अनामनगरका गल्लीमा हेमन्तका १६ वर्ष

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

गायक हेमन्त कान्छा रसाइली सारंगीमार्फत गीतका धुन पस्किन्छन् । भाका हाल्छन्, त्यसमै पीडा पोख्छन् । अनि सारंगीमार्फत नै खुशी पनि व्यक्त गर्छन् । उनलाई गायकमात्र भनेर सम्बोधन गरियो भने त्यो अन्याय हुनेछ । उनको परिचय सारंगीवादक पनि हो । अहिलेको उचाईमा पुग्न उनलाई स्वरसँगै सारंगीले पनि ठूलो साथ दिएको छ ।

अनामनगरका गल्लीमा १६ वर्ष


Advertisement

अनामनगरको साइनो कलाकारितासँग जोडिएको छ । अहिले चलेका धेरै कलाकारहरूको संघर्ष पहिला अनामनगरका गल्लीबाट हुन्छ । र, अहिले पनि अनामनगरकै गल्लीबाट धेरैले कलाकारिता क्षेत्रमा भविष्य देखिरहेका छन् । यो प्रक्रिया लामै समयसम्म चल्छ । अनामनगर र कलाकारिता एक अर्काका पर्यायजस्तो नै छ । किनकि अनामनगरमा सबथोक छ । अभिनय सिकाउने ठाउँ छ । सिकेको अभिनय देखाउने ठाउँ छ । गीत रेकर्ड गर्ने ठाउँ छ । डान्स सिकाउने ठाउँ पनि छ । निर्माता पनि त्यही भेटिन्छन्, गायक र कलाकार पनि भेटिन्छन् । अझ सामान्य भाषामा भन्ने हो भने अनामनगरका प्राय: घरमा गीत रेकर्डिङ स्टुडियो छ ।

हेमन्त कान्छा रसाइलीले पनि अनामनगरका गल्लीमा १६ वर्ष बिताएका छन् । यसको अवधि अझै लम्बिनेवाला छ । किनकि उनको उमेर बढिरहेको छ र जोशजाँगर पनि ।


Advertisement

म्याग्दीको मालिका गाउँपालिका, मठ्ठडाँडा चिउरीबोटका हेमन्तले गायन क्षेत्रमा स्थापित हुन अनामनगरमा १६ वर्ष बिताएका छन् । यो उनकै भाषा हो । 'म अनामनगरको गल्लीमा हिँडेको १६ वर्ष भयो । यसबीचमा मैले कति जुत्ता फटाएँ । कति जोर चप्पल फटाएँ । कति पीडा भोगेँ । कति आँसु झारे । कति संघर्ष गरेँ । त्यसको कुनै लेखाजोखा नै छैन,' उनले संघर्ष केलाए ।

उनले शुरूआती दिनमा गरिएको संघर्षको लेखाजोखा नगरौं भनेपनि केही दु:ख लोकान्तरसँग पनि साटे । उनी बस्थे गोगंबु । गीत रेकर्ड अनामनगरमै हुन्थ्यो । स्टुडियोहरू धेरै थिएनन् । पालो कुर्नुपर्थ्यो । उनले कतिपटक त रातिराति गीत रेकर्ड गरेका छन् । उनले दु:ख सुनाए, ' गीत रेकर्डिङ गर्दा रातिको १२ सम्म बज्थ्यो । आफूसँग ट्याक्सी भाडा पनि हुँदैनथ्यो । निकै दु:खसँग जान्थे ।' राति घर जाँदा बाटोमा कुकुरले लखेट्थ्यो । यी कुराहरू उनको दिमागमा ताजै छन् ।

संघर्ष र सफलताको हिसाबमा हेमन्तलाई १६ वर्ष पहिले र अहिलेको अनामनगरमा आकाश र जमिनको फरक लाग्छ । उनकै भाषामा भन्ने हो भने अनामनगर ठाउँ उस्तै होला, खाली जग्गामा घर बने होला, केहीको तला थपिए होला । अनामनगरको प्रगतिसँगै हेमन्तको जीवनमा पनि प्रगति भयो ।

*****

उनको संघर्षका कथाहरू धेरै छन् । संघर्ष गर्ने क्रममा उनले दोहोरी साँझमा पनि काम गरे । ढोलक बजाए । तबला बजाए । मादल बजाए, अक्टोपस बजाए । उनी अलराउन्डर थिए । स्टेजमा भएका सबै म्युजिक इन्ट्रुमेन्ट बजाउँथे उनी ।

