×

NMB BANK
NIC ASIA

कोरोना महामारीको छायाँमा विश्वव्यापी खाद्य संकट !

बैशाख ४, २०७७

NTC
Premier Steels

दिनदिनै कोभिड- १९ बाट हुने मृत्युको आँकडाले सबैलाई त्रर्साइरहेको छ । कहिलेकाहीँ मृत्यु संख्या दिनको ७ हजारभन्दा माथि पुग्ने गरेको छ तर साह्रै कम व्यक्तिलाई मात्र थाहा होला कि भोक आज पनि मृत्युको सबभन्दा ठूलो कारण हो ।

Muktinath Bank

भोक र भोक सम्बन्धी रोगका कारण प्रत्येक वर्ष १ करोड अर्थात प्रतिदिन २५००० भन्दा बढी मानिस मर्ने गर्छन् । भारतमा मात्र प्रतिवर्ष २५ लाखभन्दा बढी अर्थात् प्रतिदिन ७००० व्यक्ति भोकका कारणले मर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक १० सेकेन्डमा एउटा बच्चा भोकले मर्दछ । युनिसेफको प्रतिवेदन (२०१८) अनुसार करीब ३१ लाख बच्चाहरू कुपोषणका कारण मर्छन् । त्यो संख्या ५ वर्ष मुनिका बच्चामा हुने मृत्युको झण्डै आधा हो । यसैले भोक अझै पनि विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्या हो भन्ने कुरालाई पुष्टि गर्दछ ।


Advertisment
Nabil box
Kumari

एफएओको प्रतिवेदन (२०१९) अनुसार विश्वभर ८२ करोड मानिस भोकबाट पीडित छन् । सबैभन्दा बढी कुपोषित मानिसहरू एसियामा बस्छन् । खाद्य संकट सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवेदन (२०१९) अनुसार करीब ११ करोड ३० लाखभन्दा बढी मानिसहरू चरम भोकको अवस्थामा रहेका छन् । जसलाई तत्काल खानेकुरा र जीविकोपार्जनको सहयोग आवश्यक छ ।

Vianet communication

डब्ल्यूएफपीको अनुमान (२०१६) अनुसार ६ करोड ६० लाख बालबालिका भोकै स्कूल जान्छन् । आज पनि संसारमा ४० प्रतिशत जनसंख्या पानी र सरसफाइको पहुँचमा छैनन् ।

कोभिड- १९ को महामारीले पक्कै पनि कुपोषित मानिसको संख्या बढाउने छ । यस्तो प्रक्षेपण गरिएको छ कि विश्वव्यापी अर्थतन्त्रमा १ प्रतिशत विन्दुले मन्दी आउँदा गरीबको संख्या र खाद्यान्न असुरक्षित व्यक्तिको संख्या २ प्रतिशतले बढ्छ । अर्थविद्ले यो महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धिमा आधा कटौती हुनसक्ने अनुमान गरेका छन् । जसअनुसार ३ प्रतिशतको पूर्वानुमान अब १.५ प्रतिशतमा सीमित हुनेछ ।

जसअनुसार यसले करीब २ करोड १० लाखभन्दा बढी थप मानिसलाई तत्काल खाद्य संकटमा धकेल्नेछ । यो अनुमान आर्थिक मन्दीको अवस्थाका लागि गरिएको हो तर अर्थतन्त्रको वर्तमान अवस्था ‘बन्द’को अवस्थामा छ । तसर्थ यो अनुमानभन्दा बढी मानिस खाद्य संकटमा पहिले नै धकेलिएका हुन सक्छन् ।

अक्सफामले हालै प्रकाशित गरेको प्रतिवेदनमा कोरोनाले विश्वभर ५० करोड गरीब थपिने प्रक्षेपण गरेको छ । डब्ल्यूएफपीको अनुमान अनुसार १२० देशका ३ करोड २० लाख स्कूले बालबालिका विद्यालय बन्द भएका कारणले दिवा खाजाबाट वञ्चित छन् । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार लगभग २ अर्ब ७० करोड कामदारहरू (विश्वको मानव संशाधनको ५ मध्ये ४ जना) पूर्ण वा आंशिक बन्दमा परेका छन् ।

