अक्षर र म

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

अहिले पनि अत्यास लाग्छ सानोमा ठूलो दाजुले कान निमोठ्दै अक्षर पढ्न सिकाएको कुरा ! कति असजिला थिए ती कखरा । 

साथी, भाइ, बहिनीसँग उफ्री–उफ्री खेल्न छुटाएर बिहान बेलुकै किन अक्षर घोकाएको होला ? किन लेख्न सिकाएको होला ?


Advertisement

चित्र जस्तो रमाइलो पनि थिएन, चित्र भए त हेर्दा पनि मन बहलिएर हेर्न, पढ्न वा पढेको जस्तो देखाउन पनि सजिलो हुन्थ्यो तर बाह्रखरीका अक्षरहरू बाङ्गाटिङ्गा रेखा, न त्यसको कुनै रुप छ, न त्यो कुनै बिम्ब नै हो ।

किन यति असजिला अक्षरको आविष्कार भएको ? किन कुरा, चीज र वस्तुहरू अर्थ लगाउन अक्षरलाई अधिकार दिएको ? यसमा किन सबैको सहमति भएको ? पढ्न नजान्ने, पढ्न नपाएकाहरू आफूलाई अभागी पो सम्झन्छन् तर अक्षरको आविष्कार जीवनको सरलतामाथि एउटा अर्को आक्रमण । अक्षर जस्तो बाङ्गोटिङ्गो त्यसरी नै जीवनलाई सरलबाट जटिल बनाइदियो । बाङ्गोटिङ्गो बनाइदियो ।

पढ्नुपर्ने, लेख्नुपर्ने, बुझ्नुपर्ने । एउटा चीर संस्मरण मस्तिष्कमा सधैं सुरक्षित राख्नुपर्ने । आविष्कार नै गर्नुपर्ने भए कसैले सोच्दा, बोल्दा वा गर्दा स्वतः अक्षरमा बिम्ब उत्रिने गरी आविष्कार गरेको भए हुँदैन्थ्यो ?

आविष्कार सरलताका लागि होइन र ? प्रत्येक आविष्कारले जीवनलाई सरल बनाउनुपर्ने होइन र ? के जीवनमाथि जटिलता र असजिलो थप्ने काम सर्जकले गर्न हुन्छ ? के अक्षर र शब्दको सामर्थ्य मन, मस्तिष्क र भावलाई जस्ताको तस्तै उतार्नमा छैन । तैपनि अक्षर, अंक, र त्यसलाई अरु जटिल बनाउन कमा, रेफ, धर्का, बिन्दू, चन्द्रबिन्दू, तर्कुले, खुट्टाकाट, बाइमात्रा, एकार, इकार, उकार आदि थपिएर हामीलाई बताउन तम्सिएका छन् । वर्णमालाका सीमित अक्षरमा त्यो तागत साँच्चै छ र ?

मानेपनि नमानेपनि अब अक्षर मानव इतिहास, सभ्यता र संस्कारलाई अभिव्यक्त गर्ने, अभिलेखित गर्ने माध्यम बनिसक्यो । लाखौं भाषा, प्रत्येकका आफ्नै लिपि छन् । अक्षर बनाउने रेखाको संयोजन मात्र फरक हो । के भाषा फरक भएर पनि अक्षर एकै बन्न सक्दैन्थ्यो ? के भाषा नै एकै बन्न सक्दैन्थ्यो ? आविष्कारका प्रणेताले भुलेका कि नसकेका ? कि त्यो कल्पना शक्ति नै नभएर हो ? के अब सबै भाषा र अक्षर एकै बन्न सक्छ ?

