![छानबिन शुरू भएपछि ट्रान्सफर्मरको झार उखेल्दै प्राधिकरण, प्रमाण मेट्न साढे ३ करोड खर्च [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Transformer_Hetauda_3_H0vaDce2t3.jpeg)
कमिसनका लागि खरिद गरिएका अर्बौंका ट्रान्सफर्मरमा झार उम्रेको र खिया लागेको भन्दै सार्वजनिक लेखा समितिमा परेको उजुरीमाथि छानबिन शुरू भएपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रमाण नष्ट गर्नतर्फ लागेका छन् ।
खरिपाटीमा राखिएका ट्रान्सफर्मरको विजोगबारे लोकान्तरमा समाचार प्रकाशित भएपछि लेखा समितिमा उजुरी परेको थियो । त्यसपछि लोकान्तरले हेटौंडामा राखिएका ट्रान्सफर्मरको विजोगबारे समेत समाचार प्रकाशित गरेको थियो ।
अहिले घिसिङको निर्देशनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित प्राधिकरणको सामग्री व्यवस्थापन विभागले महंगा ट्रान्सफर्मर सुरक्षित स्थानमा सार्ने, झार उखेल्ने र खिया मेटाउने काम गरिरहेको छ ।
'हेटौंडामा ट्रान्सफर्मरको शहर बनाएको' आरोप लागेका घिसिङले आफ्नो अघिल्लो कार्यकालमै खरिद गरेर खुला आकाशमुनि राखिएका ट्रान्सफर्मरलगायतका सामानलाई अन्यत्र राख्न निर्देशन दिएका हुन् । त्यसका लागि पुनः करोडौं खर्च गरिएको छ ।

स्टोर प्रमुख रमेश पराजुलीले भने, 'हामीले साढे ३ करोड बराबरको लागतमा बाटो र खुला स्थान बनाइरहेका छौं । खरिद गरेर राखिएका सामानलाई हावापानीबाट जोगाउने काम भइरहेको छ ।'
उनले केन्द्रीय कार्यालयको निर्देशनबमोजिम असोजभित्र सबै काम सम्पन्न गरिसक्ने पनि बताएका छन् । जेठमै शुरू भएको मनसुन अहिलेसम्म जारी छ । अहिलेसम्म अलपत्र छाडिएका अर्बौंका सामानहरू हावापानीले कमजोर र कामै नलाग्ने भइसकेका छन् ।

असोजभित्र सबै सामग्रीलाई हावापानीबाट सुरक्षित राखिसक्ने गरी काम गरिएको पराजुलीले बताए । बिहीबार स्टोरमा पुग्दा धमाधम काम भइरहेको थियो । सामग्री राख्न शेड बनाउने, बाटो बनाउने र झारपात सफा गर्ने काम हुँदै थियो । त्यहाँ काम गरिरहेका एक कर्मचारीले भने, 'पहिला त खत्तम नै थियो नि, अहिले एक महिना हुन लाग्यो, काम धमाधम भएको छ ।'
लोकान्तरले भदौ १३ गते 'प्राधिकरणको बदमासी– कमिसनका लागि किनिएका अर्बौंका ट्रान्सफर्मरमा झार' शीर्षकमा भिडियोसहितको समाचार प्रकाशित गरेको थियो ।

त्यस्तै, भक्तपुरको खरिपाटीमा पनि अर्बौंको ट्रान्सफर्मर अलपत्र परेको भन्दै लोकान्तरले गत वैशाख २५ गते 'जग्गा टुंगो नलाग्दै कमिसनको लोभमा ५ वर्षअघि किनिएको ६ अर्बको ट्रान्सफर्मरमा खिया' शीर्षकमा अर्को समाचार पनि प्रकाशित गरेको थियो ।
यसबारे सार्वजनिक लेखा समितिमा पनि उजुरी परिसकेको छ । सार्वजनिक लेखा समितिमा परेको उजुरीमा एक वर्षमा डेढ अर्बभन्दा बढीको सामान खरिद गरेर स्टोरमा राख्न नपाइने भएपनि करिब २० अर्ब बराबरको ट्रान्सफर्मर किनेर हेटौंडा, भक्तपुरको खरिपाटीलगायत स्थानमा अलपत्र पारेको आरोप लगाइएको छ ।
२०७८ भदौ २२ गते हालका प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ट्रान्सफर्मर खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
'एमालेको सरकारभन्दा अगाडि डुब्लिकेट ट्रान्सफर्मर ल्याइयो । हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा शहर छ,' ओलीले भनेका थिए, 'पैसा हालेर किनियो, अनि काम नलागेर राखेको ट्रान्सफर्मरको शहरैजस्तो भएको छ ।'

