×

NIC ASIA

‘चुके’ दर्जन न्यायाधीश र सिडिओ: हत्या, हतियार र गोलीकाण्डका ‘अभियुुक्त’ रिहा [लोकान्तर खोज]

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels


जनकपुरधाम, १० वैशाख–
धबौली–६, धनुषाका बब्लु मण्डल पाँच वर्षअघि हतियारसहित पक्राउ परे । १७ भदौ २०६९ मा जनकपुर–१६ स्थित पुलचौकमा राति ८ बजे सडकमा हिँडिरहेका बेला प्रहरीले उनको शरीरको खानतलासी लियो । एक थान कटुवा पेस्तोलसहित उनी समातिए ।

वर्षदिनअघि भारतको सीतामढीबाट ५ सय रुपैयाँमा उक्त अवैध हतियार किनेको बयान उनले प्रहरीमा दिए । लगत्तै प्रहरीले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजानाको मुद्दा दर्ता ग–यो ।
प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायको इजलासले ५ असोज २०६९ मा महोत्तरीको जलेश्वर स्थित कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो ।

Muktinath Bank
१२ मंसिर २०७० मा पक्राउ परेका पारस मुक्ति भनिने राम सोभित यादव, राजन मुक्ति भन्ने रंजित झा र अजय मुक्ति भन्ने दिपक कुमार सिंह हत्कडीमा 


त्यसपछि धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि प्रसाद अधिकारीको इजलासले १३ फागुन २०७२ मा मण्डललाई कसुरदार ठहर गर्यो । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ ले साविकको सजायलाई घटाई ६ महिना देखि १ बर्षसम्मको कैदको सजाय हुने भनि संशोधन भएकोले सोही संशोधित ऐनको दफा २० (२) अनुसार प्रतिवादी बब्लु मण्डललाई एक बर्षको कैदको सजाय हुने र बरामद पेस्तोल जफ्त हुने फैशला अदालतले सुनायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक बर्षको कैद सजाय मात्र ठहर भएका बब्लु १७ भदौ २०६९ देखि प्रहरी हिरासतमा र ५ असोज २०६९ को आदेशबाट जलेश्वर कारागारमा रहे । अदालतले सजाय ठहर गर्दा सम्म बब्लुले ३ बर्ष ६ महिना कैद सजाय भुक्तान गरिसकेका थिए ।


Advertisment
Nabil box
Kumari

यसरी हेर्ने हो भने सम्बन्धित निकायको लापरवाहीका कारण हातहतियार तथा खरखजाना मुद्दामा १ देखि ३ बर्षसम्म विगतमा कैद र हाल १ बर्षसम्मको कैद सजाय व्यवस्था मात्र रहेपनि प्रतिवादीहरुले त्यो भन्दा वढी सजाय भुक्तान गर्नुपर्ने बाध्यता छ । न्याय निरुपण गर्ने निकायहरुले समयमा फैसला नगरेपछि अभियूक्त वा कसुरदारहरुले वढी सजाय भुक्तान गर्नु परिरहेको भेटिएको हो ।

Vianet communication



आवश्यक भन्दा बढी समय जेलमा वस्न वाध्य पारिएकाहरुले त्यसबाट राज्यबाट कुनै पनि किसिमको क्षतिपुर्ती पाएका छैनन् । हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार हातहतियार तथा खरखजाना मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।

कसैले तोप वा मेसिनगन तयार गर्ने वा मर्मत गर्ने, आफुसाथ राख्ने वा अन्य स्थानमा राख्ने वा राख्न लगाउने, एक रुपबाट अर्को रुपमा परिणत गर्ने, बेच्ने वा विक्रीको लागि दिने वा राख्ने कसुर ठहर भएपछि ३ बर्ष देखि ७ बर्षसम्म कैद वा ६० हजार देखि १ लाख २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ । अन्यथा अवैध हतियार सन्दर्भमा १ देखि ३ बर्षसम्म कैद वा २० हजार देखि ६० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीले हातहतियार तथा खरखजाना मुद्दामा फैसला गर्ने गर्छन् ।

हतियारसहित पक्राउ परेका भूमिगत समूहका पृथ्वी सिंह भनिने श्याम यादव


विगतको के देखिन्छ भने प्रमुख जिल्ला अधिकारीहरुले हातहतियार तथा खरखजाना मुद्दामा आफ्नो विवेकको प्रयोग गरी धरौटीमा वा तारेखमा या थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश एकातर्फ दिने गरेका छन् भने अर्को तर्फ उक्त आदेशलाई फैसलामा रुपान्तरण गरी मुद्दाको किनारा लगाउने काम गरेको पाइएको छैन ।

