डल्ली भनेर नृत्य छाडेकी सम्झना लोकगीतमा हिट

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

काठमाडौं –  कक्षा ८ मा पढ्दा एक दिन शिक्षकले पढाइ शुरू हुनु अघि सबै विद्यार्थी राखेर गाइने राष्ट्रिय गानमा सम्झना  लामिछाने मगरलाई अगाडि बोलाएर गाउन लगाए । उनले मिठो स्वरमा 'श्रीमान गम्भीर …' गाइन् । शिक्षकहरूले मन पराए ।

शिक्षक लोकराज पन्थीले उनलाई यस्सै अगाडि बोलाएर गाउन मौका दिएका भने होइनन् । कारण थियो- सम्झनाको दिदीको राम्रो स्वर थियो, गीत गाउँथिन् अनि त्यसैगरी राष्ट्रिय गान पनि । सम्झनाको भनाइ मान्ने हो भने शिक्षकले उनको स्वर परीक्षण मात्र गरेका थिए । उनले राम्रो गाइन् । अझ भनौं विशिष्ट श्रेणीमा उत्तीर्ण भइन् ।


Advertisement

सुरिली र मीठो स्वरकी धनी सम्झना लामिछाने मगर (३१) अर्घाखाँचीमा जन्मिइन् । बुबा शिक्षक, त्यसैले उनी सभ्य र शिक्षित परिवारमा हुर्किइन् ।

घरमा पसल थियो, कहिलेकाहिँ सघाउँथिन् पनि । जसोतसो सुखदु:ख गरेर एसएलसी दिइन् ।


Advertisement

सांगीतिक मोह

सम्झनाको हजुरबुबाले राम्रो गीत गाउनुहुन्थ्यो । उनी जुनसुकै भाका प नि सर्लक्कै टिप्न सक्नुहुन्थ्यो । सम्झना भन्छिन्, 'हजुरबुबाको गुण बुबामा नसरेर नातिनातिनीमा सरेछ ।' हजुरबुबामात्रै होइन सम्झनाको आमा र दिदी पनि गीत गाउनुहुन्थ्यो रे ।

उनको भनाइ मान्ने हो भने आमा र दिदी त गायन प्रतियोगितामा पनि भाग लिन जानुहुन्थ्यो । तर सम्झना एक पटक पनि त्यस्तो प्रतियोगितामा पुगिनन् ।

हजुरबुबा, आमा र दिदीबाट संगीतप्रतिको हुटहुटी बढेको सम्झनालाई स्कूलको एसेम्ब्लीले मलजल गर्‍यो । विगत सुनाउँछिन् उनी, 'स्कूलमा मैले गाउन सक्छ भन्ने थाहा भएपछि म विभिन्न प्रतियोगितामा स्कूलकै प्रतिनिधित्व गरेर गएँ र जितेँ पनि ।' उनी स्कूलमा हुँदा नृत्यमा पनि अब्बल थिइन् ।

काठमाडौं यात्रा

०६१/०६२ तिर माओवादीको बिगबिगी थियो । हुर्केकाहरू गाउँ बस्दैनथे । हल्काफुल्का गीत गाउनेहरू राजधानीतिर जान्थेँ र संघर्ष गर्थे । त्यो बेलाको चलन नै त्यस्तै थियो । उनलाई काठमाडौं आउनु थियो तर आफ्ना भन्ने कोही थिएनन् ।

राजधानीमा कोही पनि आफन्त नभएको अवस्थामा खुमराज घिमिरेले गरेको सहयोग सम्झनाले बाँचुञ्जेल बिर्सिन सक्दिनन् रे  । भन्छिन्, 'उहाँको बहिनी र मलाई दुई जना तिहारमा टिका लगाउने गरी काठमाडौं आओ भन्नुभयो ।'

त्यति भनेपछि अर्घाखाँचीबाट नाइट गाडी चढेर उनीहरू काठमाडौं आएँ । काठमाडौं ओर्लेपछि चिरञ्जीवी अर्याल दाइले पिकअप गरे । तिहारको टीकाको अघिल्लो दिन उनी काठमाडौं साथीसँग आएकी थिइन् ।

 काठमाडौं बसाइका शुरूआती दिनहरूमा खुमराज घिमिरे र चिरञ्जीवी अर्यालले उनलाई सक्दो सहयोग गरे । भन्छिन्, 'उहाँहरूले दुवै दाइले मलाई निकै माया गर्नुहुन्छ । साथ र सहयोग गर्नुहुन्छ । उहाँहरूलाई मैले आफ्नै दाइको रूपमा लिएकी छु ।'