दोहोरी साँझमा काम गर्दागर्दै उनलाई विदेश जाने भूत चढ्यो । तर उनको पैसा दलालीले खाइदिए । उनको लगभग १० लाख बालुवामै गयो । जापान गएर सारंगी बजाएर वा सिकाएर भए पनि ज्यान पाल्छु भन्ने सोचेका उनले ०६७ सालमा पुन: सारंगी किने । अझ सिक्न थाले । त्यसअघि उनले ०५८ सालमा ३५० मा सारंगी किनेका थिए । 

त्यसपछि स्टुडियोमा उनले सारंगी बजाउन थाले । शुरूमा दुई सय पाउँथे । त्यसपछि बढेर चार सय, पाँच सय हुँदै अहिले हजार-पन्ध्र सय पुगेको उनले बताए ।

परापूर्व कालमा गन्दर्भ जातिले सारंगी बजाएर जीविकोपार्जन गर्ने गर्थे । पछिल्लो समय गन्दर्भ जातिले मात्रै होइन अन्य जातिका मानिसहरूले पनि सारंगी बजाउन थालेका छन् । हेमन्तको पनि ध्येय भनेको सारंगीलाई फैलाउनु नै हो । सारंगीको संरक्षण गर्नु हो । 'सारंगीको संरक्षणमा लाग्नुपर्छ भनेर मैले सारंगी बजाउन थालेँ । अहिले धेरै राम्रो भइरहेको छ । मैले सारंगी जोगाउन सक्दो भूमिका खेल्नेछु,' उनले भने । सारंगी फिल्मका गीत, पप तथा आधुनिक गीतहरूमा समेत बज्न थालेकोमा हेमन्त पनि खुशी छन् ।

*****

हेमन्त सानैदेखि संगीतप्रेमी । घरमा बस्दा होस् या गोठालो जाँदा उनी बाँसुरी गीतसंगीत मेरो लेखान्त नै होला । संगीतप्रतिको भित्री लगावकै कारण यो क्षेत्रमा रहेँ कि भन्ने लाग्छ । म स्टुडियोहरूमा गएर सारंगी बजाउँछु ।

अझ उनले बाँसुरी पनि आफैं बनाउँथे । 'सन्नासोलाई आगोमा तताएर बाँसमा प्वाल पारेर मैले बाँसुरी बनाउँथे र बजाउँथे,' उनले भने ।

उनी गीत संगीतलाई आफ्नो लेखान्त भन्छन् । त्यसैले त भन्छन्- संगीतप्रतिको भित्री लगावकै कारण यो क्षेत्रमा अहिलेसम्म छु ।

*****

२०६३ सालमा 'काँचो सुन्तला …  ' भन्ने लोक गीत गाए । यो गीत गाउँदा उनी एकदमै नर्भस थिए रे ! 'गाउन पनि म डराईडराई गाएको थिएँ । पूरा ढुक्क भएर आनन्दसँग गाएको थिइनँ,' उनले पहिलो गीत रेकर्ड गराउँदा क्षण सम्झिए । 'क्यासेटको बी साइडमा माग्दी तिरैमा र दाजुखोला भन्ने गीत थियो,' उनले सुनाए । 

दोहोरी साँझमा जान्थे । १५-२० काम गर्थे । खान बस्न पुग्थ्यो । अनि छोड्दिन्थे, फेरि काम गर्न जान्थे । तर उनी केही समय म्युजिकबाट हराए ।

पछि सारंगी समातेपछि मैले मेहनत गर्न थाले । भन्छन्, 'म्युजिक पनि बुझ्दै गएँ । सिक्दै गएँ ।  अनि म सारंगीबादक भएँ ।' हालसम्म आफूले लगभग १० हजार गीतमा सारंगी बजाएको उनले बताए ।

'भाग्यमानी'बाट पुन:चर्चामा

उनी गायकको रूपमा पुन: स्थापित हुन खोजिरहेका छन् । विगत एक वर्षदेखि उनले लगातार गीत बजारमा ल्याइरहेका छन् । 'भाग्यमानी' बोलको गीतबाट उनी चिनिए । उनको गीतलाई दर्शकले रुचाए । सोही गीतलाई उनी 'टर्निङ प्वोइन्ट'को रूपमा लिएका छन् ।

उनको अर्को गीत 'बालापन' पनि रुचाइयो । 'कर्मै हाराको', 'आकाशै ज्यानको', 'किन होला खै बजार'मा आएका छन् । 'किन होला खै' गीतका टुक्का यतिबेला टिकटकमा भाइरल बनिरहेको छ ।

अहिले 'मरेछन् नि लाहुरे' रिलिज भएको छ । यसबाट पनि आफूले सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछन् ।

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्