
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
बुधवार नै पक्राउ पुर्जी जारी भए पनि उनलाई पक्राउ गर्न बाँकी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
रायमाझी बुधवार सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका थिए ।
अर्घाखाँचीबाट ‘काठमाडौं जाँदैछु’ भनेर निस्किएका रायमाझी अहिले सम्पर्कविहीन छन् । प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई भने बुटवलबाट बुधवार नै पक्राउ गरिसकेको छ ।
टोपबहादुर अर्घाखाँचीबाट भैरहवासम्म आएको सूचना प्रहरीलाई छ । त्यसपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
‘अहिलेसम्म उहाँ पक्राउ पर्नुभएको छैन,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकान्तरसँग भने ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रमुख एसएसपी डा. मनोज केसीले पनि टोपबहादुर पक्राउ परेको कुरा आफ्नो सूचनामा नरहेको बताए ।
‘अहिले (बिहान १०ः३०)सम्म पक्राउ परेको कुरा मेरो सूचनामा छैन,’ डा. केसीले भने ।
टोपबहादुरले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकट काटेका थिए । प्लेनमा यात्रा गरेको देखिएको छैन भने उनी अहिले मोबाइल अफ गरेर बसेका छन् ।
यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई काठमाडौं प्रहरी परिसरले बुधवार नै पक्राउ गरेको थियो ।
अपराध अनुसन्धान कार्यालयमा २०७८ माघमै यस सम्बन्धमा उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान गर्दा शक्तिशाली व्यक्तिहरूको नाम समेत तानिने देखिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालेको थियो ।
शुरूको उजुरी पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजाता कोइरालाका पीए रहिसकेका केशव दुलालले दिएका थिए । आफूलाई पैसा उठाउन लगाएर काम नगरेको भन्ने व्यहोराको उजुरी उनको थियो ।
पछि केशवलगायतका व्यक्तिहरूलाई समेत पोलेर पीडितका तर्फबाट उजुरी पर्यो । अनुसन्धानका क्रममा २०७९ चैत १३ गते प्रहरीले ३ जनालाई पक्राउ गर्यो । त्यो समयमा ८१ जना पीडितबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीहरूलाई सार्वजनिक गरिएको थियो ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २३ का ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्वरे नगरपालिका– १० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका– ७ का ४५ वर्षीय टंककुमार गुरुङ थिए ।
उनीहरूले एक जना व्यक्तिबाट १५ देखि २० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो ।
लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै यही प्रकरणमा मोरङको पथरी शनिश्चरे नगरपालिका– १० का ४४ वर्षीय सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
वैशाख ६ गते थप १० जना पीडितहरूले थप ५ करोड १९ लाख ९८ हजार रुपैयाँ सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राईलगायतले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।
उजुरी गर्नेमा मोरङ, कास्की, दाङलगायत जिल्लाका बासिन्दा छन् ।