जसले गर्दा धनुषामा एकातर्फ कोही प्रतिवादी थुनामा छन् भने बास्तविक सजाय पाउनुपर्ने भन्दा धेरै वढी समय सम्म थुनिएका छन् । र, पनि मुद्दाको किनारा लागेको छैन । अर्को तर्फ प्रजिअले धरौटीमा वा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नू भनि आदेश दिएका छन् भने अन्तिम किनारा लाग्दा दण्ड वा सजायको फैसला अदालतबाट भएको अवस्थामा ती अपराधिहरु फरार हुने गरेका छन् ।

३ असोज २०७२ मा नेपालको संविधान जारी भएपछि १ बर्ष भन्दा माथिको कैद हुने मुद्दा अदालतको अधिकार क्षेत्र भित्र पर्ने भनेर कानुनमा उल्लेख भएपछि जिल्ला प्रशासन कार्यालय धनुषामा २०६३ साल देखिकै थन्किएका हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराधका मुद्दा अन्तर्गतका सम्पुर्ण मिसिलहरु धनुषा जिल्ला अदालतमा पठाइयो ।

आर्थिक वर्ष २०७३/०७४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले हातहतियार तथा खरखजाना मुद्दामा थुनछेक प्रयोजनमा प्रायः थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न दिएको आदेश


धनुषा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाबाट २ पुष २०७२ मा जम्मा ४ सय २५ थान मुद्दाहरु अदालतमा पठाइएको थियो । जसअन्तर्गत ३ सय ६३ वटा मुद्दाहरु केही सार्वजनिक अपराधका थिए भने ६२ थान मुद्दाहरु हातहतियार तथा खरखजानाका थिए ।

६ बैशाख २०७४ सम्मको अभिलेख अनुसार धनुषा जिल्ला अदालतले केही सार्वजनिक अपराधका मुद्दाहरु लगभग फैसला गरी किनारा लगाईसकेको छ । ६२ मध्ये २७ वटा हातहतियार तथा खरखजाना मुद्दाको फैसला गरी किनारा लगाएको छ भने ३५ थान मुद्दाहरु अझै पनि अदालतमा विचाराधिन छन् ।

विचाराधिन मुद्दाको टुङ्गो कहिले ?

२४ फागुन २०६३ मा धनुषाको तुल्सी गाविस १ स्थित केही व्यक्तिहरुले खुकुरी तथा भरुवा बन्दुक देखाई आफ्नो साथबाट १७ हजार ८ सय ४४ रुपैयाँ नगद लुटेर फरार भएको भन्दै गोविन्द काफ्लेले प्रहरीमा उजुरी दिए । प्रहरीले खोजी गर्दै जाँदा उक्त घटनाका अभियूक्तहरु तुल्सी १ का दानबहादुर थापा मगर र मदन कुमार दर्लानलाई पक्राउ गर्यो ।

घटनामा प्रयोग गरिएको भरुवा बन्दुक र सिकाडिया डाँडा भन्ने जंगल भित्र रहेको सखुवाको रुख मुनि लुकाईछिपाई राखेको अवस्थामा भरुवा बन्दुक प्रहरीले बरामद गर्यो ।

चोरी मुद्दा अन्र्तगत धनुषा जिल्ला अदालतका न्यायाधीश भिमकुमार ओझाको इजलासबाट १३ अषाढ २०६३ मा जनही ५ सय धरौटी लिई तारेखमा राखि मुद्दाको पुुर्पक्ष गर्ने र हातहतियार खरखजाना मुद्दामा प्रहरी मार्फत जिल्ला प्रशासन कार्यालय धनुषामा कारवाहीका लागि पठाईदिने आदेश भयो । तर, धरौटी नराखिएकोले दुवै जना प्रतिवादीलाई १४ अषाढ २०६३ मा महोत्तरीको जलेश्वर कारागार स्थित थुनामा पठाइयो । त्यसपछि धनुषा जिल्ला अदालतका न्यायाधीश प्रेम बहादुर केसीको इजलासले रहजनी चोरीमा दुवै जनालाई कसुरदार ठहर गरी जनही २ महिना कैद र ३० हजार जरिवानाको फैसला भयो ।

