
जमाना डिजिटलको छ । युवा पुस्ता नगदरहित भुक्तानी गर्न रुचाउन थालेका छन् । तर, अधिकांश नेपालीलाई बानी पार्न नसक्दा डिजिटल भुक्तानी हुनुपर्ने ठाउँमा पनि नगदै कारोवार भइरहेको छ ।
पछिल्लो समय सूचना प्रविधिको प्रयोग, हातहातमा मोबाइल पुगिसकेको छ । मोबाइलकै कारण जहाँ पुग्यो त्यहीँ इन्टनरेट सुविधाले क्यूआर कोड भुक्तानीदेखि वालेट पेमेन्टसम्म सहज भइसकेको छ ।
अहिले चल्तीका वालेटबाट अर्कोमा भुक्तानी गर्दा शुल्क लाग्दैन । बजारमा उपभोक्ताले कुनै सामान किनेर भुक्तानी गर्दा निःशुल्क छ । हातहातमा मोबाइल र प्रविधिमा अभ्यस्त युवापुस्ताले आफू डिजिटल भुक्तानी गर्न रुचाउने, सहजताका लागि पाका उमेरकालाई पनि सिकाउने गरेका कारण नगदरहित सेवा थप सहज हुँदै गएको छ । घरबाट बाहिर निस्किँदा खाद्यान्न, पेयपदार्थदेखि घरायसी प्रयोजनका सामान किन्न र होटल रेस्टुराँ पुगेर खाएको बिल भुक्तानीसम्ममा डिजिटल भुक्तानी सहज भएको छ ।
प्रविधिको सहज प्रयोगकै कारण आमजनताको पहुँचमा पुगेको मोबाइल बैंकिङबाट साउन महिनामा मात्रै भएको कारोवार डेढ खर्ब रुपैयाँ नाघेको छ । यस्तो भुक्तानीका लागि साउनसम्ममा १ करोड ८६ लाख ग्राहक मोबाइल बैंकिङमा जोडिएका छन् । यो बाहेक वालेट चलाउने ग्राहक पनि १ करोड ४० लाख पुगेका छन् । वालेटबाट मात्रै पछिल्लो एक महिनामा १७ अर्ब रुपैयाँको कारोवार भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा द्रुत गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता ३ करोड ८१ लाख पुगेका छन् । यस मध्ये मोबाइल ब्रोडब्यान्डमा जोडिएका प्रयोगकर्ता ९८ प्रतिशत छन् । मोबाइल इन्टरनेटकै कारण पछिल्लो समय डिजिटल भुक्तानीलाई थप सहयोग पुगेको देखिन्छ ।
नोट छाप्दा हुने खर्च जोगाउन डिजिटलमा जोड
डिजिटल भुक्तानीको तुलनामा नयाँ नोट साट्दा खर्च बढी हुन्छ । नयाँ नोट छाप्दा ४ रुपैयाँ ६८ रुपैयाँसम्म एउटै नोटको लागि खर्चनुपर्छ । खर्च हुने नयाँ नोट बजारमा जाँदा पुरानो बैंकहरूमै थुप्रने र बर्सेनि धुलाउनु पर्ने भएका कारण राष्ट्र बैंकले डिजिटल माध्यमलाई प्रबर्द्धनमा जोड दिइरहेको छ ।
यो वर्ष भने डिजिटलकै प्रयोग बढेको र आमनेपालीमा नोटप्रतिको सजगता बढेकाले नयाँ नोट साट्नेको संख्या उल्लेख्य रूपमा घटेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार यो वर्ष करीब ११ अर्ब रुपैयाँको मात्रै नयाँ नोट साटिएको छ ।
पोखरेलले भने यो वर्ष दशैैंको फूलपातीको दिनसम्म आउँदा बढेर १५ अर्ब रुपैयाँ भएको रहेछ भने पनि गत वर्षको तुलनामा २० अर्ब रुपैयाँले नयाँ नोटको सटही घटेको छ ।
नयाँ नोट गत वर्ष ३५ अर्ब रुपैयाँको सटही भएको थियो ।
पछिल्लो समय देखिएको नयाँ नोट सटहीको आकर्षण कम हुनुले भुक्तानी प्रणाली डिजिटल हुँदै गएको देखाउँछ । पोखरेल भन्छन्, ‘बैैंकहरूमा पनि लाइन विगतको तुलनामा घटेको छ । यो वर्षभन्दा अर्को वर्ष कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।’
डिजिटल पेमेन्टले बजारलाई चलायमान बनाइरहँदा नगद कारोबारलाई पनि विस्तारै घटाउँदै लगेको छ । नगदमा कारोवार गर्नेको तुलनामा नगदरहित कारोबार बढ्नुले उपभोक्तालाई सहज, बैंकमा निक्षेप नघट्ने र नयाँ नोट साट्दा हुने खर्च पनि बचत गर्न सकिने पोखरेलेको तर्क छ ।
सिभिल बैैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल पनि डिजिटल भुक्तानीको प्रभाव बैंकिङ प्रणालीमा राम्रोसँग परिरहेको बताउँछन् । पछिल्लो दैनिक ४/५ अर्ब रुपैयाँ डिजिटल भुक्तानी हुन थालेको छ । यसले बैैंकहरूबाट निक्षेप बाहिर नजाने, प्रणालीमै निक्षेप रहने, उपभोक्ताको काम चल्ने र नोट सटही तथा छपाइमा हुने खर्च जोगाउन सहयोग पुग्ने गरेको उनले बताए ।
नगदबाट कारोवार गर्दा पैसा झिकेर एक ठाउँबाट अर्को ठाँउमा लैजानुपर्ने हुन्छ । यसले लागत र समय पनि बढाउँछ । नगद भुक्तानी गर्दा सहज र छिटो पनि हुने भएकाले यसको प्रयोग बढ्नुलाई सकारात्मक मान्नुपर्ने पोखरेलको भनाइ छ ।
धेरैवटा बैंकहरूले वालेटलाई सहजै स्वीकार्नु र मोबाइल बैंकिङको सेवा दिनुले नगदको कारोवार घटाएको हुन सक्छ । पछिल्लो समय डिजिटल पेमेन्टलाई रुचाउने क्रम पनि बढिरहेको छ ।
विगतका वर्षहरूमा डिजिटलको प्रयोग कम हुँदा नगद बढी प्रयोग हुन्थ्यो । अहिले डिजिटल बढेकाले पनि नगदको प्रयोग कम हुँदै गएको छ ।
सम्भव छ दशैंमा डिजिटल दक्षिणा ?
