
प्रदेश–१ को पहिलो कार्यकालमा ३० जना मन्त्री र ३ मुख्यमन्त्री बनेका थिए । प्रदेशसभा सदस्य संख्याको एक तिहाइभन्दा बढी त मन्त्री नै बने । प्रदेश–१ मा ९३ जना सांसद थिए ।
त्यसमध्ये, मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा १८ जना मात्रै उम्मेदवार बनेका छन । नेकपा एमाले बाट ९ जना र केन्द्रीय सरकार रहेका दलहरूको गठबन्धनबाट पहिलो कार्यकालमा प्रदेश सांसद रहेका ९ जना चुनावी मैदानमा छन् ।
बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा आएका छन् । पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्रीहरू चुनावमा उम्मेदवार बनेका छन् ।
दुई पुर्व मुख्यमन्त्री पनि प्रतिनधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राई फेरि मुख्यमन्त्रीमा दोहोरिने सपनासहित चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश–१ का संस्थापक मुख्यमन्त्री शेरधन राई भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनीसँग प्रतिस्पर्धा गर्न सत्तारूढ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किराँतीले चुनौती दिइरहेका छन् । सुदनले शेरधनलाई चुनावी चुनौती दिएको यो पहिलो पटक भने होइन । चुनावी फिल्डमा उनीहरूको यो तेस्रो भेट हो ।
शेरधन २०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभाका कान्छो सदस्य बनेका थिए । २०६४ को निर्वाचनमा भने सुदनले शेरधनलाई पराजित गरेका थिए । २०७० सालको निर्वाचनमा शेरधनले सुदनलाई पैचो तिरे । २०७४ सालको निर्वाचनमा उनीहरु एकले अर्कालाई जिताउने जिम्मासहित वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । सुदन प्रतिनिधिसभामा र शेरधन प्रदेशसभामा निर्वाचित भएका थिए ।
गत वैशाखमा सम्पन्न स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतका आधारमा सत्तारूढ गठबन्धन अगाडि देखिन्छ । गठबन्धनमा रहेका दलहरुको भोट ट्रान्सफर भएको अवस्थामा शेरधनका लागि यो पटक सुदन फलामका चिउरा बन्नसक्ने विश्लेषण स्थानीयस्तरमा सुनिन्छ ।
जिल्लाभर एमालेले २७ हजार ६५६ मत पाएको छ । नेपाली कांग्रेसले २३ हजार ५९१ मत ल्याएको छ भने माओवादी केन्द्रले १४ हजार ७५८ मत ल्याएको छ । नेकपा एकीकृत समाजवादीले १ हजार ९४५ र जसपाले १ हजार ४९८ मत प्राप्त गरेको छ ।
यो हिसाबले सत्ता गठबन्धनका दलसँग ४० हजार २३१ मत रहेको छ भने एमालेसँग २७ हजार ६५६ मत मात्रै छ । जसपा भोजपुरका नेताहरु स्थानीयतहको चुनावभन्दा पछाडी एमालेमा प्रवेश गरेकाले एमालेका उम्मेदावरको मत बढ्ने अनुमान नेताहरूको छ ।
तर, केही दिनअघि मात्रै जसपाका नेताहरू एमालेमा प्रवेश गरेकाले पनि एमालेको मत बढ्ने अनुमान एमालेकै नेताहरूले गरेका छन् ।
प्रदेश–१ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को निर्वाचनमा सुनसरी–१ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
सुनसरी–२ मा २०७४ मा बाम गठबन्धन हुँदा पनि काँग्रेसका सीताराम मेहता निर्वाचित भएका थिए । गठबन्धनबाट यसपटक पनि उनी नै उम्मेदवार छन् । सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन ४ हजार १०४ मतले अगाडि छ ।
क्षेत्रमा काँग्रेसको मत ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, माओवादीको २ हजार ३५० र एकीकृत समाजवादीको २ हजार ११९ रहेको छ ।
देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिकाको १, २, ३, ५, ८ र ९ नम्बर वडा सुनसरी–२ मा पर्छ । त्यसैगरी, इटहरी उप–महानगरपालिकाको १, २, ३, ४, ५, १६, १७, १८, १९ र २० नम्बर वडा, इनरूवा नगरपालिकाको १, २, ५, ६, ९ र १० तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर–३ सुनसरी–२ मा समेटिएको छ ।
उक्त क्षेत्रमा मधेशी मतदाताको संख्या ठूलो छ । उनीहरूको सहानुभूति मेहताले प्राप्त गरेमा उनलाई चुनाब जित्न सहज हुने अनुमान छ । आचार्य एमालेमा १० बुँदे पक्षधर भएकोले चुनावी अभियानमा एमालेका संस्थापन पक्षका नेताले असहयोग गरेका कारण उनलाई थप संकट पर्ने एमालेकै नेताहरू सुनाउँछन् ।
बहालवाला मुख्यमन्त्रीलाई गठबन्धनको भर
बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरको क्षेत्र नम्बर–१(१) बाट उम्मेदवार बनेका छन् । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिवसमेत रहेका राई पुनः मुख्यमन्त्री हुने दाउमा प्रदेश सभामै उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धी हरिबहादुर राई नेकपा एमालेबाट चुनाबी मैदानमा छन् ।
साल्पासिलिछो गाउँपालिका, षडानन्दा नगरपालिका, अरुण गाउँपालिका, पौवादुम्मा गाउँपालिकाको वडा नं. १ र २ तथा ट्याम्केमैयुम गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा उनको निर्वाचन क्षेत्रमा पर्छ। ती ठाउँको स्थानीय तहको मत परिणामअनुसार गठबन्धन अगाडि छ । गत बैशाखमा भएको स्थानीय तहको चुनावको मतपरिणामका आधारमा नेकपा एकीकृत समाजवादीको मतपरिणाम १ हजार ६६१ मात्रै छ ।
उनलाई सत्ता गठबन्धनमा रहेका नेपाली काग्रेस र माओवादी केन्द्रको स्थानीय तहमा आएको मत आयो भने सजिलै जित्ने देखिन्छ ।
सत्तारुढ गठबन्धनको मतको आधारमा भने उनी ८ हजार ५२१ मतले अगाडि देखिन्छन् । नेकपा एमालेको १३ हजार ५०९, काँग्रेसको १४ हजार २६७, माओवादी केन्द्रको ६ हजार १०२ मत छ । जसअनुसार, गठबन्धनको मत २२ हजार ३० रहेको छ ।
बहालवाला मुख्यमन्त्री रहेको र जिल्लामा आफैंले राजनीतिमा लगाएका कार्यकर्ताको ठूलो पंक्ति एमालेमा रहेकोले उनीहरूको पनि साथ पाउँदा मतान्तर अझै बढ्ने राईको दावी छ । एमालेका उम्मेदवार हरिबहादुर सो क्षेत्रका नभएकाले पनि चुनाव जित्न सहज हुने राई बताउँछन् ।