दुवै जना पहिले देखि नै थुनामा रहि सजाय भुक्तान गरिसकेकाले कैद मुक्त गरियो । त्यसपछि पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय राघव लाल वैद्य र गिरी राज पौड्यालको संयूक्त इजलासले पनि सुरुको अदालतको फैसलालाई नै सदर गर्यो ।

एकजना प्रतिवादी सिकिन्द्र यादवबाट बरामद हतियार 


यता १२ अषाढ २०६३ मा हातहतियार तथा खरखजाना मुद्दा अन्र्तगत जिल्ला प्रशासन कार्यालय धनुषामा ती दुवै जना विरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । तर, उक्त मुद्दामा उनीहरुलाई उपस्थित गराईदिन भनेर जिल्ला प्रशासनले जलेश्वर कारागार शाखालाई २२ कार्तिक २०६३, ४ मंसिर २०६८ र २५ अषाढ २०७० मा गरी विभिन्न मितिमा थुनुवा पठाई मुद्दाको किनारा गर्न पत्राचार गरेको पाइन्छ । तर, उपस्थित गराइएन ।

त्यसपछि उक्त मुद्दा धनुषा जिल्ला अदालतमा गयो । अदालतले पनि १० कार्तिक २०७३, २६ मंसिर २०७३ र ४ पुष २०७३ मा प्रतिवादीहरुलाई झिकाई बयान गर्न पत्राचार गरेको छ । ती प्रतिवादीहरु हालसम्म फरार छन् र हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।

७ अषाढ २०६४ मा प्रहरी निरीक्षक जयन्त थापाको टोलीे गस्तीमा थियो । राति ८ बजेको समयमा उक्त टोली धनुषाको धबौली ३ स्थित सडकमा पुग्यो । भारत तर्फबाट ज २ प ५३८ नम्बरको मोटरसाईकलमा चढी ३ जना आईरहेको प्रहरीले देख्यो र शंका लागेपछि उनीहरुलाई समात्यो ।

खानतलासी गर्दा माचिझिट्कहिया ६ बस्ने सुभाष यादवको पाइन्ट भित्र कम्मरमा १२ बोरको गोली फिट हुने कटुवा पेस्तोल १ थान, सोको गोली १ थान र एसएलआरको गोली १ थान बरामद भयो ।

धनुषा प्रहरीले पक्राउ परेका सुभाष यादवसँगै बल्हासघारा ५ का मनोज कुमार मण्डल र माचिझिट्कहिया ५ का लालबाबु मण्डल गरी तिनै जना विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्यो ।

प्रमुख जिल्ला अधिकारीले १४ अषाढ २०६४ मा १२ हजार धरौटीमा रिहा गरी तारेखमा मुद्दाको पुर्पक्ष गर्ने आदेश गरे । तर पछि उक्त मुद्दा धनुषा जिल्ला अदालतमा पुग्दा न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासले १ मंसिर २०७३ मा हातहतियार तथा खरखजाना मुद्दामा जनही ३ बर्ष कैद सजायको फैसला भयो । अदालतले कैद फैसला गरेपनि उनीहरु हालसम्म फरार छन् ।

३१ जेष्ठ २०६४ मा राति पौने १० बजेको समयमा सर्लाही ५ तथा हाल जनकपुर ६ स्थित संजिव कुमार साहको कोठामा केही मानिसहरु हातहतियार सहित बसेको सूचनाका आधारमा खानतलासी गर्दा पारस राउत, सुमित चौहान, जितेन्द्र पासवान फेला परे । कोठा भित्र लुकाईराखेको सिक्सर पेस्तोल १ थान, गोली ४ थान र हातमा लगाउने फलामको फाईटर १ थान प्रहरीले बरामद गर्यो ।



सिरहा महेशपुर तथा हाल जनकपुर ९ बस्ने चार्जर भन्ने जितेन्द्र पासवान र जनकपुर १ बस्ने शिवदास भन्ने शंकर दास विरुद्ध प्रहरीले सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गर्यो ।

उक्त मुद्दामा प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले ८ अषाढ २०६४ मा जितेन्द्र पासवानलाई २० हजार धरौटीमा र शिवशंकर दासलाई १३ कार्तिक २०६४ मा २२ हजार धरौटीमा तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरे ।

ती दुवै जना प्रतिवादीहरु धरौटीमा रिहा भएपनि हालसम्म मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन छ ।

