×

कोरोनाविरुद्धको लडाईं

चीन र इटलीका दुई चिकित्सकको कारुणिक अनुभव : जब कोरोनाविरुद्धको 'युद्ध'मा होमियौं...

चैत १९, २०७६

इटलीको मिलान शहर नजिक रहेको बेर्गामोमा सघन उपचार कक्षमा काम गर्ने चिकित्सक डा डेनियल माच्चिनीले पनि कोरोनाका बिरामीहरूलाई बचाउनका लागि अस्पतालका कर्मचारीहरूले थकानसँग लड्दै अहोरात्र मेहनत गरेको कुराको वर्णन गरेका छन् । उनले लेखेको लामो फेसबूक पोस्टलाई इटलीको पत्रिकाले छापेको थियो अनि जेनेभा विश्वविद्यालयको इन्स्टिच्युट अफ ग्लोबल हेल्थमा संक्रामक रोग विशेषज्ञ तथा अनुसन्धाताका रूपमा कार्यरत डा. सिल्भिया स्ट्रिंगिनीले अंग्रेजीमा अनुवाद गरेकी छन् । त्यसैको नेपाली अनुवाद यहाँ प्रस्तुत छ :

लेखौं कि नलेखौं अनि लेखे पनि के लेखौं भनी चिन्तन गरेपछि म यो निष्कर्षमा पुगें– मौन बस्नु गैरजिम्मेवारी हुनेछ ।  त्यसैले म इटलीभन्दा बाहिरका मानिसलाई हामी बेर्गामोमा कसरी जीवन बिताइरहेका छौं भन्ने विषयको जानकारी दिन चाहन्छु । त्रास उत्पन्न गराउने मेरो उद्देश्य हैन तर कोभिड–१९ कति खतरनाक छ भन्ने कुराको सन्देश मानिसहरूमा नपुगेको देख्दा म काँप्छु ।


Advertisment

विगत एक हप्तामा अस्पतालको कायापलट गरिएको देख्दा म छक्क परें जबकि हाम्रो शत्रु छायाँमै लुकिरहेको थियो । वार्डहरू बिस्तारै खाली गराइए, अत्यावश्यक नठानिएका स्वास्थ्य कर्महरू बन्द गरिए अनि सघन उपचार कक्षलाई खाली गराएर सम्भव भएसम्म शय्याहरू थपिए । 


Advertisment

यस तीव्र परिवर्तनले अस्पतालमा शान्तिको वातावरण अनि एक किसिमको अतियथार्थवादी शून्यता छायो । हामीहरू शुरू हुन लागेको एक युद्धको प्रतीक्षामा बस्यौं र हामीलाई यो युद्ध यति भीषण होला जस्तो लागेकै थिएन । 

एक हप्ताअघि मलाई एउटा फोन कल आएको याद आउँछ । त्यतिखेर म स्वाबको रिजल्ट कुरिरहेको थिएँ । अहिले सोच्दा लाग्छ, कोरोनाको एक सम्भावित केसका विषयमा मैले लिएको चिन्ता हास्यास्पद र गैरजायज थियो किनकि अहिले केसहरूको बाढी आएको छ । अहिलेको परिस्थिति नाटकीय नै छ । 

यो युद्ध एक्कासि चर्कियो अनि स–साना लडाइँहरू दिनरात चलिरहेका छन् । सबै रोगीमा बाइल्याटरल इन्टरस्टिटियल निमोनिया देखिएको छ । 

कुन चाहिँ फ्लु भाइरसले यस्तो नाटक देखाउँदो हो, मलाई भन्नुस् त । अझ त्यसमाथि मानिसहरू कोरोनाको डरभर नमानी सरकारको निर्देशन उल्लंघन गर्छन् र आफ्नो दैनिक जीवन अवरुद्ध भएकोमा गनगन गर्छन् । तर संक्रामक रोगले संकट ल्याइसकेको छ । अब अहिले सर्जन, युरोलोजोजिस्ट, अर्थोपेडिस्ट भनी छुट्ट्याउन मिल्दैन, हामी सबै चिकित्सक हौं र एउटै टोलीका रूपमा हामीले यो सुनामीको सामना गर्नुपरेको छ । 

कोरोनाका केसहरू बढेको बढ्यै छन् । हामीहरू दिनको १५ देखि २० जनालाई भर्ना गरिरहेका छौं । स्वाबका रिजल्टहरू आएको आयै छन् अनि सबैमा कोरोना पोजिटिभ नै देखिएको छ । आकस्मिक कक्ष धराशायी हुने स्थितिमा छ । 

आउने रोगी सबैमा त्यही लक्षण छन् : ज्वरो आउने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने अनि श्वासप्रश्वासमा समस्या देखिने । रेडियोलोजीको रिपोर्टमा बाइल्याटरल इन्टरस्टिसियल निमोनिया नै देखिन्छ । सबैलाई अस्पतालमै राख्नुपर्ने हुन्छ । 

