३१ असार २०८३, बुधबार

कन्दमूल खाएर पढेका पण्डितका छोराछारी : सबै सरकारी कर्मचारी

भदौ २५, २०७९
कन्दमूल खाएर पढेका पण्डितका छोराछारी : सबै सरकारी कर्मचारी

खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी जागिरे छन् ।

जेठा रुद्रप्रसाद कोशी अस्पतालको लेखापाल छन् भने माइला पुरुषोत्तम न्याय परिषद्को सचिवालयका लेखापाल हुन् । कान्छा डोरमणि उदयपुरको कटारी नगरपालिकामा सहायक लेखापाल छन् । छोरी तारा सुवेदी काठमाडौं जिल्ला अदालतमा नायब सुब्बा पदमा कार्यरत छिन् ।

रुद्रले २०६८ पुस २२ गते सरकारी सेवामा प्रवेश गरेका हुन् भने पुरुषोत्तम र तारा २०६९ सालमा सरकारी जागिरमा प्रवेश गरेका हुन् । डोरमणि २०७६ सालमा सरकारी जागिरे बनेका हुन् ।   

महानन्दको प्रमुख पेशा जजमानी हो, उनी ब्राह्मण हुन् । जजमानीबाट बचेको समय उनी कृषिमा बिताउँछन् । ‘बुवाआमाको कमाइले २ छाक खान लाउन निकै धौंधौं पर्थ्यो,’ रुद्रप्रसादले भने, ‘कन्दमूलहरू खाएर पनि विद्यालय गएका छौं ।’

सखरखण्ड, पिँडालु, इस्कुस, उसिनेका करेला, फूल तरुल लगायतका कन्दमूल मात्रै खाएर विद्यालय गएको अनुभवहरू रहेको उनले बताए । घरमा खानेकुराको सामान्य जोहो मात्रै हुन गरेको थियो ।

आफन्तहरूका घरमा गएर अन्नपात ल्याएर पढ्नुपर्ने अवस्था समेत रहेको उनी सम्झिन्छन् । ‘सप्तरीको फत्तेपुरबाट गहुँ किनेर ल्याएर ढिँडो रोटी खाएर छाक टारेका सम्झना ताजै छन् । १ हप्तासम्म पैदल हिँडेर गहुँ ल्याएर पुर्‍याएर खानुपर्ने बाध्यता थियो,’ उनले भने ।

बारीको उत्पादनले खान नपुग्ने भएपछि पुरेत्याइँ गरेर कमाएको पैसाले अन्न किन्ने गरिएको थियो । गहुँ लिन पैदल हिँडेर जान २ दिन र भारी बोकेर आउन ५ दिन लाग्ने गरेको रुद्रप्रसादले सम्झिए । उनले समेत गहुँ बोकेर ल्याएका थिए ।

नून ल्याउन उदयपुरको बेलटारसम्म जाने गरेको उनले सुनाए । ‘नून लिन आउँदा फर्केर आइन्छ कि आइँदैन भनेर बूढापाकाहरूले  त ऋण धन नै भनेर जाने गरेका थिए । नून बोक्नेलाई त्यतिबेला गाउँघरमा बेसा पनि भन्ने गरिन्थ्यो,’ उनले भने ।

घरबाट बेसा (नून) बोक्न हिँड्दा बाटोमा बेफाली भीर पर्ने भएकाले ‘म फर्केर आउँछु वा उतै बित्छु सकेसम्म तिम्रो र मेरो भेट होस् है’ भनेर घरको माटो ढोगेर हिँड्ने गरेको रुद्रप्रसादले सम्झिए । उनले भने, ‘बुवाआमा खोटाङमै हुनुहुन्छ ।’ ३–४ घण्टासम्म हिँडेर महानन्दले अहिले पनि जजमानी गरिरहेका छन् ।