२६ अषाढ २०६४ मा जनकपुर नगरपालिका ७ स्थित भ्रमरपुरा चौकमा जनकपुर नगरपालिका १ बस्ने सुनिल कुमार ठाकुरलाई प्रहरीले १२ बोरको नलकटुवा बन्दुक १ थान, गोली १ थान र दाव नभएको खुकुरी २ थान सहित पक्राउ गर्यो ।

सोही दिन राति साढे ७ बजेको समयमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य ज्वाला सिंहको निर्देशनमा आफू समेतको संलग्नतामा होम प्रसाद विमलीलाई ज्यान मार्ने मनसायले गोली प्रहार गरेको र आफू पक्राउ पर्दा उक्त हतियार बरामद भएको वयान सुनिल ठाकुरले प्रहरीमा दिए ।

२६ अषाढ २०६४ मै राजन मुक्ति भन्ने रंजित झा, सुर्यदेव सिंह भन्ने श्रीचन महतो, मनोज दास भन्ने चुल्हवा दास, सुनिल कुमार ठाकुर, शिवदास भन्ने शंकर दास समेत मिली आफूलाई घेराउ गरेर टाउकोमा गोली प्रहार गरेको भनेर घाईते विमलीले कागज गरेका थिए ।

त्यसपछि सबैला ९ बस्ने मनोज दास भन्ने चुल्हवा दासलाई प्रहरीले फेला पारी नलकटुवा पेस्तोल १ थान र थ्रिनट थ्रि को गोली १ थान सहित पक्राउ गरी धनुषा जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्दा अदालतबाट १ हजार धरौटी लिइयो र उनि रिहा भए ।

हातहतियार तथा खरखजाना मुद्दामा प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले २८ साउन २०६४ मा चुल्हवा दासलाई र २१ भदौ २०६५ मा सुनिल ठाकुरलाई ५/५ हजार धरौटी लिई रिहा गरे । तर, हालसम्म पनि उक्त मुद्दाको किनारा नलागेको अवस्थामा धनुषा जिल्ला अदालतमा विचाराधिन रहेको छ ।

१३ पुष २०६४ मा धनुषाको ठाढी झिझा ५ स्थित प्रहरीले २ वटा मोटरसाईकलको पिछा गर्दा ४ जना मध्ये ३ जना भाग्न सफल भए । ठाढी झिझा ८ बस्ने शत्रुधन पासवान मोटरसाईकल छाडी भाग्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरी मोटरसाईकलको तलासी लियो । त्यस क्रममा कटुवा पेस्तोल १ थान, रातो रंगको स्पेशल लेखिएको गोली ४ थान प्रहरीले पक्राउ गर्यो ।

प्रहरीले शत्रुधन सँगै सर्लाही नेत्रगंज १ बस्ने कारी पासवान, राजु पासवान र धनुषाको दुहवी ५ बस्ने राजाराम पासवान गरी ४ जना विरुद्ध २६ बैशाख २०६४ मा सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गर्यो ।

२७ बैशाख २०६४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद रेग्मीले शत्रुधन पासवानलाई २० हजार धरौटीमा तारेख दिई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिए । अन्य फरार प्रतिवादीहरुको हकमा कानुन बमोजिम म्याद जारी गर्ने आदेश समेत गरे । त्यसपछि फरार रहेका प्रतिवादीहरु हालसम्म पक्राउ परेका छैनन् र धरौटीमा शत्रुधन रहेपनि हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।

१९ जेष्ठ २०६५ मा राति १२ः १५ को समयमा धनुषा बसपिट्टी ५ स्थित रामनारायण मण्डलको घरमा अन्दाजी २०/२५ जना डाँकाहरुको समुह आई रामनारायण मण्डललाई गोली हानि हत्या गरे । घटनाको अनुसन्धान गर्दै जाँदा धनुषा प्रहरीले महोत्तरी साँढा ६ का रमेश शर्मा ठाकुरलाई पक्राउ गर्यो ।

‘रामनारायण मण्डललाई एसएलआरको गोली फिट हुने कटुवा पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरी मारेको हो । भाग्ने क्रममा मैले प्रयोग गरेको कटुवा पेस्तोल महोत्तरी महदैया तपनपुर ७ का अजय शर्मालाई राख्न दिएको हो भन्ने रमेश शर्मा ठाकुरको बयान सहित धनुषा जिल्ला अदालतमा खुन डाँका मुद्दा चलाइयो । खुन डाँका मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका रमेश शर्मा ठाकुर हातहतियार तथा खरखजाना मुद्दामा समेत धनुषाका प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले ७ साउन २०६५ मा तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । धरौटीमा ठाकुर रहेपनि हातहतियार मुद्दा हालसम्म किनारा लागेको छैन । र, धनुषा जिल्ला अदालतमा विचाराधिन छ ।

