११ साउन २०८३, सोमबार

लुम्बिनीमा मुख्यमन्त्री केसीका १७ महिना– विवाद धेरै, उपलब्धि कम

पुस २१, २०७९
लुम्बिनीमा मुख्यमन्त्री केसीका १७ महिना– विवाद धेरै, उपलब्धि कम

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीलाई डेढ वर्षअघि लुम्बिनीको मुख्यमन्त्री बन्ने अप्रत्यासित अवसर जुरेको थियो । तत्कालीन नेकपा विभाजनपछि शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै केसीलाई अनपेक्षित रूपमा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर आइलाग्यो ।

तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले २०७८ जेठ ७ गते दोस्रोपटक संसद विघटन गरेपछि एमालेले संघदेखि प्रदेशसम्म सत्ता गुमाउँदा केसीलाई सत्ता आइलागेको हो । पोखरेल नेतृत्वको सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्रीबाट हटेको २ महिनाभित्रै केसीले मुख्यमन्त्री बन्ने अवसर पाएका थिए ।  

कांग्रेस सहितको मिलिजुली सरकारमा १७ महिना प्रदेश सरकारको नेतृत्व गरेर यसै महिना बिदा हुन लागेका केसीको कार्यकाल सुखद रहेन । २०७८ साउन २८ गते प्रदेशको नेतृत्व गर्दा माओवादी–कांग्रेसले आलोपालो प्रदेशको नेतृत्व गर्ने सहमति गरे तर उनले कांग्रेसलाई पालो दिएनन् । बाँकी समय पूरा कार्यकाल सरकारको नेतृत्व गरे पनि केसीको कार्यकालमा विवाद बढी उपलब्धि कम रह्यो । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ वासीको वाचा उनले त्यसै खेर फाले । 

स्थायी पूर्वाधार विनै प्रदेशको राजधानी बुटवलबाट दाङको भालुवाङ सारेर साविक राप्ती र भेरीका जनता र सांसदसामु असक्षमताको दाग मेट्न सके पनि सम्झनलायक कुनै काम गरेनन् । उनले विकास र सुशासनको जग बसाउन सकेनन्, बरु निरन्तर विवादै विवादमा फसिरहे ।

‘जम्बो’ १७ सदस्यीय मन्त्रिपरिषद्, प्रादेशिक अस्पताल टेन्डरमा सेटिङ, गौरवका आयोजना ठेक्कामा आर्थिक अनियमिता जस्ता विवादमा केसीको नाम जोडियो । मुख्यमन्त्री कार्यालयमा छोरीज्वाइँलाई नियुक्त गरेपछि मन्त्रायलका कर्मचारी समेत आश्चर्यमा परे । १८ सदस्यीय जम्बो सचिवालय बनाएर बेथितिलाई प्रश्रय दिए ।

टुक्रे आयोजनामा बजेट वितरण, कर्मचारीमाथि अनावश्यक हस्तक्षेप र क्याबिनेट मन्त्रीलाई कुनै जानकारी नै नदिई रातारात प्रदेश कार्यालय दाङ सारेको आरोप उनीमाथि लाग्यो । प्रदेश सरकारले वितरण गरेका अनुदानको दुरुपयोग र भ्रष्टचार रोक्न उनी उदासिन देखिए । कार्यकर्तालाई जागिर खुवाउन अनावश्यक पद सिर्जना गराउँदा कर्मचारीले असन्तुष्टि जनाए ।

शिक्षामन्त्री बसिउद्दिन खाँलाई जानकारी नदिई मंसिर २९ गते लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाललाई नियुक्त गरे ।

सूर्य चिह्नबाट निर्वाचित अजयकुमार शाही र विमला वलीलाई पदमुक्त गर्न एमालेले सभामुखलाई पत्र पठाए पनि मुख्यमन्त्री केसीको दबाबमा उनीहरूलाई कारवाही भएन । स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले विवादित भएर पदबाट राजीनामा दिइन् । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि गल्ती देखिएकाले उनी राजीनामा दिन बाध्य भइन् ।

प्रतिपक्षी दल एमालेसँग ८ महिनासम्म सरकारले छलफल समेत नगर्दा संसद बन्धक नै बन्यो । आफू मन्त्री हुँदा संलग्न रहेर अगाडि सारेका पाल्पाको रामपुरदेखि रोल्पा पातिहाल्ना जोड्ने सडकबाट उनले प्रदेश गौरवको आयोजनाको बजेट कटौती गरे ।
 
केसीको कार्यकाल कस्तो रह्यो भन्ने प्रश्नमा एमालेका निवर्तमान प्रमुख सचेतक तथा सांसद भूमिश्वर ढकालले लक्ष्य र उपलब्धिविहीन रूपमा सरकारले १७ महिना बिताएको बताए । ‘केसी नेतृत्वको सरकार विवादै–विवादमा फस्यो,’ ढकाल भन्छन्, ‘प्रदेश र जनताको हितमा भन्दा आफ्ना मान्छे र सांसदलाई रिझाउनमै समय बितायो । प्रदेश सभाका सबै दलहरूलाई मिलाएर लैजान त परको कुरा सत्तारूढ दल र सांसदहरूलाई पनि हातमा लिएर काम गर्न सकेन । दिशाहीन सरकार अपेक्षा बाहिर गयो । सरकारले विकास र सुशासनको जग बसाउने, मौका र सहज शासनको अनुकूल समय उपयोग गर्न सबैमा चुक्यो ।’ 