खान लाउन समस्या परे पनि बुवाआमाले श्रमसँग नजोडेका कारण सरकारी जागिरमा प्रवेश गर्न सहज बनेको उनीहरू बताउँछन् । ‘बुवाआमाको चाहना छोराछोरीलाई काममा श्रमसँग नजोडौं, जति दुःख गर्नु परे पनि हामी नै गरौं भन्ने थियो । छोराछोरीलाई काममा लगायौं भने हाम्रो जस्तै हालत हुन्छ भन्ने थियो । पढाउनुपर्छ जागिर खुवाउनुपर्छ भन्ने नै थियो । अत्यन्त विपन्न परिवारमा २ छाक खान–लाउन संघर्ष गर्दै शारीरिक परिश्रमसँग कम जोडिएर धेरै अध्ययनमै लाग भन्ने बुवाआमाको इच्छा नै अहिलेको सम्झना योग्य क्षण बनेको छ,’ रुद्रप्रसादले भने ।

रुद्रप्रसाद दाजुभाइले सामुदायिक विद्यालयमै अध्ययन गरेका हुन् । खोटाङकै कालिका माध्यमिक विद्यालयबाट चारै जनाले विद्यालय तहको पठनपाठन गरेका हुन्, उच्च शिक्षा पनि खोटाङबाटै पढेका हुन् । 

स्नातक तहसम्मको अध्ययन दिक्तेल बहुमुखी क्याम्पसबाट गरेका थिए भने स्नातकोत्तर काठमाडौंबाट गरेका थिए । त्यतिबेला स्नातकोत्तर पढाइ दिक्तेल बहुमुखी क्याम्पसमा नहुने भएकाले बाहिर गएर पढ्नुपरेको रुद्रप्रसादले बताए ।

त्यो गाउँमा अहिले पनि एकै परिवारका सबै जागिरे भएको कुनै घर छैन । निजामती सेवामा सबै छोराछोरी प्रवेश गर्ने महानन्दकै परिवार मात्र हो । अझ रोचक त के छ भने रुद्रप्रसाका बुवाहरू ३ भाइ हुन् । महानन्द कान्छा हुन् । ३ जना भाइका ९ छोराहरू छन् । ९ जनामध्ये १ जना मात्रै सरकारी जागिरमा छैनन्, ८ जना सरकारी जागिरमा छन् । 

महानन्दको परिवार बसोबास गरेको स्थानलाई बाहुन गाउँ पनि भन्ने गरिन्छ । गाउँमै ब्राह्मण परिवार उनीहरू मात्रै भएकाले बाहुन गाउँ भन्ने गरिएको हो ।
 
‘माइलो ठूलो बुवा डा. धनप्रसाद सुवेदी पाटन संयुक्त क्याम्पसको सहायक क्याम्पस प्रमुख हुनुहुन्छ,’ रुद्रले भने, ‘उहाँको गाइड लाइनकै कारण हामी सबै सरकारी जागिरमा प्रवेश गर्‍यौं । जीविकोपार्जन गर्नका लागि आफैं अग्रसर हुनुपर्छ भन्ने अर्ती–उपदेश उहाँले दिने गर्नुहुन्छ ।’ विद्यालय स्तरबाट नै पढाइको स्तर राम्रो हुनुपर्छ भनेर बारम्बार बुवाहरूले अर्ती दिने गरेका उनले सम्झिए ।

सगरमाथा अञ्चलको लोक सेवा आयोगको कार्यालय खोटाङमा रहनुले पनि मद्दत गरेको रुद्रले बताए । शिक्षक सेवा आयोगले लामो समयसम्म विज्ञापन आह्वान नगर्दा निजामतीतिर जानुपरेको रुद्रले बताए ।

जागिरका सिलसिलामा सबै दाजुभाइ अलग–अलग ठाउँमा भएकाले दशैंतिहार जस्ता ठूला चाडपर्वमा मात्रै सबैको भेटघाट हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्