पृथ्वीनारायण शाहका दिव्योपदेश : भूत, वर्तमान र भविष्यमा उत्तिकै सान्दर्भिक

पुस २७, २०७५

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणको प्रतीक मान्ने या नमान्ने भन्ने विषयमा बौद्धिक बहस चलेपनि भौगोलिक रूपमा उनले मुलुकलाई एक बनाएको कुरामा कसैको विमति छैन । टुक्राटुक्रामा विभाजित राज्यहरूसँग युद्ध गरेर सिंगो नेपाल एकीकरणको तहमा पुर्‍याउने तत्कालीन गोरखाली राजा पृथ्वीनारायण शाहका बारेमा स्वयं मार्क्सवादी विद्वानहरू पनि विभाजित छन् । यद्यपि शाहले शुरू गरेको एकीकरण अभियानलाई भौगोलिक एकीकरण मात्र मान्नेहरू पनि प्रशस्त छन् । 

अठारौं शताब्दीमा नेपालमा भौतिक तथा आध्यात्मिक विकासको जुन स्तर थियो, त्यस्तो बेला भौगोलिक एकीकरण गरेर शाहले नेपाल एकीकृत बनाएकै हुन् भन्ने विषयमा दुईमत छैन । विश्वभर अंग्रेजहरूको दबदबा बढिरहेको त्यो स्थितिमा बाइसे-चौबीसे राजाहरूसँग युद्ध गरेर नेपाललाई एकीकृत नेतृत्व दिने जुन साहस पृथ्वीनारायण शाह र उनका भाइभारदारहरूले गरे, त्यो नेपालको इतिहासमा साँच्चिकै एउटा ‘छलाङ’ थियो । 


ADVERTISEMENT

राजा यक्ष मल्लले आफ्नो राज्यलाई व्यक्तिगत सम्पत्तिजस्तो ठानेर छोराहरूमा नबाँडिदिएको भए मल्ल राजवंशकै पालाको नेपाल बृत्तहर नेपालकै रूपमा अझै फैलँदै जान सक्थ्यो र पृथ्वीनारायण शाहले पुन: नेपालको एकीकरण गर्ने अवस्था नआउन सक्थ्यो । अथवा पृथ्वीनारायण शाहभन्दा पहिल्यै नेपाल एकीकृत र अडिग रहन सक्थ्यो । स-साना राज्यहरूलाई एउटै प्रशासनिक नियन्त्रणमा राखेर नेपालको विभाजित अस्तित्वलाई एकीकृत गर्नु सामान्य विषय थिएन । त्यो काम अस्तित्व रक्षाको लागि अनिवार्य शर्तजस्तै थियो ।

कतिपयले पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा गरेको हत्या-हिंसाको हिसाबकिताब मागिरहेका छन् । हिंसा अहिलेको युगमा निश्चयनै बर्जित विषय हो । समयको त्यो कालखण्डमा हिंसाको प्रयोग सामान्य मानिन्थ्यो । अझ राज्य विस्तारका लागि त्यतिबेला हिंसा अनिवार्य शर्त थियो । एकीकरण न सही, राज्य विस्तारका लागि भएपनि विश्वभर हिंसाकै प्रयोग भएको हुन्छ । त्यो हिंसा यो या त्यो रूपमा आजसम्म पनि कायम छ । 

पृथ्वीनारायण शाह आफ्नो दिव्योपदेशका कारणले पनि चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको कतिपय इतिहासविद् र राजनीतिज्ञहरू बताउँछन् । ‘त्यसताका नेपालको एकीकरण नभएको भए हामी भारतका अलग-अलग प्रान्तका जनता हुन्थ्यौं,’ डाक्टर युवराज संग्रौला भन्छन्, ‘पृथ्वीनारायण शाह उपनिवेशका विरुद्ध उत्रिने एसियाका महानायक थिए । शाहले बनारस गएर अंग्रेजहरूको शासन शैली देखेर आए । ब्रिटिसहरू तिब्बत कब्जा गर्न चाहन्थे, त्यसका लागि नेपाल कब्जा गर्नुपर्ने अनिवार्य शर्त थियो ।’ संग्रौलाले भर्खरै प्रकाशित आफ्नो ‘साउथ एसिया चाइना जिओ-इकोनोमिक्स’ नामको पुस्तकमा पृथ्वीनारायण शाहलाई एसियाका महानायक भनेका छन् । 

नेपाललाई दुई ढुंगाको तरुल भन्दै शाहले दक्षिणी छिमेकीसँग बढी सतर्क रहनुपर्ने आफ्नो दिव्योपदेशमा उल्लेख गरेका छन् । अहिलेको नेपालको नियति शाहले भनेजस्तै छ । उनका उपदेशहरूको सान्दर्भिकतालाई अहिले नेपालका उत्तर र दक्षिणी छिमेकीहरूले नेपालप्रति गर्ने व्यवहारले पुष्टि गरेको छ । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै शाहले सुरक्षा सतर्कता बढाउनुपर्ने आफ्नो दिव्योपदेशमा उल्लेख गरेका छन् । उनले भनेजस्तै बेलायतले लादेको उपनिवेशवादको शिकार अहिलेको भारतीय राजीतिको संस्थापन पक्ष बनेको देखिएको छ ।

संस्कृति तथा इतिहासविद् प्रोफेसर जगमान गुरुङ पृथ्वीनारायण शाहका उपदेशहरू भूत, वर्तमान र भविष्यमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँछन् । ‘शाहका आर्थिक, सामाजिक, वैदेशिक लगायतका कुनै पनि नीतिहरू अहिलेको परिप्रेक्षमा उत्तिकै सान्दर्भिक छन्,’ गुरुङ भन्छन्, ‘शाहका उपदेशहरू निर्देशक सिद्धान्तका रूपमा रहिरहनेछन् ।’ 

पृथ्वीनारायण शाहको उपदेशमा राज्य कसरी आर्थिक रूपमा निर्भर रहनुपर्छ भन्ने प्रश्नको उत्तर पनि पाइन्छ । विदेशीलाई देशमा भित्र्याउदा मुलुक कंगाल हुन सक्ने भन्दै देशभित्रै उद्यम चलाउन उनको उपदेशमा सुझाव दिइएको छ । देशको नगद बाहिर नपठाउने विषयमा शाह स्पष्ट थिए । जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भन्दै शाहले आफ्नो उपदेशमा त्यतिबेलाको ज्ञानको तह धेरै उच्च रहेको देखाएका हुन् । 

पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउँमा गाउँ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनुपर्ने तथा उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने सन्देश आफ्नो उपदेशमार्फत् दिएका छन् । 

पृथ्वीनारायण शाह तत्कालीन समयमा निकै उच्च चेतना भएका शासक थिए भन्ने कुरा उनका उपदेशहरूबाट बुझ्न सकिन्छ । यद्यपि राज्य विस्तारका क्रममा उनले कमजोरी नै गरेका थिएनन् भन्ने तर्कचाहिँ उपयुक्त नहोला । तर उनले गरेका कमजोरी तत्कालीन समयको कसीमा राखेर हेरिनुपर्छ । आधुनिक समाजको आँखाले पृथ्वीनारायण शाहका कमजोरीहरू नियाल्न सकिँदैन ।

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस