इन्स्टिच्युटबाट निष्कासित यी कम्युनिस्ट : राजनीति छाडेर बाँड्दैछन् ४ करोड छात्रवृत्ति

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

पूर्व मन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डे बेलाबेला चर्चामा आइरहन्छन् । उनको चर्चा भने यतिखेर प्रशंसाले भरिएको छ ।

आजभन्दा करीब ४० वर्षअघि साढे ५ हजार बोकेर पोखरा झरेका उनी यतिखेर अर्बौंका मालिक छन् । आर्जित सम्पत्ति समाजसेवामा लगाउन रुचाउँछन् । जीवनलाई फरक ढंगले बुझ्ने उनी समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्नेमा चिन्तनशील छन् । 


Advertisement

हालैमात्र उनले झण्डै ४ करोड रुपैयाँ छात्रवृत्तिमै वितरण गर्ने घोषणा गरे । हालसम्म ४२६ जना विद्यार्थी उनको छात्रवृत्तिबाट लाभान्वित बने । पाण्डे सगौरव भन्छन्, ‘नेपालको जुनसकै जिल्लामा पुगे पनि मेरा छोरीहरू छन् । ठूला–ठूला पदमा पुगेका छन् । समृद्धिको दिशामा अघि बढेका छन् ।’

... ...


Advertisement

पाल्पा जिल्लाको उत्तरपश्चिम अर्गलीको मध्यम परिवारमा उनको जन्म भयो । बुवा खिमानन्द र आमा शिवकुमारीको कोखबाट जन्मेका उनी खासमा हिरामणि पाण्डे हुन् । पछि हरिप्रसाद नामले चर्चित बने ।

उतिबेला अहिलेजस्तो सेवासुविधा थिएन । गाउँमा शिक्षकबाहेक अर्थोक नोकरी पाइन्थेन । एसएलसी पास गरेपछि नजिकैको बुटवल बजार झरे । चाँडै नै नोकरी गर्ने हुटहुटीले उनी प्राविधिक लाइनतर्फ मोडिए ।

बुटवलस्थित बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मा भर्ना भए । युनाइटेड मिसन टु नेपालले बीटीआई खोलेको थियो । प्राविधिक विषयको पढाइ हुने त्यहाँ तालिमपछि धेरैले नोकरी पाउँथे ।

गरीब, शोषण, दमन, अत्याचार सबै देखे–भोगेका पाण्डेमा क्रान्तिकारी चेत थियो । उनी बिस्तारै राजनीतितिर आकर्षित भए । बुटवलमा डेरा गरी बस्दा उनी विभिन्न मोर्चा, संघसंगठनमा आबद्ध बने । उनी कम्युनिस्ट कार्यकर्ता रहेको थाहा पाएपछि बीटीआईबाट अकस्मात निष्कासित भए । ४ वर्षे कोर्ष सकिन मात्र ६ महिना बाँकी रहँदा निष्कासनमा परेका उनी पछि कम्युनिस्ट आन्दोलनमा लागे र भूमिगत बने ।

त्यसबेला उनले मरणासन्न हुने गरी कुटिए । तैपनि पुनर्जीवन पाए । पाण्डेले विगतका ती दिन धुमिल सम्झन्छन्, ‘गरीबीबाट मुक्ति र समानताको खोजीका लागि मेरो लडाइँ थियो । म निष्कासनमा परे पनि बिचलित भइनँ । निरन्तर लागिरहें ।’​

निष्कासनमा परेपछि उनले अन्यत्र भर्नाका लागि प्रयास गरे । तैपनि कसैले उनलाई भर्ना लिन मानेन । पछि उनी पढाइको प्यास मेटाउन भारत छिरे । भन्छन्, ‘मैले भारतम बस्दा करीब १० वटा होटलमा भाँडा माझेंं ।’ 
समयक्रमसँगै उनी केही वर्षमै भारतबाट स्वदेश फर्किए । काठमाडौंतिर नोकरी खोज्दै गए । ४ वर्षजति काम गरे । साथमा थिए उनका भाइ विष्णु पाण्डे । हरेक काममा सघाउने उनका दाहिने हात बने भाइ । पाण्डे दाजुभाइकै हालसम्म १९ कम्पनीमा संलग्नता छ ।
... ...

