०५ साउन २०८३, मंगलबार

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीले निर्वाचन जितियो भनेर फुर्किदिँदा संकट आएको हो : स्वर्णिम वाग्ले

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीले निर्वाचन जितियो भनेर फुर्किदिँदा संकट आएको हो : स्वर्णिम वाग्ले

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरूको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले मुलुकमा कुनै पनि परियोजनाको सम्झौता रद्ध हुँदा मुलुकलाई नै हानी नोक्सानीका विषयमा पनि थिङ्क ट्याङ्कहरूले पूर्ण जानकारी राख्नुपर्ने बताए । डा. वाग्लेले श्रीलंकाले थिङ्क ट्याङ्कहरू समेट्न नसक्दा आर्थिक संकट व्यहोरिरहेको बताए । उनले श्रीलंकामा शासकहरूको सन्कीपनका कारण पनि मुलुक संकटमा फसेको बताए । 

उनले नेपालले पनि थिङ्क ट्याङ्कहरूलाई बेवास्ता गरेर गए मुलुकको विकास गर्न नसकिने स्पष्ट पारे । डा. वाग्लेले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न जरुरी रहेको भन्दै थिङ्क ट्याङ्कहरूले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताए । उनले देशको नीति निर्माण गर्दा पारदर्शी र विश्वसनीयता कायम गर्नुपर्ने आवश्यक्ता औँल्याए । पूर्वउपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरू चलायमान भइरहनुपर्ने आवश्यक्ता रहेको भन्दै विश्वविद्यालयभित्र पनि थिङ्क ट्याङ्कहरूलाई विकास गर्न जरुरी रहेको बताए । 

‘अरुण हाइड्रोपावर १९९५ मा क्यान्सिल भयो विभिन्न कारणहरूले । त्यो क्यान्सिल हुँदा यो राज्यले व्यहोरेको कस्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ । यस्ता कुराहरू पनि थिङ्क ट्याङ्कहरूले बोल्दिनुपर्छ । मलाई हालैको श्रीलंकाको संकटमा भिज्ने मौका मिलेको हुनाले त्यहाँ के कारणले श्रीलंकाजस्तो उन्नत मुलुक संकटमा फस्यो, फसेन भन्नेकुराको विविध कोणबाट विश्लेषण हुन्छ । मैले त्यसमा धेरै घोत्लिएको कारण थाहा भयो कि थिङ्क ट्याङ्कहरूको पृष्ठपोषण जिरो । कस्ताकस्ता निर्णयहरू गरिए ह्वीमका भरमा, शासकीय सनकका भरमा मन्त्रालयकै निर्णयहरूमा पनि थिङ्क ट्याङ्कहरूको कमी भएको देखियो । त्यसले गर्दा श्रीलंका या अवस्थामा पुग्नुमा ठूलो भूमिका खेलेको छ’, उनले भने, ‘जस्तो चुनाव जितियो राष्ट्रपति र प्रधानमन्त्रीले फुर्किदिनुभयो, अब भ्याट रेट हाम्रो १५ बाट ८ प्रतिशत भयो भन्नुभयो । त्यसको पूर्ति गर्न के छन् वैकल्पिक उपाय यसको बारेमा सोच्दै नसोचेको देखियो ।’

salt training

कमेन्ट गर्नुहोस्