चञ्चले सुगन्धासँग ठोक्किँदा ...

मिर्मिरे बिहानै सुगन्धाले फोन गरिन् । त्यति राम्रो आवाज त सुनिएको थिएन, सायद नेटवर्कमा समस्या थियो । तै पनि केही–केही शव्दहरू प्रस्टै सुनिन्थ्यो । कहिल्यै बिहान फोन नगर्ने सुगन्धाले किन आज यसरी एकाबिहानै फोन गरिन् ? सोच मग्न भएँ ।

फोनमा सुनिएको आवाज अलि हतास भएजस्तो लाग्थ्यो । तै पनि उनीसँगको संवाद सामान्य हुँदै थियो । बोलीचालीका शव्द अति नै सामान्य थिए । स्वरमा हतास सुनिएपनि शव्द साधारण थिए । प्रायः दिउँसै सुनिने ‘चिया खानुभो’ भन्ने आवाज आज बिहानै पनि सुनिएन ।


Advertisement

‘केही दिनका लागि म बाहिर जाँदैछु, फुर्सद भए रेस्टुराँमा एक कप चिया खान फुर्सद निकाल्नुस् है,’ उनले भनेको सुनियो । ‘किन आजै जाने ?’ मैले सोधे तर उताबाट आएको जवाफ केही बुझिएन । यत्तिकैमा टेलिफोन विच्छेद भयो ।


Advertisement

उनले बाहिर जाने कुरा सुनाउनलाई बिहानै सम्झिइन् भन्ने त बुझें तर बाहिर जाँदा मलाई किन सुनाउनु ? मनमा जवाफ भेटिएन । बाहिर जाने उनको निजी निर्णय हो, निजी जीवन हो । ‘केही नभनेर गइछे’ भन्छन् कि भन्ने सोचेर पो फोन गरिन् कि ! मनमा खुब कुरा खेल्यो । हिजो बेलुकीसम्म त बाहिर जाने विषय आएको थिएन । किन अकस्मात बाहिर जाने कुरा आएछ ? मनमा कुरा मडारिन थाले ।
फेरि मनमा कुरा खेल्न थाल्यो – घर जाने कुरा हो कि अन्त कतै ? बाहिर भन्या कता होला ?

... ... ... ...

शनिवारको दिन पश्चिमे हावा खुवसँग बतासिएको थियो । म बरन्डामा बसेर बाहिर नियालिरहेको थिएँ । आँपका बोटमा स–साना दाना लाग्न थालेका थिए । बोटै एकैनासले आँखा नझिम्काई हेरौ–हेरौ जस्तो लाग्ने अवस्था थियो । मौरी र भमराहरू पातपातमा डुल्दै थिए । वातावरण खुब रमाइलो थियो । हावाको बेगले स–साना आँपका दानाहरू एकअर्कामा ठोक्किँदै चचहुइँ–चचहुइँ गरी रमाइरहेका थिए । ठुलो आँपको दानाले सानो आपको दानामा ठोक्किँदा कति खेर ठूलो दाना नै भुइँमा खस्थ्यो भने कतिखेर सानो दाना नै तल खस्थ्यो ।

फूलहरू सबै हावासँगै धुलो भएर परसम्म उडिरहेका देखिन्थे । यो प्रकृतिको अनुपम नियम नै होलाजस्तो लाग्थ्यो । किन आँप फुल्ने समयमा पश्चिमे हावा आउने, किन स–साना दानाहरूलाई कलिलैमा मृत्युवरण गराउने ? यो निर्दयी हावाले वनस्पतिमाथि शक्तिको बुट बजारेको देख्दा सानोमा हजुरआमाले सुनाएको देवता र राक्षसको कथाजस्तो लाग्थ्यो ।

म यही पश्चिमे हावासँगै बहकिँदै धेरै माइल पर पुगेछु । बिहान–बिहानै हावाले साम्राज्य फैलाउँदै सारा संसारलाई आफ्नो अधिनस्थ पारेको देख्दा मैले डार्बिनको ‘सर्भाइभल अफ द फिटेस्ट’लाई सम्झन पुगे र आफ्नो अनुहारमा फुस्फुसाएको धुलोलाई दाहिने हत्केलाले टक्टकाउँदैभित्र पसे । कपडाभरि आँपको चोपले टाटै–टाटा । कपडा हेर्दा लाग्थ्यो ‘आइफेल’ टावर नजिकै बसेका लियो नार्दो दा भिन्चीका अनुवायीहरूले चित्र कोर्दा लागेका छिटाजस्तै । म लामै समय टोलाएछु ।

... ... ...