२०३५ साल । नयाँ जीवनको वर्ष बनेर आयो । जीवनको मोडियो, समृद्धिको दिशातिर । हरि पाण्डे सम्झिन्छन्, ‘२०३५ सालमा हामीहरू साढे ५ हजार रुपैयाँ बोकेर पोखरा आएका हौं ।’ भाइ विष्णुसँग साढे ३ हजार रहेछ । बाँकी २ हजार बुवाले थपिदिनुभएको ।’

पोखरामा उनीहरूले सानै लगानीमा माछापुच्छ्रे मेटल एन्ड इन्जिनीयरिङ वक्र्सशप खोले । दुवै जना दिनरात नभनी निरन्तर काम गरिरहे । दुवैले घन र छिना ठोक्न थाले । ‘बिरानो ठाउँ । दुःख नगरी खान पाइन्थ्यौं । हामीहरूले दुःखकै पहाड फोर्‍यौं,’ लोकान्तरसँग पाण्डेले भने, ‘भाइको हातमा छिना हुँदा मेरो हातमा घन र मेरो हातमा घन हुँदा भाइको हातमा छिना हुन्थ्यो ।’ 

झ्याल–ढोकाका लागि आवश्यक ग्रिल बनाएर बेच्न पनि आफैं निस्के । कर्मचारी राख्ने हैसियत थिएन । साइकलमा फलाम राखेर ठाउँठाउँमा पुर्‍याउन थाले । बिस्तारै पाण्डे दाजुभाइले सबैको विश्वास जित्दै गए । त्यसबेला पोखरामा ग्रिल राखेर घर बनाउने चलन शुरू भइसकेको थियो । पछि–पछि उनीहरूले पुलका सामान पनि बनाउन थाले ।

इन्जिनीयरिङ व्यवसायमा कमाइ हुँदै गएपछि पाण्डेले अटोमोबाइल, बिस्कुट, चाउचाउ, उद्योग, होटल म्यानेजमेन्ट, शिक्षा, मशिन, जलविद्युत् लगायत क्षेत्रमा हात हाले । यसरी ४ दशक बितिसक्दा १९ वटा व्यवसाय कम्पनीमा उनको संलग्नता भइसकेछ । अहिले पर्याप्त धनसम्पत्ति छ । नाम छ । इमान छ । प्रतिष्ठित उद्योगीको परिचय छ ।

... ... 

हरिप्रसाद पाण्डे २०४८ सालमा एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनित भए । २०५१ सालमा मन्त्री बने । तत्कालीन उद्योग तथा जलस्रोत राज्यमन्त्री पाण्डे सादा जीवन बिताउने राजनीतिज्ञमा पर्छन् । मन्त्री पदमा रहँदा भने उनीमाथि आक्षेप लाग्यो । विश्व बैंकको अनुदान सहयोगमा बन्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना ‘फेल’ गराउनमा मन्त्री पाण्डेकै हात रहेको भन्दै एमालेको खुबै विरोध भयो । २०० मेगावाट क्षमताको ठाउँमा सानासाना मेगावाटका धेरै आयोजना बनाउन सकिने र लागत पनि कम लाग्ने आफ्नो प्रस्तावमा उनी अडिग बने । विश्व बैंकको प्रस्तावमा पछि हटे । आपसी सहमति जुटेन र अरुण तेस्रो फेल भयो । सो घटना उनले जीवनभर भुल्न सक्दैनन् । पछि एसियाली विकास बैंकसँग कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको सम्झौता भयो ।