मलाई थाहा छ, मनमा उठेका थुप्रै खुल्दुली, मभित्रका संवेग र विचारलाई अक्षरमा उतार्न सक्दिनँ । अक्षरलाई अख्तियारी दिएपनि थोरैथोरै भाव र विचार मात्र अक्षरमा उत्रिएका छन् । यसले अभिव्यक्तिको सही अर्थबत्ता पनि सिद्ध गरेको छैन । मुखबाट ध्वनिमा पोखिएका मनका कुराको सीमित यान्त्रिक बिम्ब संरचना मात्र हो अक्षरको बिन्यास । अक्षर मन, मस्तिस्क र हृदयको वास्तविक बिम्ब बन्न सकेन । 

मानिसको आयामिक अर्थ लिपिवद्ध हुनै सकेको छैन । कति राम्रा कुरा, कति मीठा अनुभूति, कतिकति मनभित्रका उहापोह र संवेग अक्षरले उठाउनै सकेको छैन । मानव सभ्यताको लाखौं वर्षको इतिहासमा पनि अक्षरको अभावमा सम्झनाहरू कागजमा संस्थागत हुन सकेका छैनन्, सिर्जना त्यत्तिकै बिलाएर गएको छ । न चौथो औद्योगिक क्रान्तिको वैचारिक उथलपुथलले त्यसो गर्ने आविष्कारको संकेत गरेको छ ।

इतिहासका क्रिया–प्रक्रिया, घटना–वृतान्त मनका उहापोह पोख्न सक्ने अक्षर भएको भए मानव सभ्यता कति सुन्दर हुने थियो होला ! कति सुधार र परिस्कार ल्याउन सकिन्थ्यो होला ! समाज र सभ्यता कति सुसंस्कृत हुने थियो होला !

यहाँहरूलाई थाहा छ, म कलम लिएर मेरो मन कागजमा उतार्न तम्सिरहेको छु तर अक्षरले अनुमति दिइरहेको छैन । म सानो हुँदा डुबुल्की मारेको रोशीखोला अक्षरले उठाएन, मेरी आमा छट्पटिएर प्राणपखेरु छाड्दाको पीडा पनि अक्षरले उठाएन । म बेहोस भएर बौरिएका क्षण पनि अक्षरले टिपेन । खरिदार पास हुँदाको खुशी अक्षरले उठाएन । हाम्रा मुटुका ढुकढुकी, आँखाका नानी शुभम् र सुव्रत वर्षौंपछि एकैदिन ७ समुद्रपारिबाट हाम्रो निदास मेटाउन आउँदाको खुशी पनि अक्षरले उठाएन । 

निकै थोरै मात्र मेरा अनुभूति अक्षरले उठाएको छ, थोरै मात्र मस्तिष्कको आदेश अक्षरले लिएको छ । सबै विचार सम्प्रेषण गर्नसक्ने अक्षर खोइ ? त्यसैले गीत, संगीत, साहित्य, कला, एब्स्ट्रयाक्ट कला विकास भएको होला । साहित्य, नाटक अरु धेरै विधा विकास भएको होला तर यी पनि झण्डै अक्षरकै साथी भए । अक्षरकै साथमा आए । पूर्ण अभिव्यक्ति के साँच्चै असम्भव हो ? के मनलाई ठ्याक्कै अक्षरमा उतार्न सकिँदैन ? कतिऔं चरणको क्रान्ति पर्खनु पर्ला यसका लागि ? 

अर्को मनले भन्छ, अक्षरलाई त्यसरी आरोप नलगाऊ । अक्षर त अक्षर न हो । उ आफैं आविष्कारक हो र ? उ आविष्कृत मात्र भएको हो । मानव सभ्यता विकासका क्रममा आफ्नै दुःख, आफ्नै खुशी र खुल्दुलीलाई सुरक्षित गर्न थोरै भएपनि तिनै अक्षरका प्रणेताले काम गरेकाले न यतिसम्म लेखिएको छ, देखिएको छ, आलेखमा छ, अभिलेखमा छ, सम्झना छ र परिस्कारका आधार पनि दिएको छ ।

अक्षर नभएको भए अक्षरलाई दोष लगाउन नै कहाँ पाइन्थ्यो र ? त्यसैले अक्षरले उल्टो हामीलाई नै चुनौती दिएको छ, हाँक दिएको छ र आरोप लगाएको छ, ‘तिमीलाई बताउन सक्ने पूरा अक्षर किन नदिएको, अभिव्यञ्जनाको शक्ति मलाई किन नदिएको ?’

