
झन्डै आठ महिनाअघि भएको तारा एयरको विमान दुर्घटनाबारेको अनुसन्धान अहिलेसम्म पूर्ण हुन सकेको छैन ।
पोखराबाट जोमसोम जाँदै गर्दा २०७९ जेठ १५ गते मुस्ताङमा तारा एयरको नाइन एन एईटी विमान पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङनजिकै सानुसरे भीरमा भएको उक्त दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको थियो ।
खराब मौसमका कारण दुर्घटना भएको भनी प्रारम्भिक निष्कर्ष निकालिए पनि अनुसन्धान सम्पन्न गरी प्रतिवेदन तयार गर्ने काम अझै हुन सकेको छैन ।
सरकारले तत्कालै वरिष्ठ एरोनोटिकल इन्जिनीयर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने सदस्य थिए ।
छानबिनका लागि निश्चित समय तोकिएको थिएन । तर आयोगका पदाधिकारीले चार महिनाभित्र प्रतिवेदन बुझाउने बताएका थिए । काम शुरू गरेको आठ महिना हुन लाग्दा पनि अनुसन्धान पूरा भएको छैन ।
जाँचबुझ समितिका इन्चार्ज रतिशचन्द्रलाल सुमन भने एउटा उपकरणको परीक्षण रिपोर्ट अमेरिकाबाट आउन समय लागेकाले अनुसन्धान पूरा गर्न ढिलाइ भएको बताउँछन् ।
'हामीले छानबिनको काम लगभग टुंग्याइसकेका छौं,' सुमनले लोकान्तरसँग भने, 'अमेरिका पठाइएको एउटा उपकरणको रिपोर्ट आएलगत्तै प्रतिवेदन सरकारलाई बुझाउँछौं ।'
'टेरियन एभ्वाइडेन्स एन्ड वार्निङ सिस्टम' (टावस) नामक उपकरण परीक्षणका लागि अमेरिका पठाइएको हो ।
'विमान अवतरण गर्नुभन्दा पहिले अवतरण गर्न सकिन्छ कि सकिँदैन भन्ने वार्निङ दिने उपकरण हो,' सुमनले थपे, 'त्यही उपकरणमा चालकलाई त्यस्तो वार्निङ आएको थियो वा थिएन भन्ने कुराको परीक्षण प्रतिवेदन अमेरिकाबाट आउन बाँकी छ ।'
लाखौं डलर खर्चिएर विमानमा जडान गरिने उक्त उपकरणले काम गरेको थियो वा थिएन भन्ने कुराको परीक्षण गर्नका लागि अमेरिका पठाइएको हो । विमान दुर्घटना हुँदा उक्त उपकरण अन थियो वा अफ थियो, अफ थियो भने कहिलेदेखि अफ थियो, त्यही दिनको फ्लाइटमा मात्र अफ थियो वा पहिलेदेखि नै अफ थियो, अन थियो भने मशिनले वार्न गरेको थियो कि थिएन भन्ने कुरा जान्नका लागि उक्त मशिनलाई अमेरिकामा पठाइएको हो ।
त्यसबाहेक जाँचबुझ आयोगले रिकभर गरेको 'ब्ल्याक बक्स' पनि परीक्षण गरिसकिएको छ ।
विमानको ककपिटमा भएको २० मिनेटको वार्तालाप ब्ल्याक बक्सबाट रिकभर गरिएको थियो । पोखरादेखि जोमसोमको यात्रा करीब २० मिनेटको हो ।
जाँचबुझ आयोगले उक्त ब्ल्याक बक्सबाट रिकभर गरिएको २० मिनेटको अडियो संवाद 'डीकोड' गरिसकेको छ । 'उक्त अडियो संवादबाट पनि केही कुरा पत्ता लागेको छ,' सुमनले थपे, 'त्यस विषयमा पत्रकारलाई भन्ने कुरा हुँदैन । केही दिनभित्रै सबै कुरा प्रतिवेदनमा आइहाल्छ ।'
जाँचबुझ आयोगका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने पनि अमेरिका पठाइएको उपकरणको रिपोर्ट नआएकाले मात्र ढिला भएको बताउँछन् ।
'त्यो उपकरण परीक्षणका लागि प्रोसेसिङमा गइसकेको भन्ने कुरा उताबाट हामीलाई जानकारी प्राप्त भएको छ,' लामिछानेले लोकान्तरसँग भने, 'हामी अझै पनि अमेरिकामा परीक्षण गर्ने संस्थासँग समन्वयमा नै छौं । केही दिनभित्र उक्त परीक्षण रिपोर्ट आइपुग्ने भनिएको छ ।'
अनुसन्धानका क्रममा सम्बन्धित सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी तथा प्रतिनिधिहरूसँग अन्तर्वार्ता समेत गरिएको छ । दुर्घटनाको कारण अहिलेसम्मको अनुसन्धानबाट खुलिसकेको उनले बताए ।
'विमान दुर्घटना किन भयो, त्यसको कारण अहिलेसम्मको अनुसन्धानबाट खुलिसकेको छ । सबै कुरा हामीले प्रतिवेदनमा लेखेर दिन्छौं,' उनले थपे, 'विभिन्न प्राविधिक पक्षदेखि अन्य सबै पक्षको सूक्ष्म तरिकाले अनुसन्धान गरिएको छ । ती सबै कुरा अहिले भन्न मिल्दैन ।' केही दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाइने उनले बताए ।
विमान दुर्घटना हुनुमा कतै विमानमै प्राविधिक समस्या त थिएन भन्ने आशंका रहे पनि छानबिनबाट भने विमानको प्राविधिक पक्षमा कुनै समस्या नरहेको निष्कर्ष निकालिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार जाँचबुझ आयोगले जाँचबुझ गर्दा विमानको प्राविधिक पक्षको कुनै कमजोरी देखिएको छैन । चालक पनि अनुभवी रहेका कारण चालकको लापरवाही नभएको तथा खराब मौसमका कारण नै विमान दुर्घटना भएको पाइएको स्रोतको दाबी छ ।
त्यसैगरी २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको अनुसन्धान गर्नका लागि सरकारले सरकारले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनीयर एकराज जंग थापा सदस्य छन् । उक्त आयोगमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव बुद्धिसागर लामिछाने सदस्य सचिव छन् ।
विमान दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई ४५ दिनको समय दिइएको छ ।
सोमवारबाटै काम थालेको आयोगले दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' बुझ्ने तयारी गरेको छ ।