ओलीले भ्रष्टाचार गर्ने मान्छे खोजी–खोजी ल्याएर प्राधिकरणको जिम्मा दिएको भन्दै तत्कालीन सरकार 'बहादुर' रहेको टिप्पणीसमेत गरेका थिए ।
त्यतिबेला घिसिङ कार्यकारी प्रमुख बनेर प्राधिकरणमा दोस्रोपटक छिरेका थिए । उनीमाथि पहिलो कार्यकालको अन्तिमतिर २० अर्ब बराबरको ट्रान्सफर्मर खरिद गरेर अलपत्र पारेको आरोप लाग्दै आएको छ ।
घिसिङको अघिल्लो कार्यकाल २०७७ भदौमा सकिएको थियो । त्यतिबेला ओली नेतृत्वको सरकारले घिसिङको कार्यकाल नवीकरण नगरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुख बनाएको थियो ।
समितिमा ट्रान्सफर्मर अलपत्र पारेको लगायत अन्य १० वटा उजुरी परेका छन् । ती उजुरीमाथि छानबिन भइरहेको सभापति ऋषिकेश पोखरेलले बताए ।
'१० वटाभन्दा बढी उजुरी परेका छन्,' उनले भने, 'त्यसको छानबिन हुँदैछ । आगामी बैठकमा यसबारे वृहत् छलफल हुन्छ ।'
प्राधिकरणले भने अत्यावश्यक र चाहिने सामान मात्र खरिद गरिएको दाबी गर्यो ।
एक उच्च कर्मचारीले भने, 'खरिद ऐनअन्तर्गत नै सामान किनिएको छ । यसमा गैर-कानूनी भन्ने केही छैन । गैर-कानूनी केही भएको भए सम्बन्धित निकायले छानबिन गरोस्, सघाउन हामी तयार छौं ।'
अर्बौंको अनियमितता गरेको, सम्पत्ति आफ्नो परिवारका अन्य सदस्यको नाममा जम्मा गरेको, खरिद र ठेक्का प्रक्रियामा गोलमाल गरेको भन्दै दर्जनौं उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिसिङमाथिको छानबिन तीव्र बनाएको छ ।
त्यस्तै उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागले पनि छानबिन थालेको छ ।
भिडियो :
थप तस्वीर :


पढ्नुहोस् सम्बन्धित अन्य समाचार :
कोशी कोरिडोर सबस्टेसन ठेक्कामा अनियमितता: कुलमानको स्वार्थमा राज्यलाई ५७ करोड नोक्सानी
उत्कर्षमा ट्रंकलाइन विवाद : विद्युत् प्राधिकरणको जबरजस्तीले त्रासमा उद्योगी
स्मार्ट मिटरमा घोटाला: ६ गुणा महंगो तिरेर २ अर्बमाथिको खरिद, कुलमानमाथि अख्तियारको छानबिन
दाइको लगानी भएको कम्पनीलाई कुलमानको उपहार: ४ करोडमा हुने काम रोकेर १३ करोडमा नयाँ ठेक्का !
प्राधिकरणमा अनियमिताको चाङ : कानून मिचेर गरेको खरिदले एकै वर्षमा ८४ करोड नोक्सानी
सोलार ग्रिडमा ६८ करोड झ्वाम: आफूखुसी ठेकेदार रोजेर पौने ४ अर्बको ठेक्का [प्रमाणसहित]
जग्गा टुंगो नलाग्दै कमिसनको लोभमा ५ वर्षअघि किनिएको ६ अर्बको ट्रान्सफर्मरमा खिया
विद्युत् प्राधिकरणभित्र २५ भन्दा बढी 'मिनी प्राधिकरण': सबैको अध्यक्ष घिसिङ, जताततै मनोमानी
प्राधिकरणको वित्तीय स्वास्थ्य खराब– देखाइएको नाफा झुटो, ठेकेदारलाई बुझाउन पेन्सन कोषको रकम
३ लाख बजेट छुट्याइएको आयोजनामा १३ करोड खर्च, प्रगति एक प्रतिशतभन्दा तल
लाल आयोगको प्रतिवेदन: चौबीसै घण्टा विद्युत् आपूर्ति नभएको दिनलाई डेडिकेटेड मान्न मिल्दैन
महालेखाले भन्यो – प्राधिकरणको मिटरबाट 'टीओडी' डाउनलोड भएन, अर्बौंको हिसाब मिलेन
मन्त्रिपरिषदको 'कीर्ते' निर्णय कार्यान्वयन गर्न कुलमानको हतारो, समिति नै बनाएर दौडधूप
उद्योगहरूमा फेरि कुलमान आतंक– गैरकानूनी बिल पठाएर 'असुली'का लागि ताकेता
नक्कली ट्रान्सफर्मरको शहर' बनाएका कुलमान- सत्ता समीकरण फेरिएसँगै उद्योगी तर्साउने खेलमा
विद्युत् महसुलमा कुलमानको अस्वाभाविक 'ढिपी' र जबरजस्ती भ्रम छर्ने प्रयास
हातैले भरेको 'एक्सेल शीट'लाई कुलमानले टीओडी मिटरको तथ्यांक भनेपछि...