जागिर गुमाउनु भनेको खानाको जोहो गर्ने क्षमता पनि गुमाउनु हो । यस अनुसार अल्पविकसित मुलुकमा भोकमरी शुरू भइसकेको छ । आपूर्ति शृंखला अवरोधले गर्दा खाद्यान्न आपूर्तिमा अवरोध हुने हुँदा यसले अनिकालको अवस्थालाई थप गम्भीर बनाएको छ । यसैपनि विश्वव्यापी रूपमा मानव रोजगारी पहिलेदेखि नै संकुचित हुँदै गएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमान अनुसार यस महामारीको कारणले विश्व बजारले २ करोड ५० लाखसम्म रोजगारी गुमाउने छ । यसबाट वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकलाई गम्भीर असर पर्नेछ । किनभने यसबाट विप्रेषण आयमा भारी गिरावट आउनेछ । विप्रेषण आयमा आश्रित घर परिवारले भोकको लागि सामना गर्ने क्षमता गुमाउने छन् । यसले भोकमरीको जनसंख्याको दायरा झनै बढाउने छ ।

कोभिड- १९ महामारीको असरले कमजोर समूह र कमजोर विश्व अर्थतन्त्रलाई कडारुपमा हिर्काइरहेको छ । तथापि यसले विकसित मुलुकलाई पनि छोडेको छैन । किनकि ती देशमा संक्रमण झन् बढी देखिएको छ ।

त्यसैले महामारीको पहिलो प्रभाव खाद्य सामग्रीको उपलब्धता र पहुँचमा विश्वव्यापी रुपमै परेको छ । विशेषगरी कमजोर समूहहरू जस्तै महिला, युवा तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सामाजिक सुरक्षा र बेरोजगारी बिमामा पहुँच नभएकाको लागि झनै गम्भीर हुने देखिन्छ । दैनिक मजदुरी गर्ने, सुकुम्बासी, अपाङ्ग, शरणार्थी र प्रवासी मजदुरहरू जस्ता अतिगरीबलाई यसले झनै संकटग्रस्त बनाएको छ ।

कतिपय ठाउँमा त द्वन्द्व पनि चलिरहेको छ । द्वन्द्वका कारण लाखौं मानिस पहिलेदेखि नै भोकमरीको चपेटामा छन् । चरम भोकको सामना गर्नेहरूमध्ये करीब ७४ करोड मानिसहरू द्वन्द्व वा असुरक्षाबाट प्रभावित छन् । यदि कोभिड- १९ को महामारी ती देशहरूमा फैलियो भने के हुन्छ होला ? संक्रमणका लक्षणहरू त देखिइसकेका छन् । यो महामारीले नयाँ द्वन्द्व र भोकमरी सिर्जना गर्ने सम्भावना पनि त्यतिकै छ ।

मानव शरीरमा खानपान र जीवनशैलीले प्रतिरक्षा प्रणालीको प्राकृतिक रुपमै निर्माण गरेको हुन्छ । मानव जातिको विकास चरणमा उनीहरूले आफ्ना वरिपरि उपलब्ध खाने कुराको सेवनले उनीहरूमा सोही अनुसारको प्रतिरक्षा प्रणाली विकास भएको हुन्छ तर नवउदार आर्थिक नीतिले स्थानीय खाद्य प्रणालीलाई क्षति पुर्‍यायो र खाना सर्वव्यापी बनायो, जसले गर्दा प्रतिरक्षा प्रणाली कमजोर भयो । परिणामस्वरूप, जुनसुकै रोग विश्वव्यापी भइहाल्ने सम्भावना रहेको छ । अहिलेको अनुभवले कम उदार अर्थतन्त्र भएका देशहरूमा त्यस्तो क्षमता हराइ नसकेको देखाएको छ ।

रोब वालेसले आफ्नो पुस्तक ‘बिग फार्मस् मेक बिग फ्लू’मा बहुराष्ट्रिय कम्पनीहरूले नियन्त्रण गरेका कृषि उद्योगबाट इन्फ्लूएन्जा र अन्य रोगजन्य किटाणुहरू पनि उत्पादन हुने कुरा उल्लेख गरेका छन् । विज्ञान पत्रकार लौरा स्पिनले कसरी ठूला कम्पनीहरूले साना किसानहरूलाई भाइरसको नजिक धकेल्छन् र तिनीहरू संक्रमित हुन्छन् भन्ने कुरा वर्णन गरेका छन् ।

