२३ जेठ २०८३, शनिबार

आकर्षक रोजगारी भन्दै नेपालीलाई द्वन्द्वग्रस्त क्षेत्रमा पठाइँदै, सचेत हुन परराष्ट्रको आग्रह

साउन १३, २०८०
काठमाडौं
आकर्षक रोजगारी भन्दै नेपालीलाई द्वन्द्वग्रस्त क्षेत्रमा पठाइँदै, सचेत हुन परराष्ट्रको आग्रह

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी तथा तलब, सुविधाको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको पाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै मन्त्रालयले त्यहाँ पुर्‍याएर तलब, सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको जनाएको छ ।

‘यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानूनी रूपमा थाइल्यान्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानी समेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगी लगायतका गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको छ,’ सूचनामा उल्लेख छ, ‘यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने गर्नुभएको छ ।’

नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीको उद्धार गरिसकेका र थप नेपालीको उद्धारको प्रयास भइरहेको जनाइएको छ । तर म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकाले उद्धार गर्न समेत चुनौतीपूर्ण रहँदै आएको जनाइएको छ ।

यसरी नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झूटा आश्वासनमा नपर्न नेपाली नागरिकलाई मन्त्रालयले अनुरोध गरेको छ ।

विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानूनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान परराष्ट्र मन्त्रालयको अनुरोध छ ।

‘यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्नहुन र आफैंले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेवसाइट/टेलिफोन/इमेलमार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यहरूमा संलग्न हुने/गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकोले यस्ता गैरकानूनी कार्यहरू नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । उल्लिखित विषयहरू लगायतका सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली राजदूतावास, बैंकक तथा यांगुनको इमेल [email protected][email protected]  टेलिफोन नम्बरहरू +66-869915554, +95-1-545880 र +95-1-557168 तथा फेसबुक पेज Embassy of Nepal in Bangkok, Embassy of Nepal in Yangon Myanmar मा सम्पर्क गर्न अनुरोध गरिन्छ।’

salt training

कमेन्ट गर्नुहोस्