२०४५ सालमा भारत सरकारले नेपालमाथि गरेको नाकाबन्दी पनि उनको जीवनमा अर्को चोट बनेर आयो । परनिर्भर हुँदा नेपालीले कतिसम्म दुःख पाउँदोरहेछ भन्ने उनमा ज्ञान सञ्चार भयो । आत्मनिर्भरतालाई जोड दिए । अरुलाई त्यही सिकाउन थाले । आफूले सादगी जीवन बिताउन थाले । यतिसम्म कि उनी बहालवाला मन्त्री हुँदा समेत उनको झोलामा भुटेका मकै, सातुको पोको हुन्थ्यो । भोक लाग्दा उनी पानीसँग त्यही खान्थे । जीवनमा मन्त्री बनेको बेला कोट फेरेका उनले त्यसपछि भने कोट नलगाएको दाबी गर्छन् । भन्छन्, ‘एउटा कोट सिलाउने पैसाले मेरो शरीर ढाक्ने सबै कपडा किन सकिँदोरहेछ ।’

पाण्डेले ३ विषयलाई निकै कडाइका लागि पालना गर्दैआएका छन् । ती हुन् (१) सकेसम्म स्वदेशी वस्तुका प्रयोग गरौं (२) सकेसम्म कम खर्चमा जीवनयापन गरौं (३) सकेसम्म बढी प्रतिफल प्राप्त हुने काम गरौं । पोखरामा २०४६ सालमा पहिलोपटक पत्रकार सम्मेलन गरेर उनले ती ३ विषय आत्मसात गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए । आफ्नो जीनवशैली नाटकीय ढंगले परिवर्तन गरे । हालसम्म सो प्रतिबद्धता आफूले पालना गर्दै आएको उनको दाबी छ । पैसालाई राम्रोसँग चिन्छन् उनी । पैसा सदुपयोग हुने तथा प्रतिफल हुने ठाउँमा मात्र लगानी गर्न रुचाउँछन् ।

पाण्डे भन्छन्, ‘हामीले आफ्नो जीवनयात्राको छनोटमा सुन्दर परिकल्पनाहरू गर्न सक्छौं तर जसले जे भने पनि यसको छनोटमा ३ पक्षहरू इच्छा, सम्भावना र कर्तव्यलाई मूल आधार बनाउनुपर्छ ।’

उनका अनुसार सकेसम्म एउटै खालको काम गर्दा त्यसमा दक्षता र अनुभव बढ्दै जान्छ । त्यसले थप परिणामुखी नतिजा दिन सक्छ तर प्रविधिको विकास, व्यवस्थापनमा सुधार र नयाँ सम्भावनाका खोजहरू निरन्तर खोजिरहनुपर्छ । हालै सार्वजनिक उनको पुस्तक ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’मा पनि उनले यो विषय उल्लेख गरेका छन् ।
... ...

आजभन्दा १८ वर्षअघि उनी देशभर चर्चामा आए । धेरैले ‘पागल’को संज्ञा दिए । आफूले धनआर्जन गर्न घूस खुवाएको तर पनि समाजमा प्रतिष्ठित हुँ भन्दै ठाडो शिरले हिँड्दा आत्मग्लानी हुने भएकाले सरकारले आफूलाई दण्डित गर्नुपर्ने भन्दै २०५९ सालमा पत्रकार सम्मेलन गरे । उनको यो अभिव्यक्तिको सर्वत्र आलोचना भयो । हाँसोको पात्र बनाइए । कतिपयले ‘मन्त्री पाण्डे बौलायो’ पनि भने । उनको घरमा परिवारका सदस्यसँग पनि दूरी बढ्न थाल्यो । पत्नी तुलसा पाण्डेसँग ठाकठुक नै भयो । उनले छोराछोरी पाल्न गिट्टी कुट्न तयार रहेको तर पतिलाई राजनीति नगर्न सचेत गराइन् । परिवारका सदस्यको पनि भविष्य हेरेर व्यावहारिक बन्न आग्रह गरिन् । मन्त्री पाण्डेले स्वीकारे पनि । उनको अभिव्यक्तिपछि अख्तियारले पनि छानबिन गर्‍यो । पछि निर्दोष सावित बने ।
 
