
अन्य दिनको तुलनामा शुक्रवार ४ गुणाभन्दा बढी म्युजिक भिडियोहरू सार्वजनिक हुने गर्छन् । यूट्युबमा सार्वजनिक हुने म्युजिक भिडियो नेपालमा मात्र नभई विदेशमा समेत हेरिने गर्छ ।
धेरै देशमा शनिवार र आइतवार सार्वजनिक बिदा हुने हुँदा लगानीकर्ताहरूले विगतदेखि नै बिदालाई लक्षित गर्दै म्युजिक भिडियो सार्वजनिकका लागि शुक्रवार रोज्ने गरेका हुन् ।
शुक्रवार पनि १ दर्जन बढी म्युजिक भिडियोहरू सार्वजनिक भएका छन् ।
शुक्रवार ‘चट्टै बस्यो नि माया’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री मलिका महतको अभिनय छ ।
कमल खत्री, आरके खत्री र एलिना चौहानको स्वर रहेको ‘बिरानो ठाउँमा’ बोलको गीत शुक्रवार यूट्युबमा सार्वजनिक गरिएको छ । गायक कमलको प्रस्तुति रहेको गीतको भिडियोमा विश्व शर्मा र समारिका ढकालको अभिनय छ ।
शुक्रवार ‘झरी बनी आउन’ बोलको अर्को गीत सार्वजनिक भएको छ । समीक्षा अधिकारी र जमुना सनमको स्वर रहेको गीतको भिडियोमा गायिका समीक्षा र उनकी दिदी शर्मिला अधिकारीको अभिनय छ ।
खेम सेञ्चुरी र सन्तोषी मगरको स्वरमा ‘लौरी टेकेर’ बोलको गीत पनि शुक्रवार सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल लोमश शर्मा र करिष्मा ढकालको अभिनय छ ।
एलिना चौहान र सुनिलसिंह ठकुरीको स्वरमा ‘जनता जान्न चाहान्छन्’ बोलको गीत शुक्रवार यूट्युबमा आएको छ । भिडियोमा एलिजा गौतम, सुनिल सिंह ठकुरी, आकाश सोनी लगायतको अभिनय छ ।
सञ्चारकर्मी ऋषि धमला समेत भिडियोमा देखिएका छन् ।
राजु लामा र तारा श्रीस मगरको स्वरमा ‘ठूली’ बोलको गीत यूट्युबमा सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र विना राउतको अभिनय छ । प्रताप दास र एलिना चौहानको स्वरमा ‘कोही छैन’ बोलको गीत पनि शुक्रवार सार्वजनिक गरिएको छ ।
गीता ढुंगाना र आयुष उप्रेती गीतको भिडियोमा प्रस्तुत छन् । ‘डण्डा कावोसती’, ‘ख्याल र ख्यालैमा’, ‘चालामाला’, ‘मायाको सुगन्ध’, ‘सोले डाँडा’, ‘रातकी रानी’, ‘परिवर्तित दुनियाँ’ लगायतका गीतहरू शुक्रवार यूट्युबमा सार्वजनिक भएका छन् ।