
नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जना धरौटीमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले बिहीवार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश सृधराकुमारी पुडासैनीको संयुक्त इजलासले डा कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
गत असोज ४ गते मोरङ जिल्ला अदालतले डा कर्णसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई पुर्पक्षका लागि जेल चलान भएका थिए
नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरूले पाँच लाख रुपैयाँमा शिशु बिक्री गरेको खुलेको थियो । जसमा संग्लग्न डा कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीनजना धरौटीमा रिहा भएका थिए । त्यसबेला मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटी रकम बुझाउन लगाएर रिहा गरिएको थियो । पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै उच्चमा पुनरावेदन दिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले डा कर्णसहित ६ जना प्रतिवादीविरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा छोरी जन्मिएकी थिइन् ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । डा कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।
कर्णको क्लिनिक ग्रीनक्रस अस्पतालनजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु पाँच लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।