१२ अषाढ २०६५ मा जनकपुर ४ स्थित राम एकवाल शर्माको घरमा डेरा गरि बस्ने जनकपुर नगरपालिका कार्यालयका ओभरसियर जितेन्द्र प्रसाद साहको गोली हानि हत्या गरियो । उक्त घटनामा प्रहरीले लक्ष्मीपुर बगेवा ७ बस्ने कुम्हरौडाका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका संयोजक राजन मुक्ति भन्ने रंजित झा, गोपालपुर ३ का आकाश मुक्ति भन्ने दिपक यादव र गोपालपुर ३ का पुने यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजानाको मुद्दा दर्ता गर्यो ।

चन्दा रकम माग गर्दा ओभरसियर साहले चन्दा नदिएको कारण प्रतिवादीहरुले योजना बनाई कार्य विभाजन गरी अवैध हातहतियार पेस्तोल बोकी राति १ः३० को समयमा हत्या गरेको भनि १७ पुष २०७० मा मुद्दा दर्ता भयो ।

तर, जिल्ला प्रशासन कार्यालय धनुषामा कुनै पनि कारवाही अगाडी वढेन । त्यसपछि धनुषा जिल्ला अदालतमा न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यले प्रतिवादी राजन मुक्तिसँग हातहतियार तथा खरखजाना मुद्दामा बयान लिएपनि हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।

२६ साउन २०६५ मा धनुषाको प्रहरी चौकी ललियाबाट खटिएको गस्ती टोली हंसपुर कठपुल्ला १ स्थित पुग्यो । बाटो ढुकी बसेका डाँकाहरुले गस्ती प्रहरी माथि गोली प्रहार गरे । प्रहरी सहायक निरीक्षक बैद्यनाथ दासलाई गोली लाग्यो । उनी घाईते भए । प्रतिवाद स्वरुप प्रहरीले समेत गोली प्रहार गर्दा डाँका समुहका मोती पासवानको मृत्यु भयो । अन्य डाँकाहरु फरार भएपनि डाँका मध्येका कुलदीप पासवानलाई प्रहरीले पक्राउ गर्यो । उसको शरीरको खान तलासी गर्दा ३०३ राईफलको गोली २ थान, कटुवा पेस्तोल १ थान बरामद भयो ।

प्रहरीले पक्राउ परेका औरही ८ बस्ने कुलदीप पासवान सहित सुगा मधुकरही ५ का शिवविलास पासवान, उसको छोरा शितला पासवान, औरही ८ का रामबाबु पासवान, चल्ठा पासवान, उमेश पासवान, सियानन्द पासवान र औरही ८ कपटौलका मोती पासवान विरुद्ध धनुषा जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्यो ।

२५ भदौ २०६५ मा धनुषा जिल्ला अदालतका न्यायाधीश हेमराज पन्तको इजलासले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका कुलदीप पासवानलाई तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो ।

अर्को तिर हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीले कुलदीपलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिए । ३१ भदौ २०६६ मा पक्राउ परेका सोही मुद्दाका अन्य दुई जना प्रतिवादीहरु रामबाबु पासवान र चल्ठा भन्ने रामपृत पासवानलाई प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिए ।

फेरी सोही मुद्दामा पक्राउ परेका अर्को प्रतिवादी सियानन्द पासवानलाई ११ कार्तिक २०६६ मा प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्कीले हातहतियार मुद्दामा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरे ।

त्यसपछि पुनरावेदन अदालत जनकपुरबाट १० बैशाख २०६७ मा रामबाबु पासवान, रामपृत पासवान र सियानन्द पासवान तारेखमा रिहा भए । तर, हातहतियार खरखजाना मुद्दामा करिब ९ बर्ष देखि महोत्तरीको जलेश्वर कारागारमा थुनामा रहेका कुलदीप पासवान हालसम्म थुनामै छन् । धनुषा जिल्ला अदालतमा अहिले उक्त मुद्दा विचाराधिन छ ।

२ पुष २०६५ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक कुमार पंडितको टोलीले धनुषाको लक्ष्मिपुर बगेवा ७ बस्ने विद्यानन्द झाको छोरा मनोज कुमार झाको घरमा खानतलासी गर्यो ।

