२६ जेठ २०८३, मंगलबार
कांग्रेस संसदीय दलको चुनाव

गगनको नियति: सेल्फी खिच्नेले नै भोट नदिने !

पुस ६, २०७९
गगनको नियति: सेल्फी खिच्नेले नै भोट नदिने !

बुधवार बिहान मतदान शुरू हुनुअघिसम्म पनि कांग्रेसको शेखर–गगन समूहका नेताहरू संसदीय दलको चुनावमा चमत्कार हुने आशामा थिए । 

यताउति गरी ३९ सांसद जुटेको र थप ६ जनाको समर्थन मिल्दा चुनाव जित्न सकिने हिसाब उनीहरूको थियो । उम्मेदवारी दिएपछि गगन आफूले बहुसंख्यक सांसदसँग फोनमा कुराकानी गरेका थिए । भोट मागेका थिए । 

महामन्त्री विश्वप्रकाश शर्मा र महाधिवेशनमा शेरबहादुर देउवा क्याम्पबाट चुनाव लडेका प्रदीप पौडेल समेत गगनको समर्थनमा आएपछि संसदीय दलमा माहोल बन्ने विश्वास सो समूहका नेताहरूमा थियो ।

गगनको उम्मेदवारीले उत्साही विश्वप्रकाशले कांग्रेस रूपान्तरणको चरण शुरू भएको आशयका अभिव्यक्ति दिएका थिए । तर, चमत्कार उल्टो भयो । आफ्नै समूहका नेताहरूले समेत भोट हालेनन् । 

विगतमा आफ्नै कटुआलोचक रहेका रामचन्द्र पौडेलसमेतको समर्थन जुटाएका देउवाले संसदीय दलमा अर्को चमत्कार गरे ।

पछिल्ला वर्षहरूमा परिपक्व राजनीतिक कदम उठाइरहेका देउवाले आफ्ना भोट घट्न दिएनन्, बरु बढाए । 

देउवाको अगाडि गगनको जोर चलेन । फराकिलो मतान्तरले देउवा विजयी हुँदा संस्थापनइतर पक्ष झन् कमजोर देखियो । 

‘कांग्रेसको पुरानो संरचनाले परिवर्तन चाहेन, गगनलाई पत्याएन,’ आफूहरूको पराजयबारे गगन समूहका एक केन्द्रीय सदस्यले भने । 

आफ्नै समूहको समेत भोट किन आएन भन्ने बारेमा विश्वप्रकाश शर्मासहितको शेखर–गगन समूहले आन्तरिक छलफल गर्ने बताएको छ । मन्त्री बन्ने प्रलोभनमा केही सांसद बिकेको उनीहरूको मूल्यांकन छ ।

किन पत्याइएनन् गगन ? 

पार्टीको महाधिवेशन चलिरहेको समयमा भृकुटीमण्डपको चौरमा गगनसँग सेल्फी खिच्नेको भीड थियो । त्यो भीडबारे पंक्तिकारले सोधेको एक प्रश्नमा गगनले भनेका थिए, ‘मसँग सेल्फी खिचाउनेले पनि भोट नदिएको नमीठो अनुभव छ ।’

महाधिवेशनको बेलाको फाइल तस्वीर

बुधवार पनि केही सांसद्ले गगनसँग फोटो खिचे भोट हालेनन् । गगन आफैंले भन्ने गरेको नियति बुधवार पनि दोहोरियो । 

पार्टीको महाधिवेशनमा महामन्त्री निर्वाचित भइसक्दा समेत कांग्रेसको एउटा तप्काले उमेरकै कारण गगनको अस्तित्वलाई सहर्ष स्वीकार गरेको छैन । गगन नेविसंघको राजनीति गर्ने बेला कांग्रेसको केन्द्रीय सदस्य बनेको पुस्ता अहिले पनि त्यही पद ओगटेर बसिरहेको छ । 

उनीहरूले मनैदेखि गगनलाई महामन्त्री स्वीकार गरेका छैनन् । 

केही दिन पहिले विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेसका एक केन्द्रीय सदस्यले ‘महामन्त्री गगन भाइ’ भनेर सम्बोधन गरेका थिए । जबकि अहिलेको केन्द्रीय समितिमा गगन पाँचौं वरीयतामा छन् । 

पार्टी महाधिवेशनमा युवा प्रतिनिधि र आमनिर्वाचनमा मतदाताले पार्टीका युवालाई छाने । उमेरले ७० कटिसकेका कांग्रेसका नेताहरूलाई यो मन परेको छैन ।