सन् १९९० को दशकदेखि आर्थिक रूपान्तरण गर्ने क्रममा चीनले आफ्नो खाद्य उत्पादन प्रणालीलाई औद्योगिक स्तरमा अगाडि बढायो । यसले गर्दा साना किसानहरू विस्थापित भए । जीविकोपार्जनको लागि नयाँ तरिका खोज्दै, तिनीहरूमध्ये केही जंगलको छेउमा गई ‘जंगली’ प्रजातिको खेतीतिर लागे र त्यहाँ चमेरा र अन्य भाइरससँग संक्रमित हुन पुगे । पछि त्यो फैलिँदै गयो । यसले गर्दा पशुजन्य रोगको प्रकोप बढ्दै गयो । यसरी नवउदारवादले ठूला कम्पनीहरूको प्रवद्र्धन गरी मानव प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउने र संक्रमण बढाउने वातावरण बनायो ।

वास्तवमा यो एक प्रकारको ‘नवउदार उत्पीडन’ हो । खाना केवल वस्तु मात्र होइन, यो एक मानवीय क्षमता र अधिकारको आन्दोलन होस् अर्थात् खाना र खाद्य सम्प्रभुताको अधिकार । त्यसकारण मानवीय प्रतिरक्षा प्रणालीलाई पुनर्जीवित गर्ने, वातावरण संरक्षण गर्ने, सांस्कृतिक विविधतालाई सम्मान गर्ने र बहुलवादलाई पुरस्कृत गर्ने कुरालाई जोड दिई स्थानीय खाद्य प्रणालीको संरक्षण गर्ने गरी विश्वको अर्थव्यवस्थाको पुनःसरचना गर्नु आवश्यक भएको छ ।

खाद्य सुरक्षाले व्यक्ति, परिवार, समाज, राज्य र समग्रमा विश्वमा नै बहुआयामिक प्रभाव पार्दछ । यसको असर दीर्घकालीन हुन्छ । तसर्थ महामारी समाप्त भएपछि पनि यसले आर्थिक सुधारमा अवरोध सिर्जना गर्दछ ।

आर्थिक झट्काहरू चरम भोकका प्राथमिक चालक हुन् । तसर्थ यो स्वास्थ्य संकटभन्दा अझ बढी मानवीय संकट हो । राज्य र समाजले मानिसहरूलाई कोभिड- १९ को संक्रमण र भोकबाट उचित तरिकाले जोगाउने विषयमा दरिलो प्रतिबद्धता जनाउनु पर्दछ । मानिसहरूले चरम भोकको सामना गरिरहेका सबैभन्दा संकटग्रस्त क्षेत्रमा मानवीय सहयोग तत्कालै पुर्‍याउनु पर्दछ । कतिपय देशहरूले त्यस्ता कमजोर समूहहरूका लागि राहत प्याकेज घोषणा गरिसकेका पनि छन् । केही प्रभावकारी उपायमा सामुदायिक खाद्य बैंक, खाद्य सहायता, नगद वा खाद्य हस्तान्तरण, खाद्य कुपन, रासन कार्ड इत्यादि हुन सक्छन् ।

सबैभन्दा चुनौतीपूर्ण विषय अवरुद्ध वितरण शृंखला र मूल्य अस्थिरताका कारण खानाको पहुँचमा आउने संकट हो । यसको लागि राज्यका नियामक तथा परिचालन संयन्त्रको सुदृढीकरण गरी सक्रियता बढाउनु जरुरी छ ।

घरेलु आम्दानीको पुनर्उत्थानले विश्वव्यापी अर्थतन्त्रलाई फेरि सक्रिय व्यवस्थामा ल्याउने छ । त्यसको लागि रोजगारीलाई सुचारु राख्न अन्तर्राष्ट्रिय श्रम संगठनले काम गर्ने ठाउँमा कामदारहरूलाई सुरक्षित राख्ने, अर्थव्यवस्था र रोजगारीलाई उत्प्रेरित गर्ने, साना तथा मझौला उद्यमको लागि वित्तीय र कर राहतको व्यवस्था गर्ने उपायहरू अवलम्बन गर्न आह्वान गरेको छ । परिवर्तित सन्दर्भमा जीविकोपार्जनको विविधिकरण गर्नु पनि जरुरी छ ।

खाद्यान्नमा हुने नोक्सानी कम गर्न सके तीव्र भोकको सामना गरिरहेका मानिसहरूलाई खुवाउन सकिने अवस्था हुन्छ । खाद्य नोक्सानी खाद्य उत्पादनदेखि उपभोगसम्मका विभिन्न चरणहरूमा देखा पर्दछ ।

