भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छिन् ।
भरतपुर महानगरको आयोजनामा शुरू भएको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई शुक्रवार सम्बोधन गर्दै उनले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको बताइन् ।
‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरिसकेको छ’, उनले भनिन्, ‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ । विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुर्याउँछ ।’
प्रमुख दाहालले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा निर्माण गर्ने गरी रंगशालाको निर्माण कार्य अगाडि बढाउन लागेको स्पष्ट पारिन् ।
पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, पेभिलियन, टावर र १५ हजार अट्ने प्याराफिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाइ छ ।
बागमती सरकारले ५३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको र संघीय सरकारले पनि यही अनुपातमा चालू वर्षमा बजेट विनियोजक गर्नेमा आफू विश्वस्त रहेको प्रमुख दाहालले बताइन् ।
अबको एक हप्ताभित्र रंगशाला निर्माणको टेण्डर आह्वान गर्ने तयारीका साथ कामलाई अघि बढाइएकाले छिट्टै निर्माणको काम शुरू हुने उनको भनाइ थियो ।
‘भरतपुर महानगरपालिका खेलकुदको हबको रुपमा विकास हुँदै गएको छ’, उनले भनिन्, ‘विशेष गरी क्रिकेटको खेलको हब नै भइसकेको छ । भरतपुरमा दैनिक जसो राष्ट्रिय स्तरको खेलकुद भइरहेको छ। नेपालको क्रिकेटको भविष्य राम्रो छ ।’
बागमती प्रदेशको आयोजनामा फागुनमा हुने खेलमा ४९ जिल्लाबाट ५ हजारभन्दा बढी खेलाडी र प्रशिक्षकहरू भरतपुर आउन लागेकाले भरतपुर खेलकुदमय हुने उनले जानकारी दिइन् ।
सन् २०२७ मा नेपालमा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समन्वय गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद र क्यानलाई आग्रह पनि गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
रंगशालाको निर्माणकाको लागि राष्ट्रिय खेलकुद परिषद् सकारात्मक रहेको र त्यसका लागि थप प्रकृया अघि बढाउने उनले बताए ।
यस्तै नेपाल क्रिकेट एशोसियसन (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै प्रशिक्षण गर्न सकिने बताए । यो विषयमा क्यान एकदमै सकारात्मक रहेको सचिव खड्काको भनाइ थियो ।
भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रवारदेखि लिग चरणको नकआउट खेल शुरू भएको छ ।
प्रत्येक शुक्रवार र शनिवार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा क्रिकेट एशोसिएसन चितवनको प्राविधिक सहयोग रहने छ भने एक्सपोर्ट एजुकेसन एन्ड भिसा सर्भिसले प्रायोजन गरेको छ ।
प्रतियोगिता ३ महिनासम्म चल्ने महानगरपालिकाले जनाएको छ ।