
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७६/०७७ को पहिलो ३ महिनामा २ हजार ७ सय ९७ वटा उजुरी दर्ता भएका छन् ।
दर्ता भएका जम्मा उजुरीमध्ये साउन महिनामा ११ र भदौ महिनामा १४ वटा उजुरी फेसबूक म्यासेजबाट दर्ता भएको आयोगबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।
आयोगको आधिकारिक फेसबूक पेजमा म्यासेजबाट आएका आधिकारिक उजुरी पत्रलाई उजुरीको रूपमा दर्ता गर्ने गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
आयोगमा उजुरी गर्न सकिने धेरै तरिका छन्, त्यसमध्ये अहिले फेसबूकबाट हुने उजुरी पनि एक हो । आर्थिक वर्ष ०७६/०७७ को पहिलो ३ महिनामा दर्ता भएका उजुरीहरू विभिन्न १० माध्यमबाट आएको देखिन्छ ।
आयोगको कार्यालयमा यो आर्थिक वर्षको पहिलो ३ महिनामा इमेलमार्फत २२०, फेसबूकमार्फत २५, फ्याक्समार्फत १८, पत्रपत्रिकामार्फत ३५, अनलाइनमार्फत १५२, हुलाकमार्फत ९१ र एसएमएसमार्फत ३ वटा उजुरी दर्ता भएको छ ।
त्यसैगरी आयोगको कार्यालयमा टेलिफोनमार्फत ८८, लिखित रूपमा १ हजार ५६ र अन्य विधिमार्फत १ हजार १ सय ९ वटा उजुरी दर्ता भएको आयोगको कार्यालयले जानकारी दिएको छ ।
समाचार र मेसेजबाट उजुरी कसरी बनाउँछ आयोगले ?
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले समाचार पत्रमा छापिएको घट्नाको विस्तृत विवरणलाई पनि कहिलेकाहीँ उजुरी बनाउने गरेको छ ।
‘कतिपय उजुरी भाइबर, टोल फ्री नम्बर र मौखिक रूपबाट आंशिक रूपमा प्राप्त हुन्छ र कहिलेकाहीँ त्यही विषय समाचारपत्रमा विस्तृत रूपमा आयो भने त्यस आधारमा हामीले उजुरी दर्ता गर्छौं,’ प्रवक्ता कोइरालाले भने ।
आंशिक रूपमा आएका मौखिक वा मेसेजका आधारमा समाचार आइसकेपछि आयोगले आन्तरिक रूपमा छलफल गरेर उजुरी दर्ता गर्ने प्रक्रिया रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।