चिया पिउने बहानामा उनको मनका कुराहरू सबै सुनाउँछिन् कि भन्दै रेस्टुराँतर्फ लागें । बिहानै थियो, खासै रेस्टुराँ खुलेका थिएनन् । अलि पर रातो स्कुटीमा सरर गरेर सुगन्धा रेस्टुराँमा पसेको देखें । टाउकोबाट रातो हेल्मेट निकाल्दै सुगन्धाले खैरो रंगाइएको कपाल सपक्क पार्दै रेस्टुराँभित्र छिरिन्, लगत्तै म पनि पुगे । हातमाथि उठाउँदै पश्चिमा शैलीमा ‘हाई’ गरिन् उनले । टेवलतर्फ इशारा गर्दै उनले बस्न अनुरोध गरिन् । 

हुन त म पूर्वीय संस्कृतिमा हुर्के–बढेको मान्छे, पश्चिमी संस्कृतिको ‘हाई’लाई खासै जवाफ फर्काउन सकिनँ । उ पनि सधैं नमस्कार गर्ने मान्छे, अनायासै ‘हाई’ शव्द र शैली देखाइन् । पक्कै पनि स्वभावमा केही न केही फरक परेछ रातभरमा ।

दुवैलाई एकले अर्कालाई सामुन्ने देखिने गरी टेबलका दुई ध्रुवमा बाँडिएर बसेका थियौं । तानमा बुनेको पाल्पाली ढाकाको पर्स र कालो गगल्स टेबलमा राखेकी थिइन् उनले । वेटरले पानी दिँदै सोधे – चिया कि कफी ?

उनी हल्का झस्केझैं भएकी थिइन्, सँगै थिइन् अर्की साथी । वातावरणलाई सुमधुर बनाउनका लागि मैले सोधे – उनी चाहिँ को हुन् सुगन्धा ? 

उनको आँखा रातभर खुब रोएझैं गरी राता–राता र खुब सुन्निएका थिए । आँशु बगेका ल्याग्राहरू गालासम्म सजिलै देख्न सकिन्थ्यो । चियाको चुस्कीसँगै उनले साथीको परिचय दिँदै भेट्न आउनुको कारण बताउन खोज्दै थिइन्, एक्कासी उनकी साथीले भनिन् – हेर्नु न, उ रातभर सुतेकी छैन, खाली नचाहिँदा–नचाहिँदा कुरा मात्र गर्छे, कति सम्झाएँ सम्झिन्न । के गर्ने, के गर्ने ? यसको पारा देखेर त म अचम्म भएकी छु ।’
‘हेए त चुप’ भन्दै सुगन्धाले साथीलाई झपारिन् ।

‘अ अनि कुरा चाहिँ के हो ?’ मैले सुगन्धातर्फ हेर्दै प्रश्न राखें । सुगन्धाले अलि भावुक भएर प्रश्न तेस्र्याइन् – यो संसारमा मानिस किन जन्मन्छ ?

मलाई लाग्यो – यो सानोतिनो प्रश्न थिएन । मजस्तो साधारण र अनपढ भएको प्राणीलाई यो प्रश्नको गहिराइ त के ? छेउसम्म पनि पुग्ने आँट थिएन । वास्तवमा मेरो लागि असाधारण प्रश्न थियो यो – साधारण मान्छेसामु झरेको असाधारण प्रश्न ।

आजसम्म कुनै दर्शनका किताब नपढेको मजस्तो निरीहलाई दर्शन शास्त्रीय प्रश्नले अक्क न बक्क पार्‍यो । सुगन्धालाई मैले प्रश्न सहज पार्ने कोसिस गर्दै भने – मान्छे किन जन्मिन्छ भन्ने प्रश्नको उत्तर त मसँग छैन तर संसारलाई निरन्तरताका लागि प्राणी वनस्पति सबै जन्मन्छन्, मर्छन् । 

