सन् १९९८ मा लन्डनबाट न्युयोर्क गइरहेको प्यान एम १०३ उडानमा बम विस्फोट गराउने एक आरोपितलाई अमेरिकाले आइतवार हिरासतमा लिएको छ ।
स्कटल्यान्डको लकरबीमा भएको यस आतंकवादी आक्रमणमा परी उडानमा रहेका २५९ जनाको ज्यान गएको थियो । अन्य ११ जना विमानका टुक्राटाक्री भुइँमा खस्दा लागेर मरेका थिए ।
संयुक्त अधिराज्यको भूमिमा भएको त्यो सबभन्दा ठूलो आतंकवादी आक्रमण मानिन्छ ।
पक्राउ परेका आरोपितको नाम अबु अगेला मसूद खैर अल–मरीमी हो । उनी लिबियाका निवासी हुन् ।
स्कटल्यान्डको क्राउन अफिसका अनुसार, आरोपित पक्राउ परेको खबर सबै पीडित परिवारलाई दिइएको छ । अमेरिकाको जस्टिस डिपार्टमेन्टले मसुदलाई वाशिङटन डीसीमा पेश गरिने जानकारी दिएको छ ।
लकरबी विमानमाथि आतंकवादी आक्रमणको अनुसन्धानका क्रममा सन् २०१७ मा निर्णायक मोड आएको थियो । त्यतिखेर अमेरिकी अधिकारीहरूले लिबियाको गुप्तचर निकायलाई मसुदले दिएको अन्तर्वार्ता फेला पारेका थिए ।
उक्त अन्तर्वार्ता सन् २०१२ मा गद्दाफी सरकार अपदस्थ भएपछि लिइएको थियो । त्यतिखेर गुप्तचर निकायले मसुदलाई हिरासतमा लिएको थियो ।
अन्तर्वार्तामा मसुदले प्यान एम फ्लाइट १०३ मा आक्रमणका लागि बम बनाएको स्वीकार गरेको थियो । यस काममा अन्य दुईजना पनि सहभागी बनेको उसको भनाइ थियो ।
अमेरिकी अनुसन्धान निकाय एफबीआईको प्रतिवेदनमा यस आक्रमणमा लिबियाली गुप्तचर निकाय पनि संलग्न रहेको उल्लेख छ । गद्दाफीले आक्रमणका लागि मसुद र अन्य सदस्यहरूलाई धन्यवाद दिएका थिए ।
अन्य दुई सदस्य अब्दुल बासित अल–मगराही र लामेन खलीफा फहिमा थिए । तर फहिमामाथिको आरोप प्रमाणित हुन सकेको थिएन ।