आर पी गाउँले
-
म मरेपछि निदाएको हो देश
आफैँ बिरामी ओढेर सुतेपछि
ब्युँझेन कहिल्यै ।
मुर्दा बस्तीको बतासमा
उछिट्टिएका कङ्कालहरू
पदमा चेतनाको भुत्ते आयु बाँचेर
बिना मृत्यु शोकमा
कुकुरले हड्डीमा अड्केको मासु
लुछाचुँडी गरेझैँ
लुच्छ्दैथे बिना आवाज मध्यरातमा ।
मेरा सपना कि देश बिग्रेको छ अचेल ?
सपनामा आउँछन् भाग्यरेखाका उल्टा अक्षर
र लखेट्दै हुन्छन् महिषासुरहरूलाई
मुर्दाहरूको थुतुनाले
जुठो लाएको छ सिमामा
चुस आउन्जेलसम्म रगत
बनाऊ अङ्ग छुटेको माउसुलीझैँ
औँला काटेर सिँगार्दै छौ टाउका
एस्ट्रेमा जल्दै गरेको राष्ट्रियता
मेनपावरमा विक्री भएको स्वभिमान
रक्सीका प्यालाको चियर्समा गर सम्झौता
छ्या ! झिक थुतुनो
जुकाले त मरेको प्राणी चुस्दैन
देश त बिरामी ओढेर सुतेछ र पो
ऐठन पर्यो मेरो सपनामा ।
– – –