
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन् ।
कारागार प्रशासनका अनुसार कारागारको सजाय भुक्तानी गर्नु अगाडिदेखि नै सिलाइ पेशामा रहेका ७ कैदीबन्दीले मास्क उत्पादन थालेका हुन् ।
कोरोना भाइरस संक्रमणबाट बच्नका लागि भीमफेदी कारागारका कैदीले मास्क उत्पादन गर्न थालेको बताइएको छ । कारागारबाट दैनिक २०० देखि ३०० मास्क उत्पादन हुने र हेटौंंडा तथा काठमांडौंंमा पठाइने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताए ।
बजारमा ३० देखि ५० रुपैयाँसम्म बिक्री हुने मास्क कारागारले २० रुपैयाँमा बिक्री गर्ने योजना बनाएको खनालले जानकारी दिए । माग भएमा दैनिक १ हजार मास्क उत्पादन गर्न सक्ने कैदीबन्दीको भनाइ छ ।
यसका साथै कारागारमा गलैंंचा, मुडा र बोधिचित्तको माला बुनाइ लगायत काममा कैदीबन्दी व्यस्त छन् । कारागारमा उत्पादन भएका सामग्री तेस्रो मुलुक निर्यात भएपनि कोरोनाले विश्वव्यापी आक्रमण गरेपछि भने हाल यी कार्य रोकिएको उनको भनाइ छ ।
बजारमा स्यानिटाइजरको माग उच्च
कोरोनाको विश्वव्यापी महामारी फैलिएपछि भारतबाट आयातीत करीब १ करोडको स्यानिटाइजर बिक्री भएको उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ । औषधि र किराना पसलमा गरेर उक्त रकम बराबरको स्यानिटाइजर बिक्री भएको संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताए ।
करीब ४ हजार किराना पसल दर्ता भएका र अझ दर्ता नभएका गरी सबैबाट स्यानिटाइजरको बिक्री भइरहेको उनको भनाइ छ ।
उद्योग सञ्चालनमा
सामान्य अवस्थामा निजी अस्पताल र शिशु भएका केही घरमा मात्र खपत हुने गरेको स्यानिटाइजर हाल बजारमा उच्च मागमा रहेको छ । भारतबाट आयात गरेर बिक्री गर्ने गरिएको स्यानिटाइजर बजारमा अभाव हुन थालेपछि र माग उच्च भएपछि हेटौंंडामा यसको उद्योग नै सञ्चालनमा आएको छ ।
हेटौंंडा–८ का ५० वर्षीय ऋदयराज गौतमले ३ वर्षअघि घरेलुमा दर्ता गरेको ऋद्धिसिद्धि कस्मासिकल उद्योगले अहिले स्यानिटाइजर उत्पादन गरिरहेको छ । औषधिजन्य गुण भएका शृंगारका सामग्री उत्पादन गर्ने उद्देश्यले दर्ता गरिएको उद्योगले स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेको उद्योगका सञ्चालक गौतमले बताए ।
उनले कच्चा पदार्थ भारतबाट समेत ल्याउनु नपर्ने बताउँदै चिनी मिलबाट अल्कोहल, हेटौंडा र वीरगञ्जबाट ग्लिसरिन, हाइड्रो प्याराअक्साइड लगायत खरिद गरिरहेको जानकारी दिए । गौतमको उद्योगले कोरोनाको संक्रमण विश्वव्यापी भएसँगै २० हजार बोतल स्यानिटाइजर उत्पादन गरेर बिक्री गरेको बताएको छ ।
हेटौंडामा यसअघि भारतीय कम्पनीका स्यानिटाइजर मात्र बिक्री हुने गरेको र घरेलु उत्पादन शून्य थियो । – अञ्जली थापा चुरियामाई,/रासस