७० वर्षीया बसन्तीको जोश : २५ वर्षदेखि अचार उद्योगमा, झण्डै चार दर्जनलाई रोजगारी

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

भनिन्छ कामलाई उमेरले छेक्दैन । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–८ शिवनगरकी बसन्ती खत्री उमेरले ७० वर्षकी भइन् । उनको जाँगर र सक्रियता जवान युवायुवतीको भन्दा कम छैन । बिहान चार बजे उठेदेखि राति दश बजेसम्म आफ्नै उद्योगको काममा खटिन्छिन् बसन्ती ।

उनको फर्म हो, बसन्ती अचार उद्योग । यस क्षेत्रमा बसन्ती अचार भनेपछि नचिन्ने कमै होलान् । उनको पौरख र साहस देखेर सबै अचम्मित मात्र हुँदैनन् बसन्ती अचार भनेपछि हुरुक्क हुँदै जिब्रो पड्काइहाल्छन् । उनले उत्पादन गरेको अचार सबैको रोजाइमा परेको परेको देख्दा साँच्चै देशमै केही गर्नुपर्छ भन्नेहरूका लागि उनी प्रेरणाको स्रोत बनेकी छन् । 


Advertisement

आजभन्दा २५ वर्ष अगाडि सालको पातमा राखेर दुई रुपैयाँबाट बिक्री गर्न थालेको उनको अचार उद्योगमा अहिले दुई करोड लगानी पुगेको छ । खत्री अहिले मासिक ६० देखि ९० क्विन्टलसम्म अचार बनाएर बिक्री गर्न गर्छिन् । उनको उद्योगमा अचार बनाउनका लागि पूर्णकालीन १८ र बजारमा लैजाने २८ आंशिक कामदार राखेर २५ वर्षदेखि दिनरात अचार बनाउने काममा तल्लीन् छिन् । उनले १५ जना कर्मचारीलाई मासिक १५ हजार तलब दिएर राखेकी छन् । सबै महिला कर्मचारीलाई उनले प्रत्येक महिनाको १ गते तलब उपलब्ध गराउँछिन् । 

अचारसँगको साइनो


Advertisement

गुल्मी तम्घासमा २००६ सालमा जन्मिएकी बसन्तीको बाल्यकाल भारतमै सिलाङमा बित्यो । भारतमा बस्दा उनले घरयासी प्रयोजनका लागि दैनिक रूपमा अचार बनाउँथिन् । उनले बनाएको अचार आफ्नो परिवारसहित छिमेकीलाई पनि चखाउथिन् । उनले बनाएको अचार सबैले साह्रै मिठो मानेर खान्थे । घरमै अचार बनाउँदा पोत्ख भइसकेकी खत्री २०४५ सालमा परिवारसहित नेपाल (बुटवल) आइन् । आफ्नै सीपबाट केही गर्नुपर्छ भन्ने उनमा सोच थियो ।

उनले सोचिन्- आफूले जानेको अचार बनाएर बिक्री गर्छु । आफूसँग भएको ५० रुपैयाँले एक लिटर तेल र दुई केजी आँप किनेर अचार बनाएर शिवनगर सामुदायिक वनमा घाँस दाउरा गर्न आउनेलाई बिक्री थालिन् ।

उनी भन्छिन्, ‘सालको पातमा राखेर घाँसदाउरा गर्नेलाई बिक्री गर्नेदेखि किराना पसलहरूमा लगेर शुरूका दिनमा बिक्री गरेँ, ५० रुपैयाँमा मैले अचार बनाउन थालेको मेरो उद्योगमा अहिले दुई करोडभन्दा बढी लगानी पुगेको छ ।’

उनको काममा खटाई विलक्षणको छ । सानो लगानीबाट शुरू गरेको खत्रीको उद्योग यस क्षेत्रमा स्थापित बनेको छ । उनले बनाएको अचार सबैले रुचाएपछि २०५३ सालदेखि अचारको व्यवसायिक उत्पादन शुरू गरेकी हुन् । पौरखी बसन्तीले अहिले वार्षिक एक करोड ५० लाख रुपैयाँभन्दा बढी बढीको कारोबार गर्छिन् । बसन्तीको अचार अहिले ४५ जिल्लामा बिक्रीका लागि जान्छ भने देशबाहिर कोसेलीका लागि युरोपदेखि अमेरिकासम्म पनि लैजाने थुप्रै छन् ।

देशमा केही गर्ने अवसर छैन भन्नेलाई उनको चोटिलो जवाफ छ । उनी भन्छिन्, ‘मनबाटै मैले देशमै केही गर्नु छ भन्ने दृढ संकल्प भएकाहरूलाई नेपालमै ठूल्ठूला अवसरहरू छन् । मलाई अचार बेचेर केको पैसा कमाउली भन्थे । म त्यस्ता कसैका कुरा नसुनेर अचार बनाएर बिक्री गरेर अहिले यो अवस्थामा आइपुगेँ ।’

