२९ जेठ २०८३, शुक्रबार
बूट उत्पादनमा सेना

सेनाले खोल्यो आफ्नै बूट कम्पनी, विदेशी ‘ट्रेडमार्क’ लिएर उत्पादन थाल्ने तयारी

माघ २०, २०७९
सेनाले खोल्यो आफ्नै बूट कम्पनी, विदेशी ‘ट्रेडमार्क’ लिएर उत्पादन थाल्ने तयारी

नेपाली सेनाले आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने भएको छ ।

आफूलाई आवश्यक पर्ने बूट आफैं उत्पादन गर्ने गरी सेनाले काठमाडौंको सुन्दरीजलमा मशिनरी प्लान्ट स्थापना गरेको हो ।

वार्षिक ८७ हजार ५ सय जोर बूट उत्पादन गर्ने गरी प्लान्ट स्थापना गरेको सैनिक प्रवक्ता सहायक रथी (ब्रिगेडियर जर्नेल) कृष्णप्रसाद भण्डारीले बताए ।

‘हामीले वार्षिक साढे ८७ हजार जोर बूट उत्पादन गर्ने गरी तयारी गरेका छौं,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।

आफूलाई आवश्यक पर्ने पहिरन तथा बन्दोबस्तीका सामग्रीहरू आफैं उत्पादन गर्ने अवधारण अनुसार सैनिक कत्याणकारी कोषबाट ऋण लिएर बहुव्यवसाय उद्योग नै स्थापना गरिएको छ । 

यो उद्योग नाफा वितरण गर्ने कम्पनीको रूपमा दर्ता गरेर सञ्चालन गरिएको सेनाले जनाएको छ । 

उत्पादित बूटमा सेनाले विश्वविख्यात जुत्ता कम्पनी ‘वरिजिनल स्वाट’को आधिकारिक ट्रेडमार्क प्रयोग गर्नेछ । त्यसका लागि सेनाले ओरिजिनल फूटवेर एल.एल.सी कम्पनीसँग प्राविधिक सहकार्य गरेको छ । 

सेनाले कम्पनीसँग टेक्नोलोजी ट्रान्सफर गर्नका लागि सम्झौता गरेको छ । त्यसैका आधारमा प्लान्टमा आवश्यक पर्ने मशिन र कच्चा पदार्थ आयात गरेर उत्पादन शुरू गर्न लागेको प्रवक्ता भण्डारीले बताए ।

सरकारबाट स्वीकृति लिएर आवश्यक कर्मचारी भर्ना गरिसकेको सेनाले जनाएको छ । उद्योग विभागबाट प्रक्रिया पूरा गरेर बूटका लागि आवश्यक पर्ने कच्चापदार्थ स्वाट कम्पनीबाटै आपूर्ति गर्ने तयारी छ ।

ठेक्कापट्टा तथा व्यवसायमा बढी केन्द्रित हुन थालेको भन्ने आरोपका लागिरहेका बेला सेनाले आफ्नो प्रयोगका लागि मात्र उत्पादन गर्न लागेको दाबी गरेको छ ।

‘हामीले आफ्नो प्रयोगका लागि आवश्यक पर्ने बूटहरू आफैँले उत्पादन गर्न लागेका हौ,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘यसबाट सेनालाई पहिलेभन्दा आर्थिक भार कम हुने विश्वास लिएका छौं ।’

सेनाले अहिले आफूलाई आवश्यक पर्ने कपडाहरू पनि उत्पादन गर्दै आएको छ । सेनाले यसअघि नै मोजा, पञ्चल टोपी, उलनका थर्मकोट लगायतका पोशाकहरू उत्पादन गर्दै आएको छ ।

सेनाले २०७६ मंसिरदेखि ‘सूनाचरी इमल्सन प्लान्ट’ मार्फत वार्षिक २ हजार ४ सय मेट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । 

देशका ठूला आयोजनाहरूलाई आवश्यक पर्ने विस्फोटक पदार्थ उत्पादन गरेर ढुुवानी, सुरक्षा र भण्डारणको काम गर्ने गरेको प्रवक्ता भण्डारीले बताए । 

‘सुनाचरीबाट हामीले देशका ठूला आयोजनालाई आवश्यक पर्ने विस्फोटक पदार्थ उत्पादन गरेर ढुवानी, सुरक्षा  र भण्डारण गर्दै आएका छौं,’ प्रवक्ता भण्डारीले भने । 

सेनाले विषेश गरेर ठूला विद्युत् आयोजनालाई विस्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ ।

त्यति मात्र होइन सेनाले रिपुमर्दनी पानी र ‘स्वयम्भुनाथ’ स्यानिटाइजर पनि उत्पादन गर्दै आएको छ ।

आफूलाई आवश्यक पर्ने ग्रीनेट लगायतका सामग्रीहरू उत्पादन गर्न प्लास्टिक कम्पनी पनि सञ्चालन गरिरहेको छ ।

आफ्ना कर्मचारीका सन्तानहरू र आमनागरिकका लागि विद्यालय र कलेज समेत सेनाले सञ्चालन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्