
वाग्मती सफाइ महाअभियानले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र यसअन्तर्गतको आयोजनाका नाममा खर्च भइरहेको रकम पारदर्शी गर्न माग गरेको छ ।
महाअभियानले आज सहरी विकासमन्त्री धनबहादुर बुढालाई ज्ञापनपत्र बुझाउँदै समिति र आयोजनाका नाममा सुरुदेखि भएको खर्चबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो । समितिमा हुने अस्वाभाविक खर्चले नागरिकले सफाइ महाअभियानलाई नै प्रश्न गर्न थालेपछि अलग भएर सफाइलाई निरन्तरता दिइएको ज्ञापनपत्रमा उल्लेख छ ।
समिति र आयोजनाले गरेको खर्चको आरोप महाअभियानले खेप्नुपरेकै कारण अलग भएर अभियान चलाइएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।
अधिकार सम्पन्न समिति भनिए पनि अधिकारविहीन भई वाग्मती सफाइमा प्रभाव परेकाले समिति खारेज गरी आयोजनालाई जिम्मेवार बनाउनुपर्ने महाअभियानको माग छ । आयोजनाले काम गर्दा ठेक्का नलगाई समुदायलाई जिम्मेवार बनाएर काम गराउनपूर्व सचिवसमेत रहेका सफाइ अभियानकर्मी किशोर थापाले अनुरोध गरे ।
महाअभियानका तर्फबाट थापाले बुझाएको आठबुँदे ज्ञापनपत्र बुझ्दै सहरी विकासमन्त्री धनबहादुर बुढाले १२ वर्षदेखि निरन्तर चलिरहेको महाअभियानले खुसी भएको उल्लेख गर्दै परिणाम आउने गरी अधिकार सम्पन्न वाग्मतीको काम गराउने प्रतिबद्धता जनाए ।