२१ जेठ २०८३, बिहीबार

सिन्धुपाल्चोकका भूकम्पपीडितः ‘घर बनाउने त छोराछोरीले कमाएर होला नि !’

कात्तिक २०, २०७४
सिन्धुपाल्चोकका भूकम्पपीडितः ‘घर बनाउने त छोराछोरीले कमाएर होला नि !’

सिम्पानी (सिन्धुपाल्चोक), २३ चैत्र– काठमाडौंबाट सिन्धुपाल्चोक टाढाको जिल्ला होइन, लगभग तीन घण्टाको यात्रा । पहाडको काखमा छ सदरमुकाम चौतारा । भूकम्पको सबभन्दा बढी मार खेपेको सदरमुकाममा केही पक्की र बलिया घर पनि देखिन्छन् । केही नयाँ घर पनि छन् । केही निर्माणाधीन घर पनि छन् । घर बनाउने चटारो छ पूरै जिल्लाभरी ।

आशा गुमाएका सिन्धुपाल्चोकबासीले सरकारी राहतको आशा गरेका छन् । हाम्रो जिल्ला नजिकै देशको राजधानी छ भन्ने पनि उनीहरुलाई थाहा छ । कृषिमा निर्भर रहेका गाउँका धेरैजसो जनताका लागि भूकम्प प्रतिरोधात्मक क्षमताको एउटा घर उभ्याउनु सपनामा मात्र सीमित भएको छ ।

भूकम्पले नियमित पानीका मुहान सुकेका छन् । खानेपानीको समेत अभाव भएका कतिपय गाउँमा सिचाइँ गरेर खेती उब्जाउन असहज छ ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारा नजिकै एउटा गाउँ छ । पिपलडाँडा । तातो हावाले बेग हान्न सुरु गरिसकेको छ । गाउँको बीचमा वल्र्ड भिजनले सिन्धुपाल्चोककै संस्था जनहीत ग्रामीण सेवा समितिसँगको साझेदारीमा लगभग ९४ लाखको हेल्थ पोष्ट निर्माण गरेर हस्तान्तरण गरेको छ । न्यूनतम सुविधासहित गाउँमा बनेको उक्त स्वास्थ्य चौकीले गाउँका २ सय भन्दा बढी घरधुरीलाई सहयोग पुग्ने गरी सेवा दिइरहेको स्वास्थ्य चौकीकी इन्चार्ज सरला राई बताउँछिन् । ‘हामीले एकदमै सानो ठाउँमा रहेर काम गर्नुपर्ने स्थिति थियो । अहिले भने काम गर्न धेरै सहज भएको छ ।’ स्वास्थ्य चौकीले गाउँमा प्रसुती सेवाको पनि सुविधा दिने योजना समेत रहेको बताउँदै राई थप्छिन्, ‘हामीसँग अहिले चाहिने सामग्री र छुट्टै कोठाको पनि सुविधा छ, यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’
पिपलडाँडाबाट सदरमुकाम चौतारा केही टाढा पर्ने भएकाले पनि आकस्मिक सेवाका लागि सुविधा लागु गर्न जरुरी भएको राई बताउँछिन् ।

सिन्धुपाल्चोकमा सरकारी राहत भनेको ‘आशा’ को पर्याय मात्र बनेको छ । भूकम्पले थिलोथिलो भएका धेरै जसो गाउँमा विभिन्न दातृ निकायको सहयोग पुगेको छ । खासगरी स्वास्थ्य संस्था र विभिन्न निकायको सहयोगले नै जनतालाई केही राहत मिलेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जिल्लाका धेरैजसो स्वास्थ्य संस्थाहरु विभिन्न संघ संस्थाको सहयोगले गर्दा नै छिटो सम्भव भएको बताउँछन् । ‘सरकारी प्रक्रिया केही ढिला हुने तर हामीलाई सकेसम्म छिटो सहयोगको खाँचो थियो, यस्तो अवस्थामा विभिन्न संघसंस्थाले स्वास्थ्य संस्थामा लगानी गर्नुभयो ।’ मिश्र थप्छन्, ‘यदि दातृ निकायले सहयोग नगरेको भए अझै पनि हामीले टेन्टबाट स्वास्थ्य सुविधा दिनुपर्ने स्थिति आउँथ्यो ।’

जिल्लामा भएका ८० स्वास्थ्य संस्थामध्ये भूकम्पले प्रभावित नपारेका बाहेक अरु सबै स्वास्थ्य संस्थाहरु पुनर्निमाण गर्नुपर्ने अवस्थामा भएको र तीमध्ये जम्मा पाँच वटा सरकारी लगानीमा स्थायी बन्न लागेको मिश्र बताउँछन् ।

अढाई किलोमिटर टाढाबाट पानी व्यवस्थापन गरेर २७ हजार लिटर पानी जम्मा गर्ने गरी बनाइएको ट्यांकीले सिम्पानीको पूरै गाउँलाई पानीको गर्जो टरेको छ । बालमैत्री धारासहितको यो पानीले घण्टौं टाढा पुगेर पानी बोक्नुपर्ने स्थिति टरेको छ ।

तर, यो लगानी सरकारको होइन । स्थानीयवासीलाई सरकारले पानीको व्यवस्थापन गरिदिन्थ्यो भन्ने पनि लाग्दैन । वल्र्ड भिजनको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समितिकै साझेदारीमा पानीको व्यवस्थापन भएको भन्दै गाउँलेले खुशी पनि व्यक्त गर्छन् ।

‘सरकारले हामीलाई पानीका लागि बजेट दिन्थ्यो भन्ने किमार्थ लाग्दैन, बरु वास र वल्र्ड भिजनले हामीलाई सहयोग गरेर पानीको सुविधा भएको छ ।’ सिम्पानी गाउँका अगुवा सम्भु सुवेदीले लोकान्तरसँग भने, ‘भूकम्पले अठ्याएको बेलामा पानीको भएपनि सुविधा भएको छ, भर्खरै सुचारु भएको यो पानीको प्रयोग गरेर हामीले अब आफूलाई पुग्ने तरकारी फलाउन सक्छौं ।’

सरकारी निकाय मौन छ । उसलाई काठमाडौंको धुलो र ट्राफिक जामले न्याकेको छ । तर भूकम्प प्रभावित सबैजसो गाउँ अझै बामे सर्न पनि सकेका छैनन् । प्रभावित गाउँमा विभिन्न संस्थाले बनाइदिएका सार्वजनिक सरोकारका विषयमा सरकारको साझेदारी भने प्रष्ट देखिन्छ ।

विभिन्न संस्थाले निर्माण गरेका घर र सरकारले दिने राहतको आशामा गाउँलेले आफ्नो दैनिकी कटाएका छन् । स्थानीय भन्छन्, ‘घर बनाउने त छोराछोरीले कमाएर त होला नि । अहिले त छोराछोरी हुर्काउनु कि, घर बनाउनु?’

भूकम्प गएको दुइ बर्ष बितिसक्दा समेत पुननिर्माणका लागि सरकारी अनुदान नपुगेका कारण उनीहरुले यसपटकको बर्खा अगाडि नै घर बनाउने सपना त्यागेको बताउछन् ।

salt training

कमेन्ट गर्नुहोस्