मनोज मुक्ति भनिने मनोज झा सशस्त्र समुहका राजन मुक्ति समुहका संयोजक राजन मुक्ति भनिने रंजित झाका दाई हुन् । राति ३ बजे प्रहरी टोली मनोज झाको घरमा गएर राजन मुक्ति घरमा आएको छ भन्दै खानतलासी गर्दा मनोजको घरबाट टिनको ड्राममा लुकाइएको कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बरामद गरी मनोज झालाई गिरफ्तार गर्याे ।

१३ पुष २०६५ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिए । मनोज झा रिहा हुने वित्तिकै भुमिगत भई सशस्त्र समुहमा आवद्ध भए । पछि ३१ जेष्ठ २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माले कसुरदार ठहर गर्दै मनोज झालाई ६० हजार रुपैयाँ जरिवाना हुने आदेश गरे ।

‘प्रतिवादीले आफ्नो इन्कारीलाई सबुद प्रमाणबाट खण्डन गर्न सक्नु पर्नेमा सो नगरी तोकिएको २५ पुष २०६५ को तारेख गुजारी बसेको देखिएको समेतको आधारमा मनोज झाले कसुर गरेको देखिँदा ६० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ’ अदालतको फैशलामा भनिएको छ ।

फैसला भएपछि पनि मनोज झा मुक्तिले हालसम्म उक्त जरिवाना बुझाएका छैनन् । उनी अहिले पनि अर्धभुमिगत शैलीमा बस्दै आएका छन् ।

३ जेष्ठ २०६६ का दिन विहान ९ः४० को समयमा जयनगरबाट बैदेही हुँदै परवाहा तर्फ आईरहेको रेल गाडी परवाहा १ स्थित क्रिप पुल नजिक आईपुग्यो । उक्त रेलगाडीको डब्बा नम्बर ९ सय ३४ मा खरखजाना डेटोनेटर समेत प्रयोग गरी ग्यास सिलिन्डर बम विस्फोट गराइयो । उक्त विस्फोटनमा परी रेलमा यात्रा गरिरहेका महिला तथा पुरुष समेत गरी २९ जना यात्रीहरु बमको छर्रा लागी घाईते भए ।

अखिल तराई मुक्ति मोर्चा गोइत समुहको निर्णय अनुसार उक्त घटना घटाएको हो भनि लक्ष्मीपुर बगेवा ३ का पृथ्वी सिंह भन्ने श्याम यादवले प्रहरीमा बयान गरे । त्यसपछि धनुषा प्रहरीले श्याम यादवसँगै सिरहाका खुदिराम भन्ने रामनारायण यादव, जनकपुर ३ का शिवहरे भन्ने राजकपुर साह र धनुषाको धनौजी कटैयाको फुलगेन सहनी विरुद्ध ३ कार्तिक २०७० मा जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता गर्यो ।

उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमको आदेश वा प्रतिवादीसँग बयान समेत लिएन । त्यसपछि उक्त मुद्दा धनुषा जिल्ला अदालतमा पुगेपनि हालसम्म किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा छ ।

२९ बैशाख २०६६ मा जिल्ला विकास समिति धनुषाका कर्मचारी जिवनाथ चौधरीलाई ११ बजेको समयमा जनकपुरमा गोली प्रहार भयो । चौधरी घाईते भई उपचार गराई जोगिए ।

भुमिगत समुहका सदस्यहरुलाई सहयोग नगरेको तथा भुमिगत सदस्यहरुको सुराकी गरेको भन्ने आरोपमा अखिल तराई मुक्ति मोर्चाका गोईत समुहका पोलिट व्यूरो सदस्य समेत रहेका लक्ष्मीपुर बगेवा ३ का पृथ्वी सिंह भन्ने श्याम यादवको योजना र निर्देशनमा जनकपुर ३ का शिवहरे भन्ने राजकपुर साह, सर्लाही मलंगवा १० का मुकेश पंडित र जनकपुर १० का राकेश नेपाली विरुद्ध धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गर्यो ।

धनुषा प्रहरीले श्याम यादवको बयान १५ असोज २०७० मा लिएका थिए । चौधरीलाई हत्या गराउनका लागि हतियार उपलब्ध गराएको यादवको बयान थियो । तर, हालसम्म जिल्ला प्रशासन कार्यालयमा यादवको बयान गराइएको छैन । अन्य प्रतिवादीहरु मुकेश पंडित अर्को ज्यान मुद्दामा अदालतबाट जन्मकैद सजाय पाएर कारागारमा थुनामा छन् भने अर्का प्रतिवादी राकेश नेपालीको भारत विहारको सितामढी जिल्लामा हत्या गरिएको छ ।