कांग्रेसको ‘ब्ल्याक एन्ड ह्वाइट’ पुस्तालाई आफ्ना शुभेच्छुक कार्यकर्ता र आममतदाताको भावनासँग मतलब छैन । समयको बेग एकातिर गइरहे पनि कांग्रेसको त्यो तप्का ‘२०४८ युग’को ह्याङओभरबाट मुक्त छैन । 

महाधिवेशनपछिको केन्द्रीय समिति बैठकमा धेरै बोलेको भन्दै महामन्त्रीद्वयको आलोचना भएको थियो ।

चुनाव हारेर पनि जितेका गगन !

संसदीय दलको चुनावमा पराजित भए पनि गगनले राजनीतिक ब्याटल भने जितेका छन् । शेरबहादुर देउवालाई चुनौती दिनेगरी भएको गगनको उम्मेदवारीलाई लिएर हिजो र आज सामाजिक सञ्जाल तातेका थिए ।

कांग्रेस मात्र होइन अन्य दलका नेताहरूले समेत राजनीतिमा वास्तविक रूपमा पुस्तान्तरणको बहस शुरू भएको भनेर खुशी व्यक्त गरेका थिए । 

संसदीय दलको चुनावमा देउवासँग गगन फराकिलो मतान्तरले पराजित भए, यहाँसम्म कि संस्थापनइतर समूहमा रहेका ३२ सांसद सबैको विश्वास जित्न सकेनन् । परन्तु, गगनले राजनीतिक ब्याटल भने जितेका छन् । 

संसदीय दलको चुनावमा आफ्नो पराजयलाई गगनले पाँच वर्षअघि पार्टीको महाधिवेशनमा महामन्त्रीमा भएको पराजयसँग तुलना गरेका छन् ।

‘पाँच वर्षअघि महामन्त्री लड्दा ५ सय हाराहारी मत पाएको थिएँ । तर कांग्रेसमा सुधारको एजेन्डा उठाइराख्दा पाँच वर्षपछि झण्डै ३ हजार भोट पाएँ,’ संसदीय दलको चुनावमा पराजय ब्यहोरेपछि गगनले भने, ‘मलाई विश्वास नगर्ने सांसदको पनि विश्वास जितेर फेरि संसदीय दलको चुनाव जित्छु ।’

संसदीय दलको नेतामा पराजित भए पनि गगनले आफ्नो एजेन्डा स्थापित भएको दाबी पनि गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको दिनदेखि नै उनले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर देशको नेतृत्व गर्ने बताएका थिए ।  

‘संसदीय दलको नेताका लागि लड्छु भनेर चुनावमा वाचा गरेको थिएँ । मतदातासँग गरेको त्यो वाचा पूरा गरेको छु,’ संसदीय दलको चुनावमा २५ भोट पाएपछिको प्रतिक्रियामा गगनले भनेका छन्, ‘मेरो उम्मेदवारीको औचित्य पुष्टि गर्न थाक्दिनँ, निरन्तर लागि पर्छु र बाँकी सांसदहरूको पनि मन जित्छु ।’

गगनपक्षीय कांग्रेस नेताहरू पार्टीमा सुधार गर्ने गगनको एजेन्डा आगामी दिनमा अझ सशक्त रूपमा उठ्ने विश्वास गर्छन् । भविष्यमा कांग्रेसको नेतृत्वका दाबेदारको रूपमा रहेका गगन–विश्वप्रकाश र प्रदीप पौडेलको अहिलेको एकता कायम रहेमा कांग्रेसभित्र यो शक्तिलाई उपेक्षा गर्न देउवाले सक्ने छैनन् । संसदीय दलको चुनावमा विश्वप्रकाश समेत आफूहरूको कित्तामा आएपछि शेखर–गगन समूहको राजनीतिक ताकत बढेको छ । 

संसदीय दलको नेतामा पराजित हुँदै गर्दा पार्टी महामन्त्रीको हैसियतमा गगनले देउवालाई एउटा चुनौती दिएका छन्, सत्ता साझेदारीको नाममा बन्द कोठामा हुने सहमति मान्य हुँदैन ।

पार्टीको निर्णय पारदर्शी हुनुपर्ने उनीहरूको आवाजलाई संस्थापन पक्षले कुल्चन सक्ने अवस्था छैन । यसर्थ संसदीय दलको चुनावमा पराजित भए पनि राजनीतिक रूपमा भने गगन हारेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्