सम्झना काठमाडौं आइन् । सहयोग गर्ने दाइहरू पनि थिए । तर यस्सै खाली बस्ने कुरा भएन । उनी स्कूलका कार्यक्रमहरूमा राम्रो डान्स गर्थिन् । त्यसैले उनले खाली समयको सदुपयोग  गर्न डान्स सिक्ने सोचिन् ।

डान्स सिक्दै थिइन् तर गाउँका एकजना दाइले उनलाई भनेछन्- तिमी यस्ती होची डल्ली छौं । डान्स सिकेर हिरोइन बन्ने पनि होइन मोडल बन्ने पनि होइन । किन सिक्छौं ?

सम्झनालाई त्यो कुरा हो झैं  लाग्यो । र एक महिना नबित्दै छाडिदिइन् ।

उनको मोह कलातिर मोडिइसकेको थियो । त्यसैले त संगीत सिक्नतर्फ समय खर्चिइन् । संघर्षका दिनबारे सम्झना खुल्छिन्, 'त्यसपछि तीन महिनाजति संगीत सिकेँ । अनि आरआर ज्वोइन भएँ । त्यहाँ पनि संगीत नै पढेँ ।'

उनले काठमाडौं बस्न निकै संघर्ष गरिन् । कलेज पढ्दै दोहोरी साँझमा काम गर्न थालिन् । दोहोरीमा जोडिँदाका दिनतर्फ फर्कन्छिन् उनी, 'खासमा म त्यतिबेला दोहोरी गाउन नै जान्थिनँ थिएँ । राजधानीमा बस्न खान समस्या हुन्थ्यो । घरबाट ल्याएको पैसाले मात्र पुग्दैनथ्यो । अर्घाखाँचीकै एक जना दाइले खाली बस्नुभन्दा आउ काम सिक भनेर दोहोरीमा काम दिनुभयो ।'

दोहोरीको कामले उनलाई सिकायो पनि र काठमाडौंमा सहज तरिकाले बाँच्नका लागि राहत दियो । अझ दोहोरीको कामले अर्को पनि सहयोग गर्‍यो- घरबाट पैसा माग्नु परेन !

सांगीतिक ब्रेक

सम्झनाले आरआरमा पढ्दै गर्दा नै पहिलो गीत गाएकी थिइन् । तर त्यो गीत बजारमा आएन । भन्छिन्- चिरञ्जीवी दाइले तिम्रो स्वर कस्तो रहेछ टेस्ट गरुम् न भनेर गाइएको थियो । 'तिमी मेरो म तिम्रो सहारा' भन्ने गीत थियो ।

त्यसपछि दुई तीन वर्षपछि उनले फेरि अर्को गीत गाइन् । त्यो पनि बजारमा निस्किएन । लगातार दुई वटा गीत गाएर पनि बजारमा ननिस्किएपछि उनलाई लागेछ- यो क्षेत्रमा दु:ख रै'छ । सोचेजस्तो छैन ।

गाएको हिसाबमा तेस्रो तथा बजारमा आएको हिसाबमा सम्झनाको तेस्रो गीत भने बजारमा आयो । त्यो एल्बममा चार गीत थिए । आँशु तथा सालैजो,  'हाम्रो जरो खन्नेहरूलाई', सबलाई एकदिन वैंशले छुन्छ नि, गण्डकीको तीरमा उनले स्वर दिइन् ।

बसन्त थापाको अभ्यास डिजिटलबाट निस्किएको एल्बममा रहेको आँशु तथा सालैजोमा राजु गुरुङको लय तथा शब्द थियो । गीतबारे उनी भन्छिन्, 'जुना श्रीस र मेरो संयुक्त एल्बम थियो त्यो । सागर विरहीको लोकगीतमा शब्द  थियो भने एउटामा चाहिँ मेरै शब्द थियो ।'

पहिलो गीत ठीकै चल्यो । नोटिस भइन् उनी । त्यसैपछि हो सम्झनालाई लोक गीतमै केही गर्नुपर्छ भन्ने लागेको । अनि त्यसैपछि हो उनलाई आफ्नो स्वर आममानिसले पनि मन पराउँदा रहेछन् भन्ने लागेको ।

उनलाई राम्रोसँग नोटिस गराएको अर्को गीत हो- घरमा पराल बारीमा बन्सो । यो गीतलाई अधिकांशले मन पराए । टीभीमा बजिरहे । रेडियोहरूमा पनि बजिरह्यो । कुनाकन्दरासम्म पुग्यो ।