तर, हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन छ ।

२१ साउन २०६७ मा जनकपुर ४ स्थित रुक्मिनि श्रेष्ठको घरमा डेरा गरेर बस्ने श्रीराम यादवको कोठामा खान तलासी गर्दा गम्छाले बाँधेर झुन्डयाइएको अवस्थामा मेड ईन यूएस लेखेको सिक्सर १ थान र गोली ४ थान सहित यादवलाई प्रहरीले पक्राउ गर्यो ।

हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वर कुमार सिन्हाले १३ भदौ २०६७ मा तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिए ।

त्यसपछि पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय फनिन्द्र दत्त शर्मा र राजकुमार बमको संयूक्त इजलासले ३ चैत्र २०६७ मा प्रतिवादी यादवलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु भनि आदेश दिए । त्यसपछि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माले ८ अषाढ २०७३ मा कसुरदार ठहर गरी २० हजार रुपैयाँ जरिवाना गरियो ।

फेरी प्रजिअकै कार्यक्षेत्र

हातहतियार तथा खरखजाना मुद्दा हेर्ने अधिकार अदालतलाई दिएपनि १३ फागुन २०७२ मा केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ प्रमाणीकरण भएपछि उक्त अधिकार फेरि प्रमुख जिल्ला अधिकारीलाई नै दिइएको छ । १ बर्ष भन्दा कम सजाय हुने अपराधहरु हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीले प्राप्त गरेका छन् ।

चालु आर्थिक बर्ष २०७३/०७४ को चैत्र मसान्तसम्ममा धनुषा प्रहरीले ६ थान हातहतियारको मुद्दा दर्ता गरेको छ । २२ साउन २०७३ मा जनकपुर ९ थापा चौकबाट कटुवा पेस्तोल २ थान सहित पौडेश्वर ८ का इलियाकत राईन, सक्रुदिन राईन, मोवारक राईन, मानसिंहपट्टी ४ का रोशन महरा, गोपालपुर ४ का सन्तोष कुमार यादव, धनुषाधाम १ का रुपनारायण यादव, गोपालपुर २ का चन्देश्वर कुमार यादव र महोत्तरी भ्रमरपुरा ३ का इसाइनुल राईनलाई पक्राउ गरेको थियो ।

उक्त मुद्दामा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले ६ असोज २०७३ मा सबै प्रतिवादीहरुलाई जलेश्वरको कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् ।

२८ फागुन २०७३ मा धनुषाधाम नगरपालिका ७ बाट टोटाबन्दुक १ थान र गोली १ थान सहित धनुषाधाम ७ का महेन्द्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका ७ बस्ने महेन्द्र यादव र सोही टोलका हरि यादव बीच भएको सामान्य बादविवादको क्रममा महेन्द्र यादवले आफ्नो घरमा रहेको अवैध बन्दुकमा गोली (टोटा) लोड गरी हान्न खोजेको अवस्थामा प्रहरी गई पक्राउ गरेको थियो ।

१०/११ बर्ष पहिले उक्त हतियार खेतमा फेला पारी लुकाई छिपाई राखेको बयान दिएको थियो । धनुषाका प्रजिअ दिलिप कुमार चापागाईले २ चैत्र २०७३ मा जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेका छन् ।

६ चैत्र २०७३ मा धनुषाको तुल्सी ९ स्थित घरमा लुकाईछिपाई राखेको बन्दुक सहित तुल्सी ९ का भक्त बहादुर थापा मगरलाई पक्राउ गरेको छ । आफ्नो घर जंगल छेउमा रहेकाले जंगली हाति लगायतका जंगली जनावर आई घर भत्काउने तथा बालिनाली नष्ट गर्ने र मान्छे समेत मार्ने गरेका कारण जंगली जनावरलाई तर्साउनका लागि १०/१२ बर्ष पहिले नै उक्त हतियार कोही कसैलाई जानकारी नदिई आफ्नो घरमा लुकाई छिपाई राखेको प्रजिअ कहाँ मगरले बयान गरेका छन् । २२ चैत्र २०७३ मा प्रजिअ दिलिप कुमार चापागाईले जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेका छन् ।