भलै मुख्यमन्त्री केसी र सरकारका प्रवक्ता तिलकराम शर्माले सरकारको कार्यकाल उपलब्धिमूलक र समृद्धितर्फ अपेक्षित फड्को मार्ने गरी काम गरेको दाबी गर्दै आएका छन् । केसीले मुख्यमन्त्री कार्यालयको पछाडि बुटवल लक्ष्मीनगरमा २०७८ भदौमा पहिरोले दर्जनभन्दा बढी घर पुरिँदा समेत त्यहाँ पुगेर जनतालाई ढाडस दिन गएनन् । सुविधाजनक बहुमतसहित सरकार बन्दा समेत पुँजीगत बजेट (विकास खर्च) खर्च विगतको रोग जस्तै निराशाजनक प्रदेशका योजनाले गति लिन सकेनन् ।

शासकीय क्षमताको अभाव, अवरोध सुल्झाउने प्रशासकीय–व्यवस्थापकीय क्षमता नहुँदा सरकार असफल बनेको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी बताउँछन् । दीर्घकालीन महत्त्व राख्ने पर्यटन प्रवर्द्धन गर्ने ‘हिल स्टेसन’ निर्माण योजना, रोजगारी सिर्जना गर्ने कृषिकर्मी उत्पादन, उद्योगहरूको स्थापना लगायतका धेरै योजना केसी नेतृत्वको सरकारले अहिले कटौती गरेको चौधरीको भनाइ छ ।

दीर्घकालीन र रणनीतिक महत्त्व राख्ने योजना नभई नारामुखी र कनिका छराइजस्तै गरी आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चालू आर्थिक वर्ष २०७९/२०८० का लागि ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट ल्याएका थिए । केसी नेतृत्वको सरकारले बैठक भत्ताका लागि मात्रै झण्डै १ अर्ब रुपैयाँ छुट्याएको छ । चालू आर्थिक वर्षमा बजेट रकम कर्मचारी, मन्त्री, प्रदेश सभाका सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यको बैठक भत्ताका लागि राखेका छन् ।

सरकारकै तलब सुविधा खाने मन्त्रालय र कार्यालयका कर्मचारीकै लागि सरकारले ११ करोड ५० लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ । यी सबै अनुत्पादक खर्च हुन् । बजेट वितरणमा पनि माओवादी केन्द्रले एकलौटी गरेको स्वयं सत्तारूढ दलकै कार्यकर्ताले आरोप लगाउने गरेका छन् ।

विवादित सञ्चार विधेयक पारित र सञ्चार संस्थाहरूको बजेट आफू निकटकालाई मात्र वितरण गरेको आरोप पनि मुख्यमन्त्रीले खेपिरहेका छन् । केसीको कामप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनिर्वाचनमा उनलाई टिकट नदिएको माओवादीका एक नेताले बताए ।

प्रदेशका ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वीरबहादुर रानाले सरकारको कामबाट आफू सन्तुष्ट नभएको बताए । ‘केसी नेतृत्वको सरकार मुलुकमा सिर्जित राजनीतिक परिस्थितको उपजबाट बनेको सरकार हो,’ कांग्रेसबाट मन्त्री बनेका रानाले लोकान्तरसँग भने, ‘मुख्यमन्त्रीमा महत्त्वपूर्ण विषयमा मन्त्रीलाई पनि जानकारी नै नदिई काम गर्ने सोच देखियो । केही विवादित विषयमा मुख्यमन्त्री आफैं जोडिनुभयो । त्यो राम्रो थिएन । संरचना नबन्दै हतारमा राजधानी सार्नु हुँदैन्थ्यो । कानूनी रूपमा गइसकेको अवस्थामा भौतिक पूर्वाधार बनाएर लगेको भए हुने थियो ।’ 

प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले वर्तमान सरकारले प्रदेशको जग बसाल्न उपलब्धिमूलक काम गरेको दाबी गरे । ‘स्थायी राजधानीका लागि जग्गा प्राप्ति र ल्याण्ड पुलिङ, स्थायी राजधानी कार्यान्वयन, लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, प्रादेशिक अस्पतालसहित अन्य अस्पतालहरूको स्तरवृद्धि गर्ने काम अहिलेको सरकारले गर्‍यो । जुन सबै क्षेत्रबाट उपलब्धिमूलक रहे,’ शर्माले लोकान्तरसँग भने ।

लुम्बिनी प्रदेश प्रदेश अमिक शेरचनले आउँदो हप्ता नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् । लुम्बिनीमा फेरि पनि एमाले र माओवादी नेतृत्वको गठबन्धन सरकार बन्ने पक्काजस्तै छ । 
 

salt training

कमेन्ट गर्नुहोस्