
सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ । शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ ।
परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ भनेको छ ।
अन्य निष्कर्षमा सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा टाइप २ मधुमेहमा वृद्धि समावेश छ । पछिल्लो पाँच वर्षमा टाइप २ मधुमेह २२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदनका लेखकहरूले सम्भावित कारणहरूमा ‘गरिबी र अभावको चकित पार्ने स्तर’ तथा ‘खाद्य उद्योगद्वारा सस्तो पत्रु खाना (जङ्क फुड) को आक्रामक प्रचार’ रहेको बताएका छन् ।
लेखकहरूले मुलुकको हालको जीवनयापन सङ्कट लागतले धेरै परिवारलाई स्वस्थ, पौष्टिक खाना उपलब्ध गराउने सङ्घर्षलाई ‘तीव्र’ बनाएको बताएका छन् ।
पूर्वसरकारी खाद्य सल्लाहकार हेनरी डिम्बलबीले प्रतिवेदनमा यो गिरावट ‘चकित पार्ने र अत्यन्त दुःखद’ भएको बताए ।