अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका पहिले नीति ल्याएर देशलाई विश्व नेतृत्वबाट अलग्याएको अवस्थामा नेतृत्वमा शून्यता आउन नदिन चीनले गरेको प्रयासले आंशिक सफलता मात्र प्राप्त गरेको छ ।
ट्रम्पको शासनकालमा वाशिङटनले पेरिस जलवायु सम्झौता, पराप्रशान्तीय साझेदारी, संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् र यूनेस्कोको सदस्यता त्यागेको छ अनि इरान आणविक सम्झौताबाट हात झिकेको छ । अर्को
वर्षको जुलाई महिनामा उसले विश्व स्वास्थ्य संगठनबाट निस्कने बताएको छ अनि विश्व व्यापार संगठनको पुनरावेदन प्यानलमा नियुक्ति रोकेर पङ्गु बनाएको छ ।
बेइजिङले वाशिङटनलाई त्यागको लत लागेको आरोप लगाएको छ र राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्वव्यापी नेतृत्वको अडान लिएको छ । चिनियाँ अधिकारीहरूले १५ राष्ट्रसंघीय निकायमा नेतृत्व गरिरहेका छन् । बेइजिङले विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रको हैसियत सुआउँदो भूमिका चीनले खोेजिरहेकोमा आफ्नै बहुपक्षीय संस्थाहरू पेटी सडक पहल र एसिया इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक पनि बनाएको छ ।
‘अमेरिका विश्व परिदृश्यबाट हट्दै गर्दा चीनले आफ्नो लक्ष्यलाई अगाडि बढाउन भरमग्दुर प्रयास गरिरहेको छ,’ बेइजिङमा रहेको कार्नेजी–चिङ्गुआ सेन्टर फर ग्लोबल पोलिसीका निर्देशक पल हाएन्लेले बताए । ‘तर चीनले आफ्नो बढ्दो प्रभावलाई परराष्ट्रनीतिको सफलतामा परिणत गर्न सकेको छैन,’ उनले भने ।
चीनले कोरोनाभाइरसलाई देशमा लगभग समाप्त पारिसकेको छ र खोप बनाउने प्रयासमा पनि अग्रणी भूमिका निर्वाह गरिरहेको छ । तर वुहानमा महामारी शुरू हुँदा कुव्यवस्थापन गरेकाले संसारभरि उसको आलोचना भएको छ ।
बेइजिङले हङकङमा दमन गरेको, उइगुर मुसलमानहरूलाई सामूहिक बन्दी बनाएको, दक्षिण चीन सागरमा टापुहरू बनाएको र ताइवानलाई सैन्यशक्तिको धाकधम्की देखाएको अनि आक्रामक वुल्फ वारियर कूटनीतिको नमूना पेश गरिरहेकोले उसप्रतिको दृष्टिकोण बिग्रिएको छ ।
वाशिङटनबाट साझेदारहरू निराश भएको अवस्थामा चीनले फाइदा उठाउन सकेको छैन । युरोपका पाँचवटा मुलुकको भ्रमण गरेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीलाई हङकङ र अन्य विषयमा आलोचनाको सामना गर्नुपरेको थियो ।
‘
ट्रम्पको नेतृत्वमा विश्वव्यापी संस्थाहरूबाट अमेरिका पछि हट्दा चीनका लागि मलिलो भूमि तयार भएको धेरैले अनुभव गरेका छन् । तर चीनको कथित वुल्फ वारियर कूटनीतिले गर्दा फाइदा लिन नसकेको अनौठो छ,’ अमेरिकी कूटनीतिकर्मी सुसन थोर्नटनले बताइन् ।
अमेरिकामा रहेको पिउ रिसर्च सेन्टरले विकसित देशहरूमा गरेको सर्वेक्षणमा चीनप्रति नकारात्मक धारणा एक वर्षमा बढेको पाइयो ।
गत अप्रिल महिनामा चीनको एक आन्तरिक प्रतिवेदनले कोरोनाभाइरस फैलिएपछि चीनविरोधी भावना विश्वव्यापी रूपमा बढेको भनी चेतावनी दिएको थियो ।
‘विश्वको शासन चलाउने लगायतका धेरै विषयमा अमेरिका र चीनबीच सहकार्यका थुप्रै अवसरहरू छन्, पेकिङ युनिभर्सिटी स्कूल अफ इन्टरनेसनल स्टडीजका प्राध्यापक जिया चिङ्गुओले बताए ।
आर्थिक र सैन्य शक्ति बढिरहेको भए पनि चीन आफूलाई विकासशील मुलुक भन्छ र अमेरिकालाई प्रतिस्थापन गर्न नखोजेको बताउँछ ।
उसको कूटनीतिक सम्बन्ध पारस्परिकतामा आधारित छ । अर्काको आन्तरिक मामिलामा ऊ हस्तक्षेप गर्दैन र आफूमाथि पनि त्यस्तै व्यवहार गरियोस् भन्छ । वाशिङटनले अन्य मुलुकमा पनि क्षेत्राधिकार राख्न खोजेको भन्दै ऊ आलोचना गर्छ ।
पेटी सडक पहलमा पारदर्शिताको अभाव, वातावरणीय चिन्ता तथा परियोजनाहरूको आर्थिक दिगोपन नरहेको भन्दै आलोचना हुने गरेको छ यद्यपि एआईआईबीले विश्वव्यापी मापदण्ड पालन गरेको बताइने गरिन्छ ।
‘चीनले विश्व शासनप्रणालीको सुधारको नेतृत्व गर्ने महत्त्वाकांक्षा प्रकट गरेको छ तर त्यसलाई स्पष्टसँग परिभाषित गरेको छैन,’ काउन्सिल अन फरेन रिलेसन्सका सिनियर फेलो जुलियन गेविर्जले बताए । ‘उसका बयानहरू प्रायः फूलबुट्टा भरिएका हुन्छन् । तसर्थ संसारले चीनलाई उसको प्रतिज्ञा भन्दा पनि उसले गरेको कामका आधारमा मूल्यांकन गर्नुपर्ने हुन्छ ।’
एएफपीमा प्रकाशित विश्लेषण
एजेन्सी