आफ्नो अभिव्यक्ति तथा अख्तियारको छानबिनमा निर्दोष साबित बनेपछि पनि उनीमाथि समाजले हेर्ने दृष्टिकोणमा एकाएक फेरिएछ । विगतमा बैंकमा ४०–५० करोड ऋण लिन जाँदा विनो धितो हस्ताक्षर गरे मात्र पुग्ने ठाउँमा ५ लाख मात्र ऋण लिन पनि आनाकानी गर्न थाले । तैपनि उनी विचलित भएनन् । निरन्तर अघि बढे । परिवार तथा उद्योगतर्फ ध्यान दिए । सार्वजनिक कार्यक्रममा त्यति देखा परेनन् । १ छोरा र ५ छोरीको भविष्य कोर्न लागिपरे । दुर्भाग्यवश स्कुटर दुर्घटनामा उनले एक छोरी गुमाए । अन्य छोरीहरूलाई मेडिकल साइन्स पढाए । छोरीहरू सबै आ–आफ्नो खुट्टामा उभिन सक्ने भए । छोराले उद्योग व्यवसायमा पूरै जिम्मेवार लिन थालिसकेका छन् । उनी सन्तुष्ट छन् तर समाजमा अझै धेरै गरीबी, आर्थिक विपन्नताकै कारण कतिपयले पढ्न पाएका छैनन् । सो विषयले उनमा सहयोगको भावना जाग्छ । विगतदेखि उनले विशेषगरी छात्राहरूलाई विभिन्न नाममा छात्रवृत्ति प्रदान गर्दै उज्यालो भविष्य कोर्न सहयोग गरेका हुन् । 

उनै पूर्व मन्त्री एवं उद्योगपति पाण्डेले जीवनमा तेस्रो पत्रकार गरी करीब ३ करोड ८० लाख बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरे । यसले सर्वत्र चर्चा छायो । उनको खुबै प्रशंसा भइरहेको छ । कमाएको सम्पत्ति समाजमै अर्पित गरेका छन् । उनका अनुसार ३ करोड रुपैयाँ अक्षयकोषमा राखिने र ७९ लाख ५० हजार बराबरको छात्रवृत्ति आफ्नो जन्मभूमि पाल्पा र कर्मभूमि कास्कीमा वितरण हुनेछ । अक्षयकोषमा राखिने ३ करोडमध्ये विभिन्न १२ नाममा २५/२५ लाख छुट्याइएको छ । अक्षयकोषको व्याजबाट बर्सेनि देशैभरका छात्रछात्रालाई विभिन्न कोर्समा छात्रवृत्ति दिइने उनको योजना छ । 

यसअघि मातृभूमि प्रतिष्ठानको नाममा पाल्पामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भइसकेको छ । उनको कर्मभूमि कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिनेछ । सो छात्रवृत्तिबाट कास्कीका प्रत्येक वडाका १ जनाले सो सुविधा प्राप्त गर्नेछन् ।

पाण्डेको छात्रवृत्तिबाट देशका सबै जिल्लामा गरी हालसम्म ४२६ व्यक्ति लाभान्वित भइसकेका छन् । जसअनुसार १४० जनाले प्राविधिक विषयअन्तर्गत ग्राजुयट तहमा पूर्ण र आंशिक छात्रवृत्ति पाएका छन् । जसमा विभिन्न इन्जिनीयरिङ, कृषि र वनमा गरी ८२ जनाले पूर्ण र ५८ आंशिक प्राप्त गरिसकेका हुन् । 

उनकी छोरी डा. शान्ति पाण्डेको स्मृतिमा १९४ जनाले नर्सिङ लगायत स्वास्थ्य सम्बन्धी शिक्षा प्राप्तिका लागि छात्रवृत्ति पाएका छन् भने पाल्पामा नन–ग्रायजुयट प्राविधिक विषयमा ९२ जना गरी कूल ४२६ जनाले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गरेका हुन् । अब कास्कीमा सहित छात्रवृत्ति प्राप्त गर्नेको संख्या ५०० नाघ्नेछ । 

कुराकानीको बिट मार्दै उनले अब आफू राजनीतिमा नफर्किने यी र यस्तै खालका सहयोग गर्दै जाने बताए ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्