पाँडे र पौडेललाई भैरव पुरस्कार

नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः राम कुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले शनिवार गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले पाँडे र पौडेललाई पुरस्कार वितरण गरेका हुन् । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश: एक लाख र पचास हजार रुपैयाँ रहेको छ ।


Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्ण कदको ढलोटको सालिक राखिने घोषणा गरे । पुरस्कृत स्रष्टा राम कुमार पाँँडे विदेशमा रहेकाले प्रतिनिधिको रुपमा उनको पुरस्कार ग्रहण गरेका डाक्टर यादव ढुंगानाले  हाँस्य व्यङ्ग्य साहित्यमा पाँडेको योगदानको चर्चा गरे । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कृत स्रष्टा राजाराम पौडेल नेपाली हाँस्य कला क्षेत्रका अमूल्य निधि भएको बताए ।

वरिष्ठ साहित्यकार विजय चालिसेले नेपाली हाँस्य व्यङ्ग्य साहित्यलाई उर्वर बनाउने काम भैरव अर्यालले गरेको स्मरण गरे । चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्