फूल फुलेर पहेँलै भयो

सांगीतिक बजारमा सम्झनालाई चिन्न थालेका थिए । उनका गीतहरू बज्न थालेका थिए । कार्यक्रमहरूमा पनि व्यस्त हुँदै थिइन् । तर उनका हिट गीतहरूको संख्या कम थियो । यसैबीच उनले यूके एप्लाई गरिन् कार्यक्रमकै लागि । तर उनी पैसा खर्च गरेर गीत ननिकाल्ने सोचमा पुगेकी थिइन् । भन्छिन्, ' भिजा लाग्यो भने गीत निकाल्ने हो नत्र भने पैसा खेर नफाल्ने सुरमा थिएँ म ।'

उनले गुल्मीको शान्तिपुरमा जाने बेलामा मैले रामजी खाँडलाई भनेकी रहेछिन्- दाइ एउटा गीत गाउनुपर्छ ।

रामजीले 'हुन्छ' भनेछन् ।

शुरूमा गीत बीबी अनुरागीकोमा पुग्यो ।

उनले म अहिले भ्याउँदिनँ भनेछन् । त्यसपछि उनैले आफ्ना भाञ्जा कृष्णलाई सिफारिस गरे । त्यतिबेला उनले भनेका थिए रे- मेरो भाञ्जाले मोर्डन गर्छन् । सम्झनाले सफलता र संघर्षका दिनहरू केलाउँछिन्, 'उहाँले मोर्डन गर्छ भन्नुभएको थियो तर भयंकर मोर्डन गर्नुहुँदो रहेछ र त चल्यो ।'

यूके जान हतार भएकाले अडियो मात्रै गर्ने उनको सुर थियो । तर अडियो राम्रो भयो भन्ने भएपछि गीतको भिडियो नै तयार भयो ।

गीत बजारमा निस्कियो । उनी यूके उडिन् । गीतको रेस्पोन्स कस्तो रह्यो पत्तो पाइनन् दुई महिनासम्म । नेपाल फर्किएर पुन: हङकङ गइन् । तर पछि नेपाल आउँदा गीत हिट भइसकेको बल्ल चाल पाइन् उनले । भन्छिन्, 'म नेपाल आउँदा फूल फुलेर पहेँलै भयो भन्ने गीतको राम्रो डिमान्ड भइरहेको रहेछ ।

अहिले पनि सम्झनालाई 'फूल फुलेर पहेँलै' भयो कि गायिका भनेर चिन्छन् । तर उनलाई यही परिचयमा लामो समयसम्म बसिरहन मन छैन । 'अब अरू कुनै गीतले पनि चिनुन् भन्ने लाग्छ । त्यसको लागि म प्रयासरत छु,' उनी भन्छिन् ।

उनले पशुपति शर्मासँग 'सितारा बितारा' गाइन् । त्यो पनि सर्वाधिक चल्यो । त्यसपछि 'वनैमा फूल बसायो' भन्ने गीत गाइन् । त्यो पनि सफल भयो । प्रकाश सपूत र आफ्नो स्वरमा 'चरर बरर' गीतलाई धेरैले मन पराए पनि उनी 'फूल फुलेर पहेँलै'की गायिक भनेर चिनिइरहिन् ।

संख्यात्मक हिसाबले बढी र गुणात्मक हिसाबले कम गीत निस्किएको उनी आफैं स्वीकार्छिन् । भन्छिन्- यसपालि एक्ट्रा गीत निकालौं भनेर लागिरहेको छ ।

शिव हमालको शब्द तथा संगीत अनि दौलत राई र सम्झना लामिछाने मगरको नयाँ गीत छिट्टै आउँदैछ । उक्त गीत गुणस्तरीय हुनेमा उनी ढुक्क छिन् ।

उनी अहिले काठमाडौंमा भाउजु सरिता ढकालसँगै बस्छिन् । उनलाई सरिताले निकै माया, साथ र सहयोग गरेको उनले बताइन् । 'म कार्यक्रमका लागि बाहिर पुगिरहेकी हुन्छु । घरमा सानो बच्चा छ, ' उनी सुनाउँछिन्, 'सरिता भाउजुले धेरै सहयोग गर्नुभएको छ । उहाँले गर्दा पनि मलाई प्रोग्रामहरूमा हिँड्न सहज भएको छ ।'

लगभग तीन सयको हाराहारीमा लोकगीत गाइसकेकी छन् भने २५ भन्दा बढी देशमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन् ।

कमेन्ट गर्नुहोस्