सुगन्धा यो एउटा चक्र हो, गौतम बुद्धले भनेझैं  बालापन, युवक, वृद्ध र अन्त्यमा जीवनको इहलीला समाप्त हुँदै मर्छन् । जन्मेपछि मृत्यु अवश्यम्भावी छ । जहाँसम्म मलाई लाग्छ मान्छे आफ्नो इच्छाले जम्मँदैन, आमाबुवाको इच्छा र चाहनाले जन्मन्छ अनि जन्मेको बालकका आफ्ना इच्छा र चाहना हुन्छन्, ती इच्छा र चाहना आमाबुवाभन्दा फरक पनि हुन सक्छन् ।

सुगन्धाले फेरि प्रश्नको वर्षा गरिन् – मान्छे आफू किन जन्मियो, त्यो पनि थाहा नहुने भएपछि के सार भयो र जीवनको ? जन्मेको राज थाहा नपाउने मानिसले चाहेको बेला किन मर्न सक्दैन ? किन मर्न नपाइने ? के यो जीवन बाध्यकारी हो ? स्वास नजाउन्जेल बाँच्नुपर्ने बाध्यता हो ? मान्छे आफ्नो इच्छाले नजन्मेको हुँदा इच्छामरण नभएको हो ? 

हुन त मसँग यी सबै प्रश्नको अचुक उत्तर पनि थियो तर म त्यो उनलाई भन्न सक्दिनथें । उनका जीवन र जगतप्रतिको दार्शनिक हेराइलाई म सानो संकुचित विचारले बाध्न चाहन्नथें । यो सबै भगवानको कृपा हो, जे भगवान चाहनुहुन्छ, त्यै हुन्छ भनेर म भन्न चाहन्नथे किनकि उनी सच्चाइको गहिराइमा पुगून् भन्ने नै थियो ।

सुगन्धाकी साथीले भनिन्– हेर्नु न हिजो मलाई कोठामा अनेक किसिमका प्रश्न गरेर विक्षिप्तै पारी । अझ राति त रुँदै अत्तो न पत्तोको कुराहरू डायरीमा नोट गरेकी छ । कति उसका कुरा मैले बुझ्न सकिनँ । कति उसले बुझाउन सकिन । ती बुझ्न नसकेका हरफहरू उसले कोरेर राखेकी छ । भन्दै थिई – तपाईंले उसका चाहनाका डोबहरूलाई पुरिदिन सक्नुहुन्छ रे ! तपाईं यी सबै विषयवस्तुको गहिराइसम्म पुग्न सक्नुहुन्छ रे ! 

... ... ...

चिया चिसो भइसकेको थियो । सुगन्धाले एकै स्वासमा चिया घुटुक्कै पार्दै अझै गम्भीर प्रश्न गर्न लागेकी थिइन् । उनको हाउभाउ हेर्दा मैले कुनै प्रश्नको उत्तर दिन सक्ने अवस्था थिइनँ । मैले सोधे – सुगन्धा तिमी त बाहिर जाने भन्दै थियौ नि ? कहाँको यात्रा हो ? ‘खोई कहाँसम्म हो कहाँसम्म हो,’ उनले मन नलागी–नलागी उत्तर दिइन् । 

‘सुगन्धा यो के तरिका हो ? मोही माग्ने ढुंग्रो लुकाउने ?’ मैले अलि कडा शव्दमा प्रतिवाद गरे ।

सुगन्धाले बोली खोलिन् – खै किन हो किन ? एक पटक गाउँ जाउ–जाउ लागेको छ । ती वनस्पति, ती गाउँमा बग्ने सानी नदी । गाउँघरका कैली गाई, काली बाख्रीको खुब याद आएको छ । तिनीहरूले मलाई खुब सम्झेझै लाग्छ । घरीघरी सम्झन्छु, तिनीहरू र मेरो के साइनो होला ? किन मलाई सम्झन्छन् ? त्यो छङ्गछङ्ग बग्ने सानी नदीले मलाई किन बोलाएकी होलिन्, सधैं साँझ परेपछि खुब सुसेल्छिन् । हिजो भन्दै थिइन् – सुगन्धा तिमी कता हरायौ ? त्यो परिवेशले मलाई खोजेझै लाग्छ । त्यै नदीको पानी खुब बोकेकी थिएँ गाग्रामा । अब त त्यो गाग्रो पनि फुट्यो होला । त्यै गाग्राको खबटालाई पनि हेर्न मन छ । त्यो गाग्राले खुब पानी खुवाएको थियो, त्योसँग मेरो अनन्य सम्बन्ध छ । नदी जाने बाटोमा साना–साना बुट्यानहरू थिए । नदी जाँदा खुब मलाई कपाल तानेर जिस्क्याउँथे । अब त तिनीहरू पनि ठूला भए होलान् । मेरा कपाल र पछ्यौरी तान्दैनन् होलान् । सुगन्धा तिम्रो खुट्टामा खोई चप्पल भन्दै काडाहरूले घोच्थे, जिस्क्याउँथे, ती काडाहरू पनि अब त बुढा भए होलान्, मरे होलान् । तर मजस्ताकी त्यस्तै छु । तिनलाई फर्किएर एक पटक पनि हेर्न गइनँ, खुब रिसाएजस्तो लागेको छ । त्यो वातावरण, त्यो परिवेशमा निथ्रुक्क भिज्ने गरी उनीहरूसँग लुकामारी खेल्न मन लागेको छ । जीवनका उत्तरार्धमा उनीहरूसँगै भलाकुसारी गर्न मन लागेको छ । 