नगद भुक्तानीलाई निरुत्साहन र डिजिटललाई प्रबर्द्धन गर्नुपर्ने भएकाले आफूले सकेसम्म डिजिटल भुक्तानी नै गर्न रुचाउने गरेको सिभिल बैंकका सीईओ सुनिल पोखरेल बताउँछन् ।
केन्द्रीय बैैंकले अहिले मर्चेन्टलाई निःशुल्क कारोवारको सुविधा दिनुपर्ने व्यवस्था गरिदिएको छ । कुनै पनि ग्राहकले कुनै पनि मर्चेन्ट कारोबारमा भुक्तानी गर्दा शुल्क तिर्नु पर्दैन ।
यसको अर्थ बजारमा गएर पैसा तिर्न राखिएको क्यूआर कोडमा स्क्यान गर्दा शुल्क लाग्दैन । तर, फण्ड ट्रान्सफर गर्दा भने १० रुपैयाँसम्म शुल्क लाग्छ ।
डिजिटललाई प्रबद्र्धन गर्नका लागि दशैंको दक्षिण समेत ट्रान्सफर गर्ने चलन बसाउनुपर्ने पोखरेल बताउँछन् । त्यसका लागि दशैंको अवधिमा बैंकहरूले ट्रान्सफरमा अतिरिक्त शुल्क नलिएर सहजीकरण गर्न सक्ने उनको भनाइ छ ।
‘दशैंमा नगद छोडौं, डिजिटल रोजौं’ भन्दै टीकाको एक दिन निःशुल्क ट्रान्सफर गर्न सकिने व्यवस्था गर्न सकिन्छ,’ सीईओ पोखरेलले भने, ‘यो विषयमा आगामी दिनमा ग्राहकको सहजता र अपेक्षाअनुसार बैंकहरूले सोच्न सक्छन् ।’
डिजिटाइजेनकै प्रभावका कारण पैसाको परिचालन गत आर्थिक वर्षमै ६६ अर्ब रुपैयाँले घटेको छ । यसरी पैसाको परिचालन घट्नुलाई डिजिटल बढ्यो नगद प्रवाह घट्यो भन्ने अर्थ लगाउन सकिने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बताए ।
ज्ञवालीले भने, ‘केन्द्रीय बैंकमा भूकम्पपछि भत्किएको पैसा राख्ने भल्ट अहिलेसम्म बन्न सकेको छैन । बजारमा पठाउने नयाँ पैसाले पुरानो पैसा फिर्ता आउने गर्छ । फिर्ता आएको साना दरका पुरानो पैसा राख्ने भल्ट नभएर खुला कोठामै राख्नुपर्ने बाध्यता बैंकहरूलाई परिरहेको छ ।’
पुराना नोट बैंकलाई राख्ने ठाउँ नभइरहेको अवस्थामा दशैंका नाममा नयाँ नोट छापेर बजारमा पठाउनु व्यावहारिक नभएको तर्क ज्ञवालीको छ ।
ज्ञवाली भन्छन्, ‘बजारमा नयाँ नोट जाँदा पुरानो नोट तुरुन्तै फर्किएर आउने गर्छ । पैसा खेलौना होइन । राष्ट्र बैंकले नयाँ नोट छापेर बाँड्नु नै गलत हो ।’
नयाँ नोट बजारमा पठाउँदा दशैंको एक सातापछि नै थोत्रिएर फिर्ता आउने गर्छ । त्यसैले डिजिटल भुक्तानी गर्नु अब समाज र समय दुबैको आवश्यकता हो ।
आवश्यकता हुँदाहुँदै पनि खाता नहुनेलाई पहिले खाता खोलेर आउनुस्, त्यसपछि भुक्तानी गर्छु भन्न नमिल्ने भएकाले पनि नगदै कारोवार गर्नुपर्ने अवस्था अझै केही समय रहिरहने बुझाइ ज्ञवालीको छ ।
बैंकहरूले नगदको सट्टा डिजिटल भुक्तानी प्रबद्र्धन नै गरिरहेका छन् । एउटा बैंकले अर्कोमा भुक्तानी गर्दा र पेमेन्ट कम्पनीले सेवा दिँदा लागत लाग्छ । निःशुल्क सेवा दिने पेमेन्ट कम्पनी सबै अहिले घाटामा छन् । ग्राहकले भुक्तानी गर्ने सेवाका लागि अहिले पनि सबैतिर निःशुल्क सेवा दिइरहेका छन् ।
फन्ड ट्रान्सफर गर्दा मात्रै लिइने थोरै शुल्क व्यक्ति स्वयं बैंक पुग्दा लाग्ने समय र खर्चको तुलनामा भने कम पर्छ । हरेक सेवा निःशुल्क खोजिनुले बानी बिग्रने र सेवाप्रदाक पनि सधैँ घाटा चल्नुपर्ने ज्ञवालीको तर्क छ ।