
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । दाहालले अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने दाबी समेत गरे ।
शनिवार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौँ ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाइने प्रचण्डले बताए ।
लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले प्रदेश र संघका उम्मेदवारहरूको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए । प्रचण्डले माओवादी केन्द्र छोडेर गएका नेताहरू पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको बताए ।