उनले आँप, खुर्सानी, अकबरे खुर्सानी, लसुन, च्याउ, लप्सी, मिस्कट, तामा, कोइरालो, करेला मेथी, सिक्नी, भट्ट, अमला भरुवा खुर्सानी, हरियो खुर्सानी, कागती, मुला, गाँजर टिमुरलगायत २५ प्रकारका अचार बनाउँछिन् । उनी भन्छिन्, ‘हामीले उत्पादन गरेको अचारमा कुनै केमिकल प्रयोग हुनुहुँदैन । गुणस्तरीय छ । सस्तो पनि छ ।’ ५० प्रकारका अचार बनाउने उनीसँग सीप छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उनको उद्योगलाई राम्रो उत्पादन गरेको भन्दै नगद १० हजार रुपैयाँसहित सम्मान समेत गरेको छ । उनले सय रुपैयाँ प्रतिकेजीको मिक्स अचार देखि ६ सय रुपैयाँ प्रतिकेजी पर्ने अकबरे खुर्सानीको अचार पनि बिक्री गर्छिन् । उनीसँगबाट अचार खरीद गरेर ठूलो मार्जिन राखेर बिक्री गर्नेहरू पनि छन् । मिहिनेत गर्ने हो भने सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् ।

अचारका लागि चाहिने कच्चा पद्धार्थ उनले फोनकै आधारमा मगाउँछिन् । गाडीका गाडी एक कल फोनको भरमा घरमै आइपुग्छन् । ‘शुरूशुरूमा  आफैं लिन जानुपर्थ्यो । अहिलेजस्तो फोनको सुविधा थिएन । अहिले एक कल फोनकै भरमा घरमै सबै अचारलाई चाहिने चिज ल्याइदिन्छन् । उनले नेपालका पूर्व धरानदेखि पश्चिम धनगढीसम्मबाट कच्चा पद्धार्थ मगाउँछिन् ।  यस क्षेत्रमा लाग्ने मेला महोत्सवमा उनलेको अचारको स्टल छुट्दैन । उनले एउटा मेलामा चारदेखि पाँच लाख रुपैयाँ अचार बिक्री हुने सुनाइन् ।

उनका तीन छोरा र चार छोरी छन् । जेठो छोरा अर्जुनमा बोर्डिङ स्कूलका प्रिन्पिसल छन् । माइला छोरा प्रेम ट्रक व्यवसायी हुन् । कान्छा लाल बहादुर जापानमा छन् । ती सबैको उनले अचारको बिक्रीबाट पढाउनेदेखि वैदेशिक रोजगारमा पनि पठाएकी हुन् ।

उनका श्रीमान बिरामी छन् । उद्योगको आर्थिक कारोबारदेखि अचारका मसलादेखि नुनको मात्रा तय गर्ने जिम्मा उनै बसन्तीलाई छ । बुढेसकाल लागे पनि उनी भन्छिन्, ‘सकुन्जेल अचार नै बनाएर बिक्री गर्ने हो । खाली किन बस्ने मानिस खाली बस्नु हुँदैन । काम गरेर मरिँदैन । सकेसम्म काम गर्नुपर्छ ।' उनले अहिले २ सय ५० भन्दा बढी महिलालाई अचार बनाउने तालिम समेत दिएकी छन् ।

७० वर्ष पुगेकी बसन्तीले आफूले जस्तै अचार बनाएर उद्योग चलाउने केही स्थापित होस् भन्ने चाहना छ । तर उनको परिवारमा पनि उनको कमाएका पौरख र उनको सेखपछि सोही उद्योगलाई निरन्तरता दिउन् भन्ने उनको चाहना छ ।

५२ थरी अचार बनाउने बसन्तीले २५ थरीकै व्यावसायिक कारोबार गर्छिन् ।

उनले २८ वर्षअघि ५० रुपैयाँको सामग्री किनेर अचार बनाउन थालेकी हुन् । 'अमिलो, कागती, मूला, गाँजर, सिमी, बोडी, अमला, बयर, खुर्सानी, करेला, तामा, इस्कुस, लसुनलगायत अचार बनाउँछु,' उनी भन्छिन्, 'विदेश जानेले कोसेलीका रूपमा पनि मासिक एक क्विन्टलजति लैजान्छन् ।'

अचारबाट वार्षिक २२ लाख बराबरको कारोबार हुने सुनाउँछिन् वसन्ती । उनले तालिम दिएका २५ महिला अचारकै कारोबार गर्छन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्