२९ मतदानस्थल र ३ हजार ८३२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । १५३ वटा मतदानस्थललाई सुरक्षा संवेदनशील मानिएको छ । जसअनुसार ५ वटा अतिसंवेदनशील, १३७ वटा संवेदनशील छन् । कुन–कुन मतदानस्थल संवेदनशील छन् भन्ने जानकारी प्रहरीले दिएको छैन ।
जिल्ला सुरक्षा समितिले मतदानस्थललाई भूगोल, सीमा, सडक सञ्जाल लगायत अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेको छ । १५३ मतदानस्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ ।
प्रदेशभरका पनि मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ भागमा विभाजन गरेर सोही अनुसारको सुरक्षा तयारी प्रहरीले गरेको छ । लुम्बिनी प्रदेशमा पहाडी ६ र तराईका ६ जिल्ला पर्छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनसिंह डंगोलले मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले चुस्त बनाइएको बताए । मतदान गर्न शहरी रोजगारी र अध्ययनका लागि बसेका मतदातालाई दलहरूले सुविधासम्पन्न गाडी निःशुल्क गाउँ पुर्याएका छन् ।
दलहरूले आर्थिक प्रलोभनमा पारिएका घटनाहरू पनि बाहिर आएका छन् । मौन अवधिमा पनि मतदातालाई अपिल गरेर रकम बाँडेका घटना फेला पारेर प्रहरीले केहीलाई नियन्त्रणमा लिएर छाडेका छन् । मौन अवधिमा दलहरूले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको छ ।