मैले उनलाई बीचमा रोक्न खोजे – सुगन्धा तिमी अलि बढी भावुक बन्यौजस्तो लाग्यो । तिमी आजै जाने विचार गर्‍यौ कि १–२ दिनपछि ? उनको परिवेशप्रतिको भावुकतालाई चिर्दै मैले मूल प्रश्नमा केन्द्रित गराए ।
‘जाने त आजै हो तर तपाईंलाई पनि साथै लिएर जान मन छ,’ उनले निसंकोच मलाई हेर्दै स्पष्ट रुपले भनिन्, ‘यात्रा लामो छ, आज बेलुकी हिँड्दा भोलि बिहान मात्र घर पुगिन्छ । एक्लै हिँड्न हुँदैन भन्छन् । जाऊ है तपाईं पनि ।’ 

मलाई यो कुराले निकै अप्ठ्यारोमा पार्‍यो । उनकी साथीले के सोचिन् होला ? किन उनलाई जाऊ भनिनन् होला ? मेरो अुनुहार एक्कासी धुवाले भरिएको वायूमण्डल जस्तो भयो । निस्पट्ट अँध्यारो देखिन थाल्यो, धुवाको लप्काले मेरा आँखा राता–राता हुँदै पोल्न थालेका थिए । काँचो दाउरा पोलिएर निस्किएको धुवाले मन विक्षिप्त रुपमा स्वास फेर्न गाह्रो भएझैं बनायो । के भन्ने, के नभन्नेजस्तो भयो ।

मसँग जम्मा २ वटा मात्र विकल्प बाँकी रहे । कि त हुन्छ भन्नुपर्‍यो कि हुन्न भन्नुपर्‍यो । हुन्छ भन्नलाई पनि कि आत्मीय साथी हुनुपर्‍यो, आजसम्म मेरो कोही आत्मीय साथी नभएको हुँदा ‘हुन्छ’ भन्न ओठ कापिरहेका थिए । ‘हुन्न’ भन्न त झन् ठूलै साहस जुटाउनुपर्ने अवस्था थियो । जीवन र जगतको दार्शनिक विषयमा उनका प्रश्नको निरुपण भएकै थिएन, ‘हुन्न, म जान सक्तिनँ’ भन्दा पनि उनी विक्षिप्त हुन्छिन् कि ? उनको इच्छामा घात पुग्छ कि ? फेरि एक मनले सोच्छु कसरी जाने ? के भनेर जाने ? किन जाने ? कि नजाने ? म आफैं पनि परस्पर द्विविधामा थिएँ । उनको अनुहार यसो छड्के नजर गरेर हेरेको ‘जान्छु’ भनोस् भन्ने आषय स्पष्टै रुपमा पढ्न सकिन्थ्यो, घोसे मुन्टो लगाएर एक हातका औला अर्को हातले भाँचिरहेकी थिइन्, निःशव्द, सन्नाटा छाएको थियो ।

‘सुगन्धा तिमी एक्लै जाँदा राम्रो तर तिमीले जाऊ नै भनेपछि जान पनि तयार छु,’ हिम्मत जुराएर पानी पिउँदै मैले भने । उनी खुशीले प्रफूल्ल भइन् । आजै जाऊ है भन्दै जाने समयलाई छोट्याउन थालिन् । मैले ‘हुन्छ’ भन्नै भ्याएको थिइनँ, उनले थप छिटो–छिटो नदी बगेझैं गरी शव्दहरूलाई बगाइरहेकी थिइन् – टिकट काट्नुपर्दैन, उतै गाडी भएकै ठाउँ पुगेपछि दिए नि हुन्छ । अँ साँच्ची तपाईंसँग भाडा छ ? छैन भने नि केही छैन, मसँग छ नि ! अँ साँच्ची तपाईंसँग ब्याग त छ ? छैन भने नि केही छैन, मसँग छ, ठूलै खालको पोहोर साल किनेको ब्याग छ । तर चेन बिग्रेर बनाएको छैन, तैपनि केही छैन नि ! 