प्रायःजसो उत्पादन भएको करीब आधा खाद्यान्न कुनै न कुनै तरिकाले नोक्सान हुने कुरा विभिन्न लेखमा उल्लेख गरिएको पाइन्छ । यसले त करीब २ अर्ब मानिस (विश्वभर कुपोषित मानिसहरूभन्दा २ गुणा बढी) लाई खुवाउन पुग्दछ । यसले घरेलु आम्दानी बढाउने छ, खाद्यान्न उपलब्धतामा सुधार ल्याउने छ, खाद्यान्नको आयातलाई घटाउने छ र व्यापार सन्तुलनमा पनि सुधार ल्याउने छ । यद्यपि यसका लागि वितरण शृंखला यथावत् पुनःस्थापित गर्नु आवश्यक छ । अन्यथा बन्दले खाद्यान्नको नोक्सानी झनै बढाउन सक्छ । किनकि किसानहरू बजारमा उत्पादन ल्याउन असमर्थ छन् ।

सामाजिक सञ्जाल तथा नागरिक क्रियाकलाप खाद्य सुरक्षाको महत्त्वपूर्ण सुरक्षा कवज हुन्, जसले खाद्य सुरक्षाको लागि उत्थानशीलता निर्माण गर्दछ । त्यसैगरी सक्रिय सञ्चारमाध्यम खाद्य संकटको लागि सबैभन्दा राम्रो पूर्व सूचना प्रणाली हुन सक्छन् । यसलाई प्रवद्र्धन गर्नु जरुरी छ । 

मुख्य चिन्ता भनेको नयाँ आयामको साथ अर्थव्यवस्था पुनर्जीवित गर्नु हो । नवउदारवादी अर्थव्यवस्थाको विश्वव्यापी उत्पादन, व्यापार, शासन र शक्ति संरचनाले भोकमरी हटाउन सकेन, बरु असमानतालाई झनै प्रबल बनायो । विश्व खाद्य सुरक्षा समितिले भोकमरी उन्मूलनका लागि देशले नेतृत्व गरेको प्रक्रियामा जोड दिएको छ ।

‘भोक विनाको संसार’को लागि एक अन्तर्राष्ट्रिय प्रतिबद्धता जिरो हंगर च्यालेन्जले सन् २०२५ सम्म र दीगो विकास लक्ष्यले २०३० सम्ममा विश्वबाट भोकमरी अन्त्य गर्न आह्वान गरेको छ तर वर्तमान महामारीले तोकिएको समयमा यी लक्ष्यहरू प्राप्त गर्न गाह्रो बनाएको छ, न त नवउदार आर्थिक नीतिले यसलाई नीतिगत रुपले सघाउँछ ।

यसको लागि राज्यबाट स्थानीय खाद्य प्रणालीको विकास गर्ने गरी संरक्षणात्मक हस्तक्षेपको आवश्यकता छ । यसले खाद्य सुरक्षाका लागि समुदायको उत्थानशीलतालाई सुदृढ पार्छ र कार्बन उत्सर्जन पनि कम गर्दछ । यद्यपि किसानलाई खेतीयोग्य जमिन उपलब्ध हुने गरी भूमि सुधार र मूल्य शृंखलामा ध्यान केन्द्रित हुने गरी कृषि सुधार गर्न आवश्यक छ भने किसानलाई पुँजीमा पहुँचको विशेष व्यवस्था हुनु जरुरी छ ।

यस्तो आर्थिक नीतिलाई ‘संरक्षित उदारवाद’ वा राजनीतिक रूपमा ‘उदार समाजवाद’ भनेर चिनिन्छ । 

तल्लो तप्काका व्यक्तिलाई विशेष संरक्षण गरी बजारमा मूलप्रवाहीकरण गरी समावेशी समाज निर्माण गर्नु संरक्षणवादी उदारवादको आधारभूत सिद्धान्त हो । छुटेका समुदायलाई संलग्न गराई तलबाट नै समावेशी शासन निर्माण गर्नु उदार समाजवादको रणनीति हो । यसले सीमान्तकृत व्यक्तिको जीवनमा मुक्तिकामी परिवर्तन ल्याउने छ र विश्वबाट भोक हटाउन स्थानीय खाद्य प्रणाली निर्माण गर्ने आधारस्तम्भ हुनेछ ।

(लेखक नेपाल सरकारका सहसचिव तथा 'Eradicating Hunger: Rebuilding Food Regime' पुस्तकका लेखक हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x