
लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफैंले चढ्दै आएको सरकारी गाडी कृषकलाई दूध ढुवानी गर्न दिएका छन् । नगरपालिकाको चिस्यान केन्द्रसम्म विभिन्न बस्तीबाट दूध ल्याउन समस्या भएको कृषकको पटक पटकको गुनासोपछि सुयलले कार्यालय प्रयोजनका लागि आफूले प्रयोग गर्दै आएको टाटा जेनन ३५७ नम्बरको पिकअप भ्यान दिएका छन् ।
सुयलले कृषकको समस्या तत्काल समाधान गर्न र अर्को व्यवस्था नभएसम्म आफैंले प्रयोग गर्दै आएको गाडी दिएको बताए । कृषकले समस्या देखाउने र गुनासो सुनाउने गरेपछि सवारी साधन उपलब्ध गराउन दबाबस्वरुप गाडी उपलब्ध गराएको उनले बताए । उनले भने ‘गाडी खरिद गर्ने प्रक्रियामा रहेको भएपनि विभिन्न प्राविधिक समस्याका कारण पूरा नभएको र कृषकको दूध खेर नजाओस् भन्ने हेतुले गाडी उपलब्ध गराइएको हो ।’

भाडाको सवारीमा महँगो भाडा तिर्दा पनि समयमा नै उपलब्ध नहुने कृषकको गुनासोको तत्काल सम्बोधन गर्ने प्रयास गरेको उनले बताए । उनै सूयल प्रमुख प्रशासकीय अधिकृत भएर उक्त नगरपालिका गएपछि दुग्ध विकास संस्थानसँग सहकार्य गरेर दूध चिस्याउने केन्द्र स्थापना गराएका थिए । अहिले दैनिक १ हजार लिटर दूध संकलन हुने र थप बस्तीबाट ल्याउन सके तत्कालै १५ सय लिटर पुग्ने पनि उनको भनाइ छ ।
सो केन्द्रमा राईनासको बोराङखोला, साँहिलीटार, हर्राबोट, धमिलिकुवा लगायतका स्थानबाट दैनिक दुध ढुवानी गरेर चिस्यान केन्द्रसम्म आइपुग्छ । दुध ढुवानीका लागि छुट्टै सवारी साधन नभएकाले नगरपालिकाले पनि खरिद गर्ने प्रकृयामा रहेको छ ।