मलाई बोल्न नदिइकन उनी फटाफट बोलिरहेकी थिइन् । लाग्थ्यो सुगन्धा म जाने विषयले होला हौसिएकी थिइन् । एकदमै खुशी, उत्साही देखिन्थिन् । उनका ती रातभर सुन्निएका आँखा एकाएक काला र बदामे रुपमा परिणत भए । उनका ती लेघ्रा परेका गाला हेर्दाहेर्दै एकाएक रुपान्तरित भए । अब त म यस्तो दलदलमा फसें, न निस्किन सक्छु, न यही दलदलमा परेर कमलझैं हाँस्न सक्छु । मन त्यसै कुडिएको थियो ।

जान मन कत्ति पनि थिएन, बाध्यताले हुन्छ भन्न मात्र खोजेको थिए । त्यसमाथि पनि उनले जान्छुभन्दा के भन्छिन्, के प्रतिक्रिया दिन्छिन् भनेर मात्र तिमी एक्लै जाँदा राम्रो तर तिमीले जाउ नै भनेपछि जान पनि तयार छु भनेको मात्र थिए ।

... ... ...

त्यत्तिकैमा रेस्टुरेन्टमा एक्कासी मान्छेको भागदौड भयो । हामी बसेको टेबल पनि त्यसै–त्यसै कापेझै भयो । पानीको गिलास हल्लिएर भुइँभरि पोखियो । लाग्थ्यो साना–साना अन्तरालमा बग्ने गंगाका छाल मध्यदिनमा सूर्यले रौद्ररुप देखाएझैं गरी आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरी छालले धकेलिरहेकोजस्तो भयो । चिच्याहट र बर्बराहटको आवाजले गगन फाटेझैं भीमकाय कम्पन थियो । धुवा–धुलो र पतिङ्गर वायूमण्डलमा मडारिरहेको आभास हुन्थ्यो ।

यसो हेरेको सुगन्धा त्यहाँ थिइनन्, उनको रातो स्कूटी भुइँमा लडिरहेको थियो । पेट्रोल पोखिएर गन्ध आइरहेको थियो । चप्पल र जुत्ताहरू यत्रतत्र छरिरहेका देखिन्थे । छेउको पर्खाल लडेर त्यो रातो रंगको हेल्मेट कच्याककुचुक देखिन्थ्यो । उनी पनि त्यो कोलाहल र भागदौडमा सँगै भागिछन् जस्तो लाग्यो । उनको सानो नोकिया फोन फुटेर व्याट्री एकतिर, सीम अर्कोतिर र बाहिरी कभर अर्कोतिर छरिरहेको त्यो धुवा र धुलोबीच देख्न सकिन्थ्यो । पाल्पाली ढाकाको तिन्को त्यो पर्स टेबल उछिटिँदा चश्मासँगै उछिट्टिएछ । रेस्टुरेन्टका वेटरहरू कतै देखिएनन्, सायद घाइते भएर अस्पताल गएछन् कि ? स्थिति यस्तो थियो कि के भएको हो ठम्याउन निकै गाह्रो भएको थियो । 

गेटको नजिकै सुगन्धाले ओढ्ने हरियो रंगको पछ्यौरी आधा च्यातिएकोजस्तो देखें, आधा अलि पर आलो रगतले लतपतिएको देख्दा मन त्यसै विछिप्त भयो । ‘मान्छेको किन इच्छामरण हुँदैन ?’ भन्थिन् सुगन्धा, नियतिले प्राण चुडेझैं लाग्यो । बाहिरपट्टि मान्छेको भागदौड चलिरहेको थियो । म पनि त्यही भागदौडको अन्तिम धावक भएर भागिरहेको थिए ।

कमेन्ट गर्नुहोस्