२५ असार २०८३, बिहीबार

धादिङ-२ मा विजयी घोषणापछि भेटियो गन्न बाँकी प्रत्यक्षतर्फको मतपेटिका

मंसिर १०, २०७९
धादिङ-२ मा विजयी घोषणापछि भेटियो गन्न बाँकी प्रत्यक्षतर्फको मतपेटिका

धादिङ-२ मा प्रत्यक्षतर्फको मतपरिणाम घोषणा भइसकेपछि नगनिएको मतपेटिका फेला परेको छ । 

बिहीबार दिउँसो धादिङ-२ को मतगणना सकेर गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजय भएको घोषणा गरिसकेर समानुपातिकको मत गणना गर्ने क्रममा प्रत्यक्षतर्फको मतपेटिका फेला परेको हो । उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । 

अधिकारी १० हजार ५३३ मतान्तरले निर्वाचित भएको घोषणा भएको थियो । तर, समानुपातिकतर्फको मतगणना गर्दै जाँदा खनियाबास गाउँपालिका-४ को गणेशकुण्ड माध्यमिक विद्यालय मतदान स्थलको (ख) केन्द्रको प्रत्यक्षतर्फको मतगणनामा छुटेको हो । 

धादिङ–२ का मुख्य निर्वाचन अधिकृत स्वीकृति पराजुलीले मतपरिणाम घोषणा भइसकेपछि प्रत्यक्षतर्फको नगनिएको मत पेटिका भेटिएको पुष्टि गरे । 

‘समानुपातिकतर्फको स्टिकर प्रत्यक्षतर्फको मतपेटिकामा टाँसिएको रहेछ, निर्वाचन अधिकृतको गल्तीले त्यस्तो भएको हो’, पराजुलीले भने, ‘समानुपातिकतर्फको मत गणना गर्दा शुरूमै गन्न बाँकी रहेको प्रत्यक्षतर्फको मतपेटिका भेटियो, तत्काल मुचुल्का गर्‍यौं, गणना गरेर मतपरिणाम सच्च्यायौं ।’

क्लस्टरअनुसार छुट्याएर मतगणना गरिएकाले कूल मतपेटिकातर्फ ध्यान नपुग्दा एउटा मतपेटिका गणनाबाट छुट्न पुगेको पराजुलीले बताए । 

‘निर्वाचन क्षेत्रभरको कुल १५५ वटा मतपेटिका हुनुपर्थ्यो, १५४ को मात्रै गणना भएछ, नगनिएको मतपेटिका भेटिएपछि तत्काल मुचुल्का गर्‍यौं र गणना गर्‍यौं’, पराजुलीले लोकान्तरसँग भने । 

धादिङ–२ मा जीत-हारको अन्तर करिब १० हजारको हाराहारीमा भएकाले नगनिएको मतपेटिका भेटिँदा पनि नजितामा फेरबदल हुने अवस्था नभएकाले उम्मेदवारका प्रतिनिधिले सहजै मुचुल्का गरिदिएको उनले बताएका छन् ।

नभेटिएको मतपेटिकाको मत गणना गरेपछि विजयी उम्मेदवारको मतान्तर १८ मतले घटेको छ । कांग्रेसका उम्मेदवार अधिकारीले एमालेका उम्मेदवार लोहनीलाई १० हजार ५१५ मतले पराजित गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्