९ चैत्र २०७३ मा धनुषा प्रहरीले तराइका जिल्लाहरुमा भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै आएको मधेस राष्ट्र जनतान्त्रिक पार्टीका दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । भूमिगत समूह मधेस राष्ट्र जनतान्त्रिक पार्टीमा विगत ६ वर्षदेखि धनुषा इन्चार्ज रहेका धनुषा ठाडिझिझा–५ का ३५ वर्षे प्रमोद ठाकुर बडेरी र झटियाही– ७ का ३८ वर्षे रामउद्गार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विषेश प्रहरी टोलीले धनुषाधाम नगरपालिका–९ धारापानी चोकबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । दुबै जना भूमिगत संगठनको नाममा गोली प्रहार गर्ने, बम बिष्फोट गराउने, धाकधम्की दिई चन्दा असुली गर्ने तथा हातहतियार र खरखजना मुद्धाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रमोद ठाकुर गएको फागुन १ गते सिरहा मिर्चैयामा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका नेता लालु खानलाई गोली प्रहार गरी घाइते बनाएको घटनामा फरार थिए । ठाकुरको धनुषामा रहेको आफन्तको घरबाट २०६९ जेठ ३० गते एसएमजी १ वटा, यसमा लाग्ने म्याग्जीन १ वटा, गोली १२ राउण्ड, १२ बोरको कटुवा पेस्तोल तीन वटा, कटुवा पेस्तोल वटा, इटालियन पेस्तोल १ वटा हतियार प्रहरीले बरामद गरी हतियार तथा खरखजना मुद्धामा दायर गरेको थियो । ठाकुरले केही वर्षअघिसम्म घरमा बन्दुक र गोलीको गोदाम बनाएर राख्ने गरेको प्रहरीले बताएको छ ।

हातहतियार मुद्दामा कमि

मधेसमा जयकृष्ण गोइतले सशस्त्र विद्रोह गरेपछि हातहतियार तथा खरखजानाको मुद्दा तराई मधेसका जिल्लाहरुमा व्यापक रुपमा दर्ता हुन्थ्यो । गोइत हुँदै ज्वाला सिंह, राजन मुक्ति लगायत दर्जनौं समुहहरुले सशस्त्र संगठन संचालन गरेको बेला खास गरी २०६३ साल देखि २०६६/०६७ सालसम्म हतियारको विगविगी थियो ।

प्रत्येक दिन जसो धनुषा, महोत्तरी र सर्लाही लगायतका जिल्लाहरुमा हातहतियार सहित मानिसहरु पक्राउ पर्थे । तर, पछिल्लो समयमा राज्यले सशस्त्र समुहहरुका नाईके सहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर सशस्त्र समुहको संगठनहरु नै ध्वस्त गरिदिएपछि हातहतियार तथा खरखजानाका मुद्दाहरुमा व्यापक कमि आएको छ ।

धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार पछिल्लो समयमा देखिएको हातहतियारको मुद्दामा अत्यधिक कमि आउनुको कारण सशस्त्र समुहहरु ध्वस्त हुनु नै हो । यद्यपि अवैध हातहतियार बोक्नेहरु छिटफुट रुपमा पक्राउ परिनै रहेका छन् ।

अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६/०६७ देखि २०७२/०७३ सम्म धनुषामा १ सय २६ थान, महोत्तरीमा ४७ थान र सर्लाहीमा ८३ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् । धनुषामा आर्थिक बर्ष २०६६/०६७ मा ४२ थान, २०६७/०६८ मा २२ थान, २०६८/०६९ मा १७ थान, २०६९/०७० मा १४ थान, २०७०/०७१ मा ११ थान, २०७१/०७२ मा १४ थान र २०७२/०७३ मा ६ थान गरी कुल १ सय २६ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् ।

त्यसैगरी महोत्तरीमा आर्थिक बर्ष २०६६/०६७ मा ८ थान, २०६७/०६८ मा १२ थान, २०६८/०६९ मा १० थान, २०६९/०७० मा ६ थान, २०७०/०७१ मा ८ थान, २०७१/०७२ मा ५ थान र २०७२/०७३ मा ६ थान गरी कुल ४५ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् ।

त्यसैगरी सर्लाहीमा आर्थिक बर्ष २०६६/०६७ मा १९ थान, २०६७/०६८ मा १६ थान, २०६८/०६९ मा १७ थान, २०६९/०७० मा १५ थान, २०७०/०७१ मा ८ थान, २०७१/०७२ मा ७ थान र २०७२/०७३ मा ५ थान गरी कुल ७७ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् । यसरी हेर्दा क्रमिक रुपले हातहतियार तथा खरखजानाका मुद्दाहरुमा कमि आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x