आफू प्रतीक भएकाले अक्षरले त्यसो भन्न सक्ला तर आविष्कार नगरेकोमा, अक्षरलाई पूर्णता नदिएकोमा दोषी स्वयम् मानिस हो । आफूलाई सर्वश्रेष्ठ प्राणी भन्ने र श्रेष्ठताको पुष्टि गर्न नसक्ने । पूर्वजहरूको विचार र आविष्कारको उपभोग मात्र गर्ने उसको काम हो ? के उसप्रति सभ्यताको दायित्व छैन ? श्रेष्ठ हुनुको दायित्व छैन ? लाखौं वर्षअघिको आविष्कारको परिस्कार गर्नु पर्दैन ? यी प्रश्नको उत्तर कर्मले नदिएसम्म तिमी अपूर्ण भयौं भनेर अक्षरलाई आरोप लगाउने अधिकार पनि हामीलाई छैन । 

अर्को पाटो पनि छ अक्षरको । त्यै अक्षर नभएको भए मेरा कृति कसरी सिर्जिन्थे ? मेरो अवसानसँगै मेरा मन, विचार र भावभङ्गी हराउन पुग्थे । शुभम् र सुव्रतले मलाई थोरै समय सम्झे पनि त्यसपछि म पूर्ण विस्मृतिमा हुने थिए । म बताउने पुस्तक हुने थिएन, म बताउने ‘अर्काइभ’ रहने थिएन । अक्षर छ र न त सिर्जना छ । मेरा दर्जन पुस्तक र हजार बढी आलेख सिर्जना हुने थिएनन् । मेरा विचार अरुसम्म पुर्‍याउन सक्ने थिइनँ । विचार अरुमा नबाढ्नु पनि त एक अर्थमा अपराध जस्तै हो । त्यो अपराध हुन नदिन पनि अक्षर नै सहाय हो । 

मेरो वृत्ति पनि अक्षरवृत्ति हो, त्यो पनि सम्भव हुने थिएन । मैले बुझ्नुपर्छ मैले खाने भातका सीता अक्षरका कमाइ हुन्, मेरो वास, मैले पढ्ने पुस्तक सबै त अक्षरले कमाएको न हो । मेरो कार्यपत्र, सामयिकी, कक्षापत्र, पुस्तक सबै अक्षरको जोड न हो । मेरा घरका इँटा, इँटा जोड्ने सिमेन्ट, झ्याल ढोका, सुन्दरता दिने रंगरोगन सबै अक्षरका उपलब्धि न हो । मैले पाएका प्रशंसा र कदर, मेरो पहिचान र व्यक्तित्व सबै अक्षरको उपलब्धि न हो ।

कति करोड अक्षर मेरो जीवन हो, म कसरी भनौं तर अक्षर मेरो जीवन हो । यति भनौं तिनै अक्षरले जीवन दिएका छन्, वृत्ति दिएका छन्, व्यवसाय दिएका छन् । मेरो स्वशिक्षा पनि यिनै अक्षर हुन् । मेरो चेतना यिनै अक्षरले बढाएको न हो । मेरो गतिशीलता पनि अक्षर । मेरो दुःख पनि अक्षर, दुःखसुखको अभिव्यक्ति पनि अक्षर । मेरा साथी पनि अक्षर, सिर्जना पनि अक्षर ! अब त म नै अक्षर जस्तो लाग्छ । त्यसैले भन्छु, अक्षर म चेतनाशून्य भएपनि मेरो चेतना बन्नु, भौतिक रुपमा नरहेपनि अस्तित्व दिनु । धेरै अक्षर कागजभरि फिजाएर मैले पनि तिमीलाई धेरै माया गरेको छु । आशा छ तिमीले भुल्ने छैनौं । धेरै अक्षर फिजाएर सिर्जनामा अक्षरलाई माया गरेजस्तै अक्षर तिमीहरूले पनि मलाई माया गरी नै रहने छौ । (mainaligopi@gmail.com)

कमेन्ट गर्नुहोस्