कुनै रोगीलाई ट्युब लगाएर सघन उपचार कक्षमा पठाइन्छ । अन्यको हकमा धेरै ढिलो भइसकेको हुन्छ । सबै भेन्टिलेटर बहुमूल्य छन् । अपरेसन थिएटरमा अर्जेन्ट नपरेका रोगीलाई भेन्टिलेटर दिने गरिएको छैन । अहिले सबै अपरेसन थिएटर सघन उपचार कक्ष बनेका छन् । 

कर्मचारीहरू थाकेका छन् । उनीहरूको अनुहारमा म थकान देख्छु । पहिलापहिला पनि उनीहरूको कार्यभार गह्रुंगै थियो । हामीहरूमाझ एक्यबद्धताको भावना छ, चिकित्सकहरू इन्टर्न गरिरहेकाहरूलाई गएर सोध्छन्, ‘म केही सहायता गर्न सक्छु ?’

चिकित्सकहरू आफैं शय्या घचेडिरहेका छन् र रोगीलाई ट्रान्सफर गरिरहेका छन्, नर्सहरूको आँखामा आँसु छ किनकि हामी सबैजनाको ज्यान जोगाउन सकिरहेका छैनौं । कैयौं रोगीका महत्त्वपूर्ण अंगले उनीहरूको अवश्यम्भावी मृत्युको संकेत दिन थालिसकेका छन् । 

हाम्रो कुनै शिफ्ट छैन, कुनै निर्धारित समयतालिका छैन । हाम्रा लागि सामाजिक जीवन अहिलेलाई स्थगित छ । हामीहरू संक्रमण सार्ने डरले परिवारलाई भेट्न पनि जाँदैनौं । जतिसुकै सतर्कता अपनाएपनि हामीमध्ये केही संक्रमित भइसकेका छौं । 

संक्रमित भएका हाम्रा केही साथीहरूले आफ्ना नातेदारमा संक्रमण सारेका छन् र ती नातेदारहरू जीवनमरणको दोसाँधमा छन् । 

त्यसैले धैर्य हुनुस्, सार्वजनिक ठाउँमा नजानुस् । वृद्धवृद्धाहरूप्रति दया राख्नुस्, तपाईंको गल्तीले उनीहरूको इहलीला समाप्त हुन सक्छ । 

हामीहरू आफूलाई उपयोगी बनाउने प्रयास मात्र गरिरहेका छौं । तपाईंहरूले पनि त्यसै गर्नुपर्छ । केही मानिसको जीवन र मरणलाई हामीले प्रभावित पार्न सक्छौं । हामीले इटलीमा जे भइरहेको छ त्यो संसारभरि हुन सक्छ भन्ने सन्देश फैलाउनु जरूरी छ । 

अनि यो त्रासविरुद्धको युद्ध भनेको के हो म बुझ्दिनँ । यस्तो महामारीका बेलामा हेल्चेक्य्राइँ र असावधानी त्रासभन्दा खतरनाक हुन्छ र ?

चीन

चीनको हुबेइमा जनवरी महिनामा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेर गयो । अनि जनवरीको अन्त्यतिर सरकारले देशका २९ प्रान्तबाट स्वास्थ्यकर्मीका ३४६ वटा टोली हुबेइ पठायो । धेरैजनाको जीवन बचाउनका लागि बाहिरबाट गएका ती चिकित्सकहरूले स्थानीय स्वास्थ्यकर्मीलाई सहयोग गरे । 

चिनियाँ नयाँ वर्षमा मानिसहरू आफ्नो घर फर्किने अनि परिवारसँग रमाइलो गर्ने गर्छन् तर त्यसबेलामा समेत चिकित्सकहरूलाई कोरोनाविरुद्ध लड्न अग्रपंक्तिमा खटाइयो । त्यसबेला खटिएका हजारौं चिकित्सकमध्ये सियाङ लु पनि एक हुन् । 

उनी हुबेइमा हासिल गरेको अनुभव यसरी बाँड्छन् :

धेरैजना स्वास्थ्यकर्मीले हुबेइ जानका लागि अग्रसरता देखाएपछि उनीहरूलाई प्रतीक्षा सूचीमा राख्नुपरेको थियो । स्वास्थ्यकर्मीहरूको पहिलो जत्थामा ६ जना चिकित्सक र नर्सहरू थिए र उनीहरूलाई हाम्रो अस्पताल (नानजिङ मेडिकल युनिभर्सिटीको यिफु अफिलिएटेड हस्पिटल) बाट जनवरी २५ मा पठाइएको थियो । 

चिकित्सा क्षेत्रमा ३० वर्ष बिताएको अनुभवका साथ म अग्रपंक्तिमा रहेर योगदान गर्न चाहन्थें तर महामारीको कठोरता तथा व्यापकता पार पाउन निकै गाह्रो हुने खालको थियो । फेब्रुअरी १० मा मलाई फोनकल आयो र मलाई हुआङ्शी शहरमा जाने टोलीको नेतृत्व गर्न भनियो । चौबीस घन्टाभन्दा कम समयमा मैले एक दर्जन अस्पतालबाट ३१० जना स्वास्थ्यकर्मीको टोली बनाउनुपर्ने भयो ।

केही स्वास्थ्यकर्मीलाई म त्यसअघि चिन्दिनथिएँ र म हुआङ्शीका बारेमा त्यति जान्दिनथिएँ । तर मैले बटुलेको व्यवस्थापन तथा क्लिनिकल अनुभव अग्रपंक्तिमा डटिँदा काम लाग्छ भन्ने मलाई थाहा थियो । यस मिसनमा रहेका सबैजना कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन उत्सुक थिए । म दबाबमा थिएँ र तनावग्रस्त पनि थिएँ तर ममा पूर्ण आत्मविश्वास थियो । 

त्यतिखेर हुआङ्शीमा महामारी चरममा पुगेको थियो । हामीहरू त्यहाँ पुग्दा ८०० जति बिरामी भर्ना गरिएका थिए र तीमध्ये १०० जना जतिको स्वास्थ्यस्थिति गम्भीर थियो । स्वास्थ्यकर्मीहरू एकदमै थाकेका थिए र सुरक्षा सामग्रीहरूको अभाव थियो । 

हाम्रो टोली सबभन्दा अप्ठ्यारो परेको बेलामा आइपुगेको थियो र भाइरसविरुद्धको घनीभूत लडाइँको स्थिति थियो । काम गर्न असाध्यै गाह्रो थियो । परिस्थितिहरू कमजोर हुँदा लडाइँ लड्न लगभग असम्भव हुन्छ । 

पहिलो दुई हप्ता हामीले लगभग २४ घन्टा नै काम गर्‍यौं । खाना खान समेत हामीलाई समय थिएन, परिवारसँग सम्पर्क गर्नु त परको कुरा । हामीले शय्याहरू थप्नका लागि अस्पताललाई नवीकरण गर्‍यौं अनि गम्भीर स्थितिमा रहेका रोगीहरूलाई राम्रो उपकरणले सुसज्जित अस्पतालहरूमा पठायौं । 

मैले जनरल वार्डलाई सघन उपचार वार्डमा परिणत गर्नका लागि सिकर्मीको काम समेत गरें । राष्ट्रिय मापदण्ड अनुरूपको वार्ड हामीले रातभरिमा तयार पार्नुपर्ने थियो ।

कोभिड–१९ को उपचारका लागि कुनै पनि औषधि उपलब्ध थिएन तर मेरो अनुभवले भन्छ– यथाशीघ्र रोगको पहिचान गर्नु र रोगीको उपचार गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । मैले आशालाग्दा केही केसहरू देखेको छु : गम्भीर अवस्थामा रहेका ९३ वर्षीय एक बिरामी निको भए अनि अर्का रोगीलाई दुई चरणमा भेन्टिलेटरमा राखेपछि निको बनाएर अस्पतालबाट छुट्टी दिइयो । 

शुरूआतदेखि नै विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले महामारीविरद्ध चीनको लडाइँका विषयमा निष्पक्ष मूल्यांकन गरे र सही निर्णय लिए । एक्यबद्धता र सहयोगको यो राम्रो संकेत थियो । 

अर्काले आफूलाई गलत नबुझ्नु एकदमै महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ । चिकित्सक भएका नाताले हामीहरू कठिनाइसँग डराउँदैनौं, थकानसँग हार्दैनौं । तर मानिसहरूले विशेषगरी यस्तो कठिन परिस्थितिमा हामीलाई सही तरिकाले बुझून् भनी हामी आशा गर्छौं । 

हाम्रो टोली आफ्नो मिसन पूरा गरेर यही हप्ता घर फर्किंदैछ । हाम्रो टोलीको कसैलाई पनि अनि स्थानीय स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण नभएकोमा म खुशी छु । 

सर्वसाधारणलाई मेरो मुख्य सन्देश छ– नआत्तिनुस् ।

‘वुहानमा कोरोनाका केसहरू ह्वात्तै बढ्दा धेरै मानिस आत्तिए र अस्पतालतिर दौडिए जसले गर्दा संक्रमण थपियो । त्यसैले शान्त हुनुस्, अनि सकेसम्म घरभित्रै बसिरहनुस् । मैले बाँड्न सक्ने सबभन्दा महत्त्वपूर्ण अनुभव यही हो ।’

अनुवाद : विन्देश दाहाल
 

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x