
लगातार ५ खेलपछि सोझै १ दिवसीय विश्वकप छनोट खेल्न पाउने निर्णायक खेलमा नेपाल यतिखेर कीर्तिपुर क्रिकेट मैदानमा यूएईविरुद्ध खेलिरहेको छ ।
टस जितेर ब्याटिङ थालेको यूएर्ईले आक्रमक शुरूआत गर्दा नेपाल केही दबाबमा आएको थियो तर सन्दीप लामिछानेले १६.२ ओभरमा खतरनाक बनिरहेका मोहम्मद वासिमको विकेट लिएपछि नेपालले खेलमा फर्किने संकेत गरेको छ ।
निर्णायक र महत्त्वपूर्ण खेल रहेकाले पनि क्रिकेट समर्थक कीर्तिपुर मैदानमा ओइरिएका छन् । पूर्वदेखि पश्चिम नेपालसम्मका क्रिकेट समर्थन गाडी रिजर्भ समेत गरेर नेपालको निर्णायक खेल हेर्न कीर्तिपुरमा आएका हुन् ।
कीर्तिपुरमा २५ हजार बढी समर्थन उपस्थित भएको क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) ले जनाएको छ । बुधवार नै खेलको टिकट सकिएपछि क्यानले घोषणा गरेर घरघरबाट समर्थन गर्न आग्रह गरेको थियो ।
कीर्तिपुर मैदानमा खेल शुरू हुनुअघि नै हजारौं समर्थक पुगेका थिए । मैदानको दर्शकदीर्घामा ठाउँ नभएपछि मैदान परिसर बाहिरबाट मात्रै होइन, मैदान आसपासका रुखमा बसेर समेत समर्थकले टीमको हौसला बढाइरहेका छन् ।
नेपालले विकेट लिएपिच्छे समर्थकहरूमा थामिनसक्नुको उत्साह देखिन्छ ।
खेलाडीको हौसला बढाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कीर्तिपुर पुगेका छन् । विभिन्न बाजागाजासहित समर्थकहरू नेपाली टीममा उत्साह भर्न कीर्